Hilsa Yatayat

सिंगापुर ८१ रनमा अलआउट, सन्दिपको कीर्तिमानी ४ विकेट

सेतोपाटी
सिंगापुर ८१ रनमा अलआउट, सन्दिपको कीर्तिमानी ४ विकेट

२६ असोज । सिंगापुरले दिएको ८२ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात गरेको छ। पहिलो ओभरको दोस्रो बलमै ओपनर अनिल साह शून्य रनमा आउट भए।नेपालले ०.३ बलमा १ विकेट गुमाउँदै १ रन बनाएर खेलिरहेको बेला पानी परेपछि खेल रोकिएको छ। अहिले क्रिजमा कप्तान पारस खड्का र बिनोद भण्डारी छन्।

 

यसअघि आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' अन्तर्गत सिंगापुरलाई नेपालले ८१ रनमा समेटेको छ। क्वालालम्पुरस्थित वायुमस ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७.३ ओभरमा ८१ रन बनाएको हो।

 

नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए। ३.३ ओभर बलिङ गरेका उनले १६ रन खर्चिए। यस्तै करण केसी र सोमपाल कामीले २-२ तथा ललित राजबंशी र बसन्त रेग्मीले १-१ विकेट लिए।

 

अघिल्ला पाँच खेलमा लगातार जित निकालेको नेपालले अन्तिम खेलमा सिंगापुरसँग खेलिरहेको हो।  नेपाल र सिंगापुरबीचको यस फाइनल सरहको खेल हुनेछ। एसिया छनोट समूह 'बी' बाट दोस्रो चरणको छनोटमा पुगिसकेको नेपाल र सिंगापुरको लागि यो प्रतिस्पर्धा उपाधिका लागि हुनेछ ।

 

सन्दिपको कीर्तिमान

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन्।

 

मलेसियामा जारी आइसीसी टी–२० एशिया उपक्षेत्रीय छनोट बी अन्तर्गत नेपालको अन्तिम खेलमा सिंगापुर विरुद्ध ३.३ ओभर बलिङ गरेका लामिछानेले १६ रन खर्चिदै ४ विकेट लिएका हुन्।

 

यो सँगै लामिछानेले बसन्त रेग्मी र विनोद दासको एकै प्रतियोगितामा धरै विकेट लिने रेकर्ड तोडेका हुन्।

 

उमेर समूहमा एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने रेकर्ड सन्दिप लामिछानेकै नाममा छ। उनले गत वर्ष जुलाईमा सिंगापुरमा भएको यु-१९ विश्वकप छनोट प्रतियोगितामा ६ खेलमा २४ विकेट लिँदै किर्तिमान बनाएका थिए।

 

सिनियर टिमको लागि भने एकै प्रतियोगितामा धेरै विकेट (२१) लिने रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा थियो।

 

रेग्मीले सन् २०१२ को डिभिजन-४ प्रतियोगितामा २१ विकेट लिएका थिए भने बिनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रीज ( तीन दिवसीय ) प्रतियोगितामा २१ विकेट लिएका थिए।

 

सन्दिपले शुक्रबार २४ विकेट लिँदै सबै रेकर्ड तोडेका हुन्।

२०७५ असोज २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्