Rara Pharmacy

सबै मदनका ‘मुना’ हुँदैनन्

कुसुम भट्टराई
सबै मदनका ‘मुना’ हुँदैनन्

तस्विर : उषा तितिक्षु 

भर्खर बहुदल आएको थियो । २०४७ सालको जेठ १ गते हुनुपर्छ । हामी केही साथी परोपकार स्कुलनजिक प्रजातान्त्रिक राष्ट्रिय युवा सँघले आयोजना गरेको एउटा कार्यक्रममा पुगेका थियौं, जहाँ पहिलोपटक नेकपा मालेका तत्कालिन महासचिवले पहिलो पटक खुला सभामा सहभागि हुँदै थिए ।

 

हामी पुगेको केही बेरमै तत्कालिन मालेका नेता मदन भण्डारी साइकल चढेर कार्यक्रममा आए । आखिर, सामान्य सर्ट, पाइन्ट र कालो टोपी लगाएका भण्डारी कार्तिक २०४७ कार्तिक २३ गते प्रवक्ताको रुपमा सार्वजनिक भएका उनी पछि मालेका महासचिव रहेछन् भन्ने थाहा भयो । झलनाथ खनाललगायतका नेताहरु त्यतिबेलै सुटेट बुटेड र चिल्ला चाप्ला देखिन्थे, तर भण्डारीमा भने सादगिपन थियो । 

 २०४९ सालतिर ‘नेपाल आवाज’का लागि मदन भण्डारीको अन्तर्वार्ता लिन पत्रकार जिवेन्द्र सिम्खडा र म नक्सालस्थित भण्डारी निवासमा गएका थियौं । त्यतिबेलासम्म भण्डारीको राष्ट्रिय अन्र्तराष्ट्रिय ख्याति चुलिइ सकेको थियो । भण्डारीकै बारेमा न्यूजविकले ‘जहाँ कार्लमाक्र्स जिवतै छन्’ भन्ने लेख प्रकाशित गरिसकेको थियो ।

 

उनको पार्टीले ६९ स्थानमा जितेको थियो र प्रमुख प्रतिपक्षीका रुपमा विरोध र आन्दोलनका कार्यक्रम चलाइरहेको थियो ।

 

चर्चित नेताको डेरामा जाँदा हामी चकित परेका थियौं । नक्सालको एउटा सामान्य पुरानो घर, एकतलामाथि दुई तिनवटा साँघुरा कोठामा उनी बस्थे । बेतका केही पुराना कुर्ची ।

 

एउटा चौध इन्चको ब्ल्याक एन्ड ह्वाइट टिभी । न त त्यहाँ कुनै भडकिलो सोफा थियो, न डेढ दुइ लाख पर्ने पलङ । सामान्य काठको दराजमा माक्र्स, लेनिन र माओका पुस्तक देखिन्थे । मदन र उनकी जीवनसँगीनी विद्या भण्डारीको लवाई खवाई बडो सामान्य थियो ।

 

विद्याले सामान्य सुतिको साडी लगाएकी थिइन् । उनको मुहारमा एउटा क्रान्तिकारी नेताकी सहयात्रीको झल्को पाउँन सकिन्थ्यो ।

उनले त्यतिबेला हामीलाई खुवाएको कालो चियाको स्वादमा नैतिकता, इमानदारिता र जनपक्षधरताको परिशुद्ध गुलियो घोलिएको थियो । हृदयदेखि नै लाग्यो, हामी एउटा सच्चा कम्युनिष्ट नेताको निवासमा पुगेका छौं ।

 

केही समयपछि २०५० साल जेठ २ गते दासढुँगा दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भयो । षडयन्त्र थियो कि सामान्य दुर्घटना, त्यो अझै रहष्यमय नै छ । तर, तत्कालिन एमालेले मदनको ‘शोकलाई शक्तिका बदल्ने’ निर्णय गर्दै आन्दोलन चर्काउँन थाल्यो ।

 

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई नै ‘मदनको हत्यारा’ भन्नेसम्मका आरोप लगाइयो । सडकका रेलिङ भाँचिए, टेलिफोन बुथहरु फुटाइयो । टायर बालेर पुरै शहर प्रदुषित पारियो । तत्कालिन एमालेले लासमाथि राजनीति थाल्यो ।

 

मदनको ख्याति र उनको निधनपछिको शोकको ‘मास सेन्टीमेन्ट’लाई भजाउँने र सहानुभूतिको भोट बटुल्ने हिसाबले एमालेले प्रतिनिधिसभामा मदनले जितेको तत्कालिन काठमाडौं क्षेत्र नम्बर एकमा उनकै विधवा विद्या भण्डारीलाई उम्मेदवार बनायो । ति प्रारम्भिक दिनहरुमा बिद्यालाई भाषण गर्नसमेत राम्ररी आउँदैनथ्यो ।

 

यसबारेमा विद्यासँग नजिक काठमाडौंका सक्रिय अगुवा नेता नेपालजीत लामाले आफ्नो हालै प्रकाशित पुस्तक ‘मन्थन’मा लेखेका छन्, ‘२०५० सालमा उपनिर्वाचन हुँदा बिद्या भण्डारीलाई काठमाडौं क्षेत्र नम्बर–१ बाटै उठाइयो । ‘जनताकी छोरी बिद्या भण्डारी’ नाराका साथ हामी उहाँको प्रचार प्रसारमा व्यापक रुपमा जुटयौं । पार्टी सदस्य भए पनि विद्याले पार्टीमा त्यतिबेलासम्म खासै काम गर्नु भएको रहेनछ । श्रीमानको शोकका साथै निर्वाचनको बोझ । मदनकी बिधवालाई जसरी पनि जिताउँनै पर्ने हाम्रो चुनौति थियो । जिल्ला कमीटीका साथीहरुले नै विद्यालाई भाषण गर्न सिकाउँथे । हाम्रो क्षेत्रमा त्यसताका प्रदीप नेपाल, युक्त भेटवाल, नारायण ढकाल र हिमाञ्चल भट्टराई सक्रिय थिए हुनुहुन्थ्यो । सार्वजनिक कार्यक्रम हुनुअघि उहाँलाई भाषणको रिहर्सल गर्न लगाउँथ्यौं । हामी दर्शक हुन्थ्यौं, उहाँ भाषणको अभ्यास गर्नुहुन्थ्यो ।’

 

उपनिर्वाचनमा विद्याका प्रतिस्पर्धी नेपाली काँग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई थिए । उनी विद्यासँग पनि हारे । किशुनजीलाई हराउँन त्योबेला कांग्रेस पार्टी भित्रैबाट अन्तर्घात भएको कुरा किशुनजी निकट पत्रकार रेवतीरमण सुवेदीले तत्कालिन जनमञ्च साप्ताहिकमा लेखेका थिए ।

 

किशुनजीको पराजयका कारण मुलुकको राजनीति ओरालो लाग्दै गयो । किनकी, त्यसले काँग्रेसमा कलह र विभाजन उत्पन्न गर्यो । छत्तिसे र चौहत्तरेको जन्म भयो, मुलुक मध्यावधि निर्वाचन र सत्ता समिकरणको दुश्चक्रमा फँस्यो ।

 

यता मदनको ‘लिगेसी’ या उत्तराधिकारको लाभ बिद्याले पाउँदै गइन् । सरकार र पार्टीमा उनको बढोत्तरी हुँदै गयो । र छोटो समयमै उनी पार्टीकी सशक्त नेतृ कहलिन थालिन् र अन्ततः उनी दुइ दुइ पटक राष्ट्रपति बन्न सफल भइन् ।

 यो सबै जननेता मदनको लिगेसीबाटै उनलाई प्राप्त भएको हो । विद्या यदि मदनकी विधवा हुँदैनथिन भने आज उनी यो स्थानसम्म पुग्ने थिइनन् ।

 

किनकी, पार्टीमा लामो समयदेखि कार्यरत रहँदै आएका धेरै महिला नेतृहरु पाखा परेका छन् । स्वयं जीवराज आश्रितकी पत्नीको कुनै खोजखबर छैन । भूमिगत कालदेखि भिडेका त्यागी महिला नेतृको ठाउँमा टाठाबाठा, चल्तापुर्जा र सुन्दर नेतृ हावी भइरहेका छन् ।

 

कोमल वलीहरुको जगजगी छ । कम्युनिष्ट नेताहरु रेखा थापासँग नाच्ने युग आएको छ । कम्युनिष्ट पार्टीमा बुर्जुवा राजनीतिक सँस्कार हावी भइरहेको छ ।

 

यस्तो बेलामा मदनकी जिवनसँगीनी भएकै कारण मात्र विद्याप्रति सबै जनता र पार्टीको सहानुभूति भएको हो । उनको नेतृत्व सबैले स्वीकारेको हो र राष्ट्रपतिजस्तो गरिमामय पदसम्म पुर्याएको हो ।

 

वैचारिक, राजनीतिक र साँगठनिक रुपमा उनीभन्दा अग्रज नेतृ अरु थुपै्र थिए, तर भावनात्मक हिसाबले उनी सबैकै सहानुभूतिकी पात्र भएकी न हुन् ।

 

ठिक छ, मदनको उत्तराधिकारी हुने पुरापुर अधिकार विद्यालाई छ । तर, मदनको उत्तराधिकार या लिगेसी ग्रहण गर्ने भनेको पद र प्रतिष्ठा प्राप्तिका लागि मात्र त हैन होला । मदनको लिगेसी बोक्ने भनेको उनको आचरण, सँस्कार र विचार पनि त होला ।

 

मदन साइकल चढथे, उनमा कुनै भडकिलोपन थिएन । मदन कुन हदसम्म मितव्ययी थिए भने खामसमेत किन्दैनथे । पुराना पत्रिकालाई फोल्ड गरेर स्टीच मार्थे र खामको रुपमा प्रयोग गर्थे ।

 

यस्ता सरल र सादगीपूर्ण नेताकी विधवालाई आज किन चाहियो १८ करोडको विलासी गाडी ? किन चाहियो आँगनमै हेलिप्याड र किन सार्नुपर्यो प्रहरी तालिमकेन्द्र ? रगतको टिका र ल्याप्चे लगाएर कम्युनिष्ट पार्टीको सदस्य भएको त्यो गौरवमय इतिहास भुलेर आज किन राजा महाराजाले झैं राज्यका निकायका प्रमुखहरुलाई घुँडा टेकाएर दशैंको टिका लगाइ दिनुपर्यो ?

 

धर्मनिरपेक्ष राज्यको राष्ट्रप्रमुख किन छठमा अर्घ दिन जानुपर्यो ? किन तिजमा पशुपति जानुपर्यो ? जाने नै हो भने अब उधौली उभौली, क्रिसमस, हेल्मो ल्होसार, तमु ल्होसार, तामाङ ल्होसार, बकर इद, माघीमा पनि सहभागी हुने कि नहुने ? मदन भण्डारी त धर्मलाई अफीम नै भन्नुहुन्थ्यो, उहाँको लिगेसीको दुहाइ दिँदा उहाँको विचार र दर्शनलाई तिलाञ्जली दिने कि अपनाउँने ?

 

प्रश्नहरु धेरै छन् । मदनको रहष्यमय दुर्घटनालाई हत्या नै ठहर गरी मुलुकमा उपद्रव मच्चाउँने केपी ओली प्रधानमन्त्री छन् । खै त हत्यारा पत्ता लगाएको ? दुई तिहाइ बहुमतवाला सरकारलाई मदनका हत्यारा पर्दाफास गर्न केले रोकेको छ ?

 

हो, यही अनुत्तरित प्रश्नले जोड जोडले भनिरहेको छ, सबै मदनका ‘मुना’ हुँदैनन् । मदनकी ‘मुना’ हुनका लागि त्याग र समर्पण चाहिन्छ । मदनको जस्तो सादगीपन, जनताप्रतिको अगाध प्रेम र लगाव चाहिन्छ । कसैको लिगेसी भजाएर उच्च पदमा पुग्नु र त्यो लिगेसीको इमानदारीपूर्वक सम्मान गर्नु फरक कुरा हो । मदन भण्डारीको लिगेसी भजाएर नेकपाका नेताले राज्यको ढुकुटीमा ब्रम्हलुट मच्चाउँनु भनेको मदनको अपमान हो, उनको सपनाको उपहास हो ।

(सदृश्य डट कमबाट) 

२०७५ मंसिर ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्