Rara Pharmacy

नगरकोट जस्तै सुर्खेतको गोठीकांडा

सीता वली /सुर्खेत
नगरकोट जस्तै सुर्खेतको गोठीकांडा

५, माघ । पछिल्लो समय मानिसहरुको जीवनशैली व्यस्त छ । अध्ययन, जागीर, पेशा व्यवसाय जे गरेपनि कार्यव्यस्तताका कारण परिवारलाई समेत समय दिन भ्याउंदैनन् मानिसहरु ।


दिनभरीको व्यस्ततालाई उनीहरु कुनै रमणीय स्थलमा गई भुल्न चाहन्छन् र दिमागलाई केहि हदसम्म भएपनि शितलता दिन चाहन्छन् । फलस्वरुप बिदाको समय वा कार्यालय समय भन्दा बाहेकको समयलाई साथीभाई वा परिवारसंग रमाइलो गर्न घुम्न जाने गर्छन् ।

 

घुम्न जाँदा ठाउँ विषेशले पनि यात्रालाई यादगार बनाउन भूमिका खेल्दछ । पछिल्लो समय गोठीकांडा रमाउनेहरुको साथी बनेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगदेखि करिब १० किलो मिटरको दुरीमा पर्ने गोठीकांडालाई बालबालिका, यूवा देखि जेष्ठ नागरिकले समेत घुम्ने स्थानको रुपमा छनौट गरिरहेको पाइन्छ ।


वीरेन्द्रनगर नगरपालीकाको उत्तरभेगमा रहेको त्यो डांडालाई धेरैले सुर्खेतको नगरकोटकै रुपले परिभाषित गर्ने गरेका छन् । त्यहाँबाट शुन्दर सुर्खेत उपत्यकालाई नियाल्न सकिन्छ । यो डाँडा वनभोज पारखिहरुको पनि रोजाइको क्षेत्र बनेको छ ।

 

गोठीकांडा पुग्न सुर्खेतबाट कपासे हुँदै ८ किलो मिटरको दुरीमा पर्ने छेडाबाट दैलेख सडक खण्ड छोडी बाँयातर्फ करिब दुई किलोमिटरको यात्रा गर्नु पर्छ ।

4
प्याराग्लाईडिङ्गको कारण पनि गोठीकांडा चर्चित बनेको हो । भेरी कर्णाली र्‍याप्टिङ्ग एड्भेन्चरका सञ्चालक तथा पर्यटन व्यवसायी समुन्द्र गौतमका अनुसार पोखरा पछिको प्याराग्लाइडिङ्गको राम्रो सम्भावना भएको क्षेत्र सुर्खेतको गोठीकांडा नै हो ।


उनी भन्छन्, ‘गोठीकांडाबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यका नियाल्ने, घोडचढि, तथा ग्रामीण होमस्टेको राम्रो सम्भाबना छ । त्यहाँबाट १० किलोमिटरको दुरीमा माथी उडियो भने दैलखलाई समेत नियाल्न मिल्ने र शुन्दर हिमालका दृश्यहरु समेत देख्न पाईने भएकोले पनि गोठीकांडा सबैको रोजाईको क्षेत्र बनेको हो ।’

gothikanda2
तर राजधानीको शिरमा भएको यस्तो पर्यटकिय क्षेत्रको लागि प्रदेश सरकारको चासो नहुनु लाजमर्दो भएको गौतमको भनाई छ । सुर्खेतको पुरानो धार्मीक आस्था बोकेको सिद्धपाईला मन्दिरको समेत पुर्न निमार्ण गर्न सके प्रशस्त पर्यटक भित्राउन सकिने उनको भनाई छ ।


आफूले गोठीकांडामा प्याराग्लाईडिङ्गको शुरुवात गरेको र राम्रो प्याराग्लाईडिङ्ग पाईलट नभएकोले हाल स्थगित भएको गौतमले बताए । उनका अनुसार सुर्खेत बिमानस्थल तथा पृतना आर्मी क्याम्पको कारण पनि प्याराग्लाईडिङ्गमा समस्या भएको छ । तर सम्भाबना भने टरेको छैन ।

5
वीरेन्द्रनगरको मुख्य बजारमा होटल गरीरहेका तर्क बहादुर शाहीले पर्यटकिय सम्भावना बोकेको गोठीकांडामा व्यवसायीक सम्भावना देखेर नगरपालिकाको १४ नम्बरमा पर्ने उक्त डांडाको सिरानमा होटेल सञ्चालन गरेको बताए । उनले भने ‘मैले गोठीकांडामा ६ करोड लगानी गरेर होटेल संञ्चालन गर्दै आएको छु । पछिल्लो समय ठिकै भएको छ । पानीको समस्याका कारण व्यवसायीहरुलाई अप्ठ्यारो भएपनि पर्यटकहरुका लागी भने गोठीकांडा सुर्खेतको नगरकोट नै हो ।’


तर यस्तो पर्यटकिय सम्भाबना बोकेको क्षेत्रतर्फ प्रदेश सरकारको ध्यान नजानु दुःखद् भएको पर्यटन व्यवसायीको गुनासो छ ।


गोठीकांडामै होटेल व्यवसाय संञ्चालन गर्दै आएकी साबित्रा रोकायले भनिन् ‘बाहिरी पर्यटकहरु त गोठीकांडाको लागि मात्रै भनेर आउंदैनन् तर सुर्खेत आएपछि एकपटक गोठिकांडा आउनैपर्ने ठाउँ हो भन्ने थाहा पाएर जरुर आउँछन् ।’

3
आफ्नो पसलमा मात्रै दिनमा ५० भन्दा बढि पर्यटकहरु भोजनको लागी आउने गरेको भन्दै उनले गोठीकांडामा करिब दशवटा खाजा नास्ता खुवाउने कटेज र एउटा व्यवस्थित होटेल भएको उनले बताईन् ।


विशेषगरी गर्मीको समयमा गर्मी छल्ने र सुर्खेतको ग्रामीण भेगमा पाईने अर्गानिक सीस्नो, ढिडो, मकैको रोटि तथा लोकल कुखुराको मासु जस्ता परिकार खाने र दैलेखको गुरांसेमा गएर शुन्दर हिमालहरुको दृश्य हेर्नेको ठुलै भिड लाग्ने गर्दछ गोठिकांडामा । तर यसलाई व्यवस्थित र सुरक्षित पर्यटकिय स्थल बनाउन प्रदेश सरकारसंग कुनै ठोस योजना छैन ।

2
स्थानिय तहले भने यसलाई पर्यटकिय ‘हब’को रुपमा विकास गर्ने योजना बनाएको वीरेन्द्रनगर नगरपालीका १४ का वडा अध्यक्ष टोपबहादुर दर्लामीले बताए । उनले भने ‘शनिबारको दिनमा अत्याधिक पर्यटकहरु भित्रन्छन् । हामीले पनि तथ्यांक राखेका छौं । शनिबार करिब २ हजार पर्यटकहरु आउने र अन्य दिनमा भने सय भन्दा बढि पर्यटक आउने गर्दछन् । तर प्रदेश सरकारले गोठिकांडालाई पर्यटकिय हबको रुपमा विकास गर्नको लागि कुनै पहल चालेको छैन ।’


'नगरपालीकाको नीति तथा कार्यक्रममा त छ तर बजेट छैन' उनले थपे ‘वडाले मात्रै बजेट हाल्न सक्दैन । मैले लादे भ्युटावरको डिपिआर तयार गरेर पर्यटन मन्त्रालय तथा मुख्यमन्त्रीको कार्यालयमा पेश गरेको थिएं तर सुनुवाई भएन ।’ उनका अनुसार कर्णाली प्रदेश सरकार तथा स्थानिय सरकारको पहलमा गोठीकांडामा व्यवस्थित पार्क, सडक, खानेपानी, व्यवस्थीत होटलहरुको व्यवस्था गर्न सके दिनमा हजारौं पर्यटकहरु भित्रने सम्भाबना छ ।
1

२०७५ माघ ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्