Rara Pharmacy

कर्णालीको राजधानीलाई कसरी सफा बनाउने ? आफ्नो मत राख्नुहोस्

सीता वली /सुर्खेत
कर्णालीको राजधानीलाई कसरी सफा बनाउने ? आफ्नो मत राख्नुहोस्

१० माघ । कर्णाली प्रदेशको राजधानी घोषणा भएसंगै वीरेन्द्रनगर राम्रो बन्नुपर्नेमा त्यस्तो हुन सकेको छैन । नगर झन् कुरुप बन्दै गएको छ ।

 

सडकहरु भत्किएका छन् जहाँतहीं प्लाष्टिक थुप्रिएका छन् । ढल निकासको उपयुक्त व्यवस्था नहुँदा फोहर पानी सडकमा बग्छ । अव्यवस्थित घर निर्माणले खेतीयोग्य जमीन मासिएको छ । शहर बढेसंगै मानवता मेटिएको महसुस हुन्छ । अरुको मतलब नहुनु नै राजधानी हुनु हो शायद ।


वीरेन्द्रनगरलाई कसरी सफा बनाउन सकिन्छ ? केही अभिमत सेरोफेरो चौतारीमा ।

 

देबकुमार सुबेदी

प्रमुख, वीरेन्द्रनगर नगरपालिका

devkumar subedi

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा जताततै फोहोर देखिन्छ यहांहरुले नगरसरसफाई सम्बन्धि समिती निर्माण गर्नुभएको छ ?

वीरेन्द्रनगर नगरपालिकालाई सरसफाई गर्दै आएका छौं । सरसफाई सम्बन्धी कार्यविधी पनि पास भएको छ । हिजोको भन्दा आज केहि पनि भएको छैन भन्ने हिसाबले प्रस्तुत भैदिनुहुदैन । तर हामीहरुले काम गरिरहेका छौं । फोहोर उठाउनु पर्ने चांहि छ ।


फागुनको महिनामा बृहत शहर सरसफाई अभियान गुरुयोजना निर्माण गर्दैछौं । त्यो गुरुयोजना संगसंगै हामीले सरसफाइलाई वडा तहमा लैजान्छौं । वीरेन्द्रनगरको सबैभन्दा समस्या भनेको वडा नं ६ मा हो । त्यहां पनि नाला खोल्ने, फोहोर उठाउने, ढलनिकासको कार्ययोजना निर्माण गरेर यो वर्षमा काम अगाडि बढाउने तयारी छ ।


वीरेन्द्रनगरमा ढल निकासको योजना के छ ? नगरका सबै वडाहरुमा ढल निकासको योजना छ कि केहि विशेष वडाहरुमा मात्रै ?

वीरेन्द्रनगरको सबै वडाहरुमा ढल निकाशको आवश्यकता छ । ढल निकासको गुरुयोजना निर्माणमा लागिहरेका छौं । त्यसमध्ये प्राथमिकीकरणमा वडा नं ४, ६, ७, ८, ९ कोर क्षेत्र भनेर छुट्याएका छौं । गुरुयोजना फागुन सम्म तयार गरिसक्छौं ।


वीरेन्द्रनगर नगरपालिकाका धेरै सडकहरुको लगतकट्टा भएको छैन । यो विषयमा नगरपालिकाले के सोचेको छ ?

हामी निर्वाचित भइसकेपछि शहरी नापीको काम अगाडि बढाएका छौं । विशेषगरी साविकको वडा नं ९ र ७ को शहरी नापीको काम सम्पन्न भइसकेको छ । साविकको वडा नं ५ र वडा नं ८ लाई सार्वजनिक सुचना गरेर नापीको प्रक्रिया अगाडि बढाएका छौं । त्यसैगरी वीरेन्द्रनगरको बिस्तारित क्षेत्र लाटिकोईली, उत्तरगंगा, जर्वुटा, रतु, गर्पनको गुरुयोजना निर्माणका निम्ति शहरी विभागबाट टेन्डर आव्हान भएको छ ।


वीरेन्द्रनगर बजार क्षेत्रका व्यापारीहरुले नै बजार क्षेत्रलाई बढि प्रदुषित गरेको भनेर यहाँले पटक पटक भन्दै पनि आउनु भएको छ । अहिले पनि पसल अगाडि फोहोरको थुप्रो देखिन्छ । फोहोर गर्नेलाई के कारवाही हुन्छ ?

भर्खरै वीरेन्द्रनगर नगरपालिकाले सरसफाई कार्यविधी पास गरेको छ । अहिल्यै जनतालाई कारबाही गरिहाल्नु पनि त्यति उचित हुदैन । हामीहरु एक दुई चरण उहाँहरुसंग बस्ने, जनचेतनामुलक कार्यक्रमहरु गर्ने र नमानेमा कारवाही गर्ने तयारीमा छौं ।


त्यो गर्दा पनि अटेर गर्नेलाई कानुन बमोजिम कारवाही गर्नेछौं । सामान्य फोहोर गरेको प्रकृति हेरेर ५ सय देखी माथी ५ हजार सम्म जरिवाना लगाउन सकिनेछ । बाटोमा फोहोर गर्ने, ढुङ्गा, गिट्टी बालुवा राख्ने लगाएतको फोहोर गर्नेलाई पनि त्यहि खालको कारवाही गर्नेछौं ।


डा. नवराज केसी

बाल विशेषज्ञ, कर्णाली प्रदेश अस्पताल तथा क्लिन सुर्खेतका अभियन्ता

da. nabraj kc
शहर सफा नहुँदा मानव स्वास्थ्यमा के असर पर्छ ?

नेपालमा ६० प्रतिशत रोगहरु फोहोरका कारण लाग्ने गर्दछन् । फोहोरमा हुने किटाणुहरुबाट टाइफाइड, निमोनिया, जापानिज इन्सेफ्लाइटिस जस्ता रोगहरु लाग्ने गर्छन् । पहिला शहरको फोहोर भन्दा पनि घरको फोहोरमा सबैले ध्यान दिनु जरुरी छ । सरसफाई व्यक्तिको आचरणमा भर पर्छ । सबै भन्दा पहिला व्यक्तिको आचरण ठिक हुनुपर्‍यो, त्यसपछि घर र समाज अनि शहर त पछिको कुरा हो । जब व्यक्ति, घर र समाजले ससरफाइमा ध्यान दिन्छ त्यसपछि शहर सफा हुन कुनै बेर लाग्दैन ।

 

स्वस्थ शहरका लागि सरोकारवाला निकायलाई के सुझाब दिनुहुन्छ ?

सर्वप्रथम आफू जिम्मेवार हुनु जरुरी छ । फोहोर व्यवस्थापनको लागि आएको पैसामा पनि भ्रष्टाचार हुनुभएन । सरसफाई भनेको समाजिक शिक्षा हो । यसलाई घरघरमा गएर दिनु जरुरी छ । अर्को कुरा फोहोर गर्नेलाई दण्ड तथा जरिवानाको पनि व्यवस्था गर्न जरुरी छ । नजानेकोलाई सिकाउने र जानी जानी बुझ पचाउनेहरुलाई कडा भन्दा कडा सजायको व्यवस्था गर्न जरुरी छ ।


यसैगरी फोहोर व्यवस्थापन गर्ने निकायको असक्ष्ँमताका कारण पनि हजारौं मान्छेको ज्यान गएको छ । यसको लागि कामप्रतिको जिम्मेवारी गहनतापुर्वक पुरा गर्नु जरुरी छ ।


यहाँ क्लिन सुर्खेतको अभियन्ता पनि हुनुहुन्छ । तपाइहरुले मात्रै हप्ताको एकपटक सरसफाई गरेर स्वस्थ शहरको परिकल्पना पुरा होला ?

करिब २६ हप्ता भयो हामीले क्लिन सुर्खेत अभियान सञ्चालन गरेको । विइङ्स् फाउण्डेशनको शहकार्य र विभिन्न संघसंस्थाहरुको समन्वयमा हामीले यो अभियान सञ्चालन गरेका हौं । यो अभियानले शहरलाई त भन्न सकिंन्न तर अभियानमा संलग्न करिब २ हजार जती अभियन्ताहरुको जीवनमा परिवर्तन आएको छ ।


अभियन्ताहरुको व्यक्तित्व र उनीहरुको परिवारले सरसफाइमा ध्यान दिने गरेका छन् । अभियानले मात्रै शहर सफा राख्न सम्भब छैन । त्यसको लागि हरेक व्यक्तिले आफू बस्ने, र काम गर्ने क्षेत्र मात्रै सफा राख्ने बानी भयो भने शहर यत्तिकै सफा हुन्छ ।


ओमप्रकाश थापा, कार्यक्रम संयोजक

नगर विकास सरसफाई कार्यक्रम, शुन्दर नेपाल संस्था

20190113_173251
तपाईहरुले सरसफाई सम्बन्धि के काम गर्दै आउनु भएको छ ? शहर सरसफाईको लागि सरोकारवाला निकायलाई के सुझाब दिनु हुन्छ ?

हामीले वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाका १६ वटा विद्यालयहरुलाई एस्एनबि कार्यक्रम अन्तरगत स्मार्ट स्कुल निर्माणार्थ सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएका छौं । विद्यालयमा शौचालयको अवस्था, विद्यालयमा प्लाष्टिकको प्रयोग, खानेपानी, लगाएतका कुराहरुलाई हामीले हेर्दै आएका छौं । अर्बन सेनिटेशनको क्षेत्रमा हामीले निकट भविष्यमा काम गर्ने योजना बनाएका छौं ।


शहर सरसफाईको लागि सरोकारवाला निकायलाई सुझाब भन्दा पनि सरसफाई सबैको चासोको विषय हो । एकजनाले मात्रै सरसफाई गरेर हुंदैन, शहर स्वस्थ राख्नको लागि बाटोमा हिड्ने बटुवा देखी गाडी चालक र व्यापारीहरु पनि जानकार हुनपर्छ कि स्वास्थ्य हामा्रे जिवनको अमुल्य धन हो भनेर ।


एउटा निकायले मात्रै सरसफाई गरेर स्वस्थ शहरको परिकल्पना पुरा हुंदैन । त्यसको लागि सबै सचेत र शुसुचित हुनु जरुरी छ । विशेषगरी जनप्रतिनिधीहरुको सोच भनेको बाटो र भौतिक पुर्वाधारलाई मात्रै विकासको रुपमा हेरको पाईन्छ तर वास्तबमा स्वास्थ्य क्षेत्रको सुधार पनि विकास हो भन्ने कुराको हेक्का पनि जनप्रतिनिधीहरुले राख्नु जरुरी छ । बाटोको छेउछाउ तथा चौतारोमा डस्बिनको व्यवस्था गर्ने र फोहोर गर्नेलाई कारवाहि गर्नुपर्दछ ।


राजु नेपाली, कर्णाली प्रदेश सभा सदस्य

एवम् अध्यक्ष, सामाजिक विकास समिती

Raju Nepali

प्रदेश सरकारले सरसफाई सम्बन्धि निती बनाएको छ कि छैन ?

हामीले कर्णाली प्रदेशको सरसफाई सम्बन्धि निती बनाएका छैनौं । यो निती बनाउनु आवश्यक छ । अहिले स्थानिय तहले पनि आ–आफ्नो गाउँ तथा नगरपालिकामा निती निर्माण गर्दै गरेको छ । आगामी दिनमा कर्णाली प्रदेशले पनि सरसफाई सम्बन्धि निती निर्माण गरेर प्रदेशलाई स्वस्थ राख्ने कुरामा अगाडि बढ्ने छ ।

 

बालाराम शर्मा, पुर्व नगर प्रमुख

वीरेन्द्रनगर नगरपालिका

Balaram
यहाँ २०५४ सालमा वीरेन्द्रनगर नगरपालिकाको प्रमुखको रुपमा काम गर्नुभएको छ । त्यो बेलामा जनसंख्या पनि कम थियो होला कसरी नगरको सरसफाई गर्नुहुन्थ्यो ?

त्यो बेलामा वीरेन्द्रनगरको जनसंख्या पनि कम थियो । र स्रोत साधन पनि कम थियो । तर पनि हामीले नगरको फोहोर उठाउने कामहरु गर्थिउँ । विभिन्न सरसफाई सम्बन्धि कार्यक्रमहरु पनि गरिन्थ्यो । हाम्रै पालामा ल्याण्डफील साईडको तयार भएको हो । तर अहिले सम्म त्यहां बाह्रै महिना गाडि चल्ने बाटोको निर्माण गर्न सकिएको छैन । जतातनै फोहोरै फोहोर देख्न सकिन्छ । यसमा नगरको चासो बढि हुनु जरुरी छ ।


अर्को कुरा नगरपालिकाले आंफैले पनि फोहोर उठाउने गरेको छ र निजी क्षेत्रलाई पनि फोहोर उठाउने जिम्मा दिएको छ तर पनि नगर स्वस्थ हुन सकेको छैन । जताभाबि फोहोर फाल्ने काम वीरेन्द्रनगर नगरपालिकाले गर्दै आएको छ । त्यो गर्नु हुंदैन ।

 

नगर सफा राख्नको लागि के सुझाव दिनुहुन्छ ?

नगरपालिकामा भएको स्रोत साधनको व्यवस्थीत ढंगले प्रयोग गर्नूपर्‍यो । नगरबासीलाई पनि सचेत गराउने । जनताहरु आजपनि आफूले नालामा फोहोर फाल्ने र नगरपालिकालाई गाली गर्ने प्रवृत्ति छ । त्यो मैले २०५४ सालमा पनि बेहोरेको छु । विभिन्न क्षेत्रमा जनचेतनामुलक कार्यक्रम गर्ने र जनतालाई पनि सरसफाई कार्यक्रममा सहभागी गराउने ।


नगरपालिकाले पनि अरु क्षेत्रलाई भन्दा सरसफाइलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउनु जरुरी छ ।


धर्मराज रेग्मी

कर्णाली प्रदेश सभा सदस्य

dh jpg

नेपालको संविधानमा नागरिक स्वच्छ बातावरणमा सम्मान पुर्वक बांच्न पाउने अधिकार छ । तर कर्णाली प्रदेशको राजधानीमा जताततै फोहोर छ । यसमा के भन्नु हुन्छ ?


नेपालको संविधानको मौलीक हकमा नै यो व्यवस्था छ की नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने हक छ । तर जताततैको फोहोरै फोहोरले जनता रोगको शिकार बन्दैछन् । यसको लागि नागरिक सचेतनामुलक कार्यक्रमको आवश्यक पर्दछ । विद्यालय क्षेत्रबाटै सरसफाइका लागि अभियान सञ्चालन गर्न जरुरी छ ।


नगरपालिकाले पनि नगर क्षेत्र भित्र नियमित सरसफाई गर्ने, हरियाली फैलाउने, सबै क्षेत्रमा डस्बिनको व्यवस्था गर्ने र सार्बजनिक शौचालयको व्यवस्था गर्नेहो भने संविधानमा उल्लेख भएको नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको पुर्ण रुपमा कार्यान्वयन हुन्छ । यसको लागि नगरपालिका मात्रै होईन की सरकार, निजी क्षेत्र तथा जनता सबै मिल्नु जरुरी छ ।


संविधानले दिएको अधिकारबाट बञ्चित बनाइएको भनेर कसैले राज्यका निकाय बिरुद्ध उजुरी गरे भने ?

सबै भन्दा पहिला सरसफाईको दायित्व सम्बन्धित गाउँ वा नगरको हो । त्यसमा नागरिक तथा निजी क्षेत्रलाई उसले प्रयोग गरी स्वच्छ शहरको निर्माण गर्न सक्छ । कुनै पनि नागरिकले शहरको फोहोरको कारण आफू रोगी भएको वा कुनै पनि समस्या आएको भनी स–प्रमाण अदालतमा गएमा कानुनी प्रक्रिया अनुसार न्याय पाउँछ ।


यज्ञप्रसाद उपाध्याय, उपप्राध्यापक

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत

yagya p. upadhaya

नगर सरसफाइको अभियान कसरी सफल बनाउने ?

सबैभन्दा पहिला त सरसफाइको शुरुवात घरको भान्साबाट हुन जरुरी छ । फोहोरलाई एक ठाउँमा सुरक्षित र व्यवस्थित तरिकारले रँख्नुपर्दछ । फोहोर कुनबेला सडकमा आयो र नगरले कुनबेला उठायो भन्ने कुराको जानकारी कसैलाई पनि थाहा नहोस् तब मात्रै स्वच्छ वातावारणमा बाँचेको अनुभूती जनताले गर्दछन् ।


नगरपालिका फोहोर व्यवस्थापनमा असफल भएको छ । जनप्रतिनिधिले निती बनाउने हो र त्यसलाई कार्यान्व्यन गर्न लगाउने हो । तर यसको लागि कोहि पनि लागेको देखिंदैन । वीरेन्द्रनगरमा व्यवस्थित नाला छैन, पार्कीङ्को व्यवस्था छैन, सडकको छेउमा डस्बिन छैन अनी कसरी स्वच्छ शहरको परिकल्पना गर्न सकिन्छ ?


यी माथीको कुराहरु नगरले पुरा गरेको खण्डमा नगर स्वच्छ बन्न सक्छ । यहाँ बिधीको शासन भन्दा व्यक्तिको शासनको हाबी छ यसलाई पनि सुधारेर अगाडि बढ्नु जरुरी छ ।

 

गोबिन्द चपाई

लेकबेशी ४ सुर्खेत

govinda chapai

वीरेन्द्रनगर बजार क्षेत्र फोहोर हुँदा यात्रुले कस्तो समस्या भोग्नु परेको छ ?

धेरै समस्या भोेग्नुपरेको छ । विशेषगरी वीरेन्द्रनगरको फोहोरको दुर्गन्धले नाकमा समस्या भएको छ । वीरेन्द्रनगर बजार क्षेत्रमा अत्याधिक फोहोर छ । कर्णाली प्रदेश गरिब मात्रै होईन फोहोरीको संज्ञा पाउने डर छ ।


कसरी स्वच्छ सहर निर्माण गर्न सकिन्छ ?

स्वच्छ शहर निर्माणका लागि जनचेतना मुलक कार्यक्रम गर्नु जरुरी छ । सडकका छेउछाउमा डस्बिन राख्ने, बजार क्ष्ँेबाट उठाएको फोहोरलाई सहि ठाउँमा व्यवस्थित गर्ने र फोहोर गर्नेलाई कारवाहि गर्नुपर्छ ।


योगेन्द्र खत्री, व्यापारी

yogendra khatri
तपाइहरु पसल अगाडि किन फोहोर थुपार्नुहुन्छ ?

हामीले जहिले पायो त्यहिले पसल अगाडि फोहोर थुपार्ने गरेका छैनौं तर बिहान नगरपालिकाको गाडी फोहोर लिन आउने भएकोले मात्रै पसल भित्रको फोहोर बाहिर राखिन्छ । तर कहिले काँहि गाडी फोहोर उठाउन ढिलो गर्छ । त्यतिबेला पसल अगाडी थुप्रो देखिन्छ ।


तपाइहरुलाई फोहोर व्यवस्थापनमा के समस्या छ ?

सडकका छेउमा नगरले डस्बिनको व्यवस्था गर्न सकेको छैन । समयमा नगरपालिकाको गाडी फोहोर उठाउन आउंदैन । सडकको पेटिको लेबल पनि मिलेको छैन र अर्को कुरा ट्राफिक व्यवस्थापन पनि राम्रो छैन । जसले गर्दा वीरेन्द्रनगर संधै कुरुप देखिएको छ ।


हामीहरु शहर दुर्गन्धित गर्ने पक्षमा छैनौं । जसले फोहोर गर्छ उसलाई नगरपालिकाले कारबाहि गर्नुपर्छ र सरसफाई सम्बन्धित सामाग्री राखिदिनु पर्दछ ।


कृष्णा कुमारी पाण्डे, व्यापारी

krishna kumari pande

सबैभन्दा बढि फोहोर व्यापारीहरुले गरेको आरोप नगरपालिकाले लगाउंदै आएको छ । यसमा के भन्नुहुन्छ ?

शहर दुर्गन्धित गर्ने कुरामा व्यापारीमात्रै होईन पैदलयात्री, तथा गाडि चालकहरुको पनि उत्तिकै दोष छ । हामीहरु पसलबाट निस्किएको फोहोर पसल भित्रै राखेर नगरको गाडि आएको बेलामा मात्रै बाहिर फाल्ने गर्दछौं । तर पैदल यात्रीहरु जथाभाबि फोहोर फाल्दै हिड्ने गर्छन् । गाडि चालकहरुले समेत जथाभाबी गाडि चलाउँदा समस्या भएको छ ।
कहिले कांहि त पसल भित्रै गाडि ठोक्न ल्याइपुर्‍याउँछन् । पैदलयात्रीले पनि फोहोर फालेको खण्डमा कारवाहि गर्नु जरुरी छ । व्यापारीहरुले पनि फोहोर गरेका छन् भनेपनि कारवाहि होस् तर नगरपालिकाले पनि सरसफाइका कार्यमा त्यती ध्यान दिएको छैन । समयमा फोहोर उठाउन आउंदैन ।


सडकको छेउमा डस्बिन छैन, केहि व्यक्तिहरुले सडकको डस्बिन उठाएर निजी घरमा राखेका छन् तर त्यसलाई कारवाहि गर्न सकेको छैन । यसरी त स्वच्छ शहरको कसरी परिकल्पना गर्न सकिन्छ र ?


प्रकाश ज्वाला, आर्थिक मामिला तथा योजना मन्त्री
कर्णाली प्रदेश

parkash jwala
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर बजार क्षेत्रमा अत्याधिक फोहोर छ । यसले प्रदेशको सन्देश कस्तो जाला ?

कर्णाली प्रदेशको राजधानी चाहेजस्तो सफा छैन । यसले सिङ्गो कर्णाली प्रदेशलाई नै इङ्गित गर्दछ । कर्णाली प्रदेश नै यस्तो प्रदेश हो, जहाँ झाडाबान्ता र महामारीबाट मृत्युवरण गर्नुपर्ने अबस्था छ । त्यो सरसरफाइकै कमीले गर्दा हो ।


स्थानिय तथा प्रदेश सरकारबाट पनि भनेजती सरसरफाइमा काम भएको छैन । तर सरसफाई जस्तो कुरालाई अरुले नै गरिदियोस् भन्ने मानसिकता जबसम्म हट्दैन तबसम्म स्वच्छ शहर हुन सक्दैन । स्वयम् जनता पनि सरसफाइका लागि लाग्नु पर्छ ।


कर्णाली प्रदेश सरकारका मन्त्री तथा कर्मचारीहरुले महिनाको दुईदिन सरसफाई गरेर स्वच्छ प्रदेशको परिकल्पना पुरा होला त ?

कर्णाली प्रदेश सरकारले २०७४ फाल्गुन २६ गते मन्त्रिपरिषद्को निर्णयबाट महिनाको १ र १५ गतेलाई श्रमदिनको रुपमा मनाउने निर्णय गरेको हो । तर यसको बुझाई उल्टो भइदियो ।


श्रमको सम्मानको लागि र सबैले श्रम गर्नु जरुरी छ भन्नको लागि यो काम गरिएको हो । तर संधैभरी मुख्यमन्त्री, मन्त्री तथा कर्मचारीहरुले सरसफाई गरेर स्वच्छ प्रदेशको परिकल्पना पुरा हुंदैन । यसको लागि स्थानिय तथा प्रदेश सरकारको पहल र आम जनताको पनि सकारात्मक सहयोगको आबश्यता पर्दछ ।


कर्णाली प्रदेशलाई स्वच्छ प्रदेश बनाई राख्नको लागि सरकोकारवाला निकायलाई के सुझाब दिनुहुन्छ ?

कर्णाली प्रदेशको राजधानी सुर्खेत तथा समग्र प्रदेशलाई स्वच्छ राख्नको लागि के गर्नुपर्दछ प्रदेश सरकार गर्न तयार छ । आबश्यक बजेट पनि हामीले छुट्याएका छौं । सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य क्षेत्रको काम हुने गर्दछ ।


स्वच्छ प्रदेश निर्माण राजनितिक दल, व्यापारी, किसान, संघसंस्थाहरु सबैको दायित्व हो । कम्तिमा पनि प्रदेशको राजधानी सफा भयो भने यसको शन्देश देशभर जान्छ र सरसफाइको पहिलो केन्द्र हामीले वीरेन्द्रनगरलाई बनाउनु पर्छ । यसमा सबै निकायको सहयोग आबश्यक छ ।


यहाँ अर्थ मन्त्री भएको नाताले शिक्षा स्वास्थ्यको विषयगत मन्त्रालय सामाजिक विकास मन्त्रालयलाई के सुझाब दिनुहुन्छ ?

स्वास्थ्य सबैभन्दा मानब जीवनको महत्वपुर्ण पाटो हो । यसको लागि केहि बजेट बिनियोजन पनि भएको छ । अझै पनि बजेटकै अभावमा प्रदेशको सरसफाइमा कमी आएको हो भने बजेट थप्न पनि सकिन्छ । यसमा मन्त्रालयले नेतृत्व गर्ने हो ।


सरसफाई आधारभुत आबश्यकता हो भनी सरकारले भन्दै आएको छ त्यसलाई उच्च प्राथमिकतामा राख्नुपर्दछ । मन्त्रालयले आफ्नो बजेट पनि सहि सदुपयोग गर्ने र बिभिन्न संघसंसथा तथा सरोकारवाला निकायसंग सहयोग पनि लिएर काम गर्ने । त्यस्तै स्थानिय सरकार र उद्योग बाणिज्य महासंघसंग पनि सहयोग लिई सरसरफाई कार्यलाई तिब्रताका साथ अगाडि बढाउनुपर्छ ।

6

२०७५ माघ १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्