Rara Pharmacy

ओतमात्रको दृष्टिविहीन छात्राबास

सीता वली /सुर्खेत
ओतमात्रको दृष्टिविहीन छात्राबास

१३ माघ । नेपाल सरकारको मातहतमा श्री कृष्ण संस्कृत माध्यामीक विद्यालय सुुर्खेतले दृष्टिविहीन छात्राबास संञ्चालन गर्दै आएको छ । विभिन्न जिल्लाका गरी १५ जना छात्राहरु उक्त विद्यालयमा पढ्दै र छात्राबासमा बस्दै आएका छन् ।


स्रोत कक्षामा ब्रेललिपी सिक्ने र साङ्गहरुसंगै प्रतिस्प्रर्धा गरेर पढ्नुपर्ने उनीहरुको बाध्यता एकातिर छ भने अर्कोतिर छात्राबासमा बसाई, खेलकुद, अतिरिक्त पढाईको समेत ठुलो समस्या छ । बाध्याता छ, अर्को बिकल्प पनि त छैन ।


सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट र अछामका तीनैथरी दृष्टिको समस्या भएका छात्राहरु बस्ने छात्राबास भने ओतमात्रैको भएको छात्रा सरिता शर्माले बताईन् । वीेरेन्द्रनगर ३ तातापानी घरभएकी सरिता दुई वर्षदेखी दृष्टिविहीन छात्राबासमा बस्दै आएकी छन् ।


उनले भनिन् ‘हामीहरु एउटा कोठामा ५ जना बस्नुपर्दा समस्या भएको छ । किताबको कोर्स पाईदैन (दुष्टिविहीनका लागि सुनेर पढ्ने कोर्ष) यस्ता बिभिन्न समस्याका बाबजुद पनि छात्राबासमा बस्न बाध्य छौं ।’


अर्की छात्रा डिलसरा बुढाको पनि गुनासो उस्तै छ । भन्छिन् ‘छात्राबास भनेपछि विद्यालय बाहेक अतिरिक्त समयमा पनि पढ्न पाउनु पर्ने हो । तर त्यो सुबिधा पनि छैन । अर्कोकुरा, खेल सामाग्री तथा खेलकुद मैदान समेत नहुंदा हामीलाई समस्या भएको छ ।’


छात्राबासका व्यवस्थापक तथा स्रोत शिक्षक सुरेशकुमार खड्काले पनि दृष्टिविहीन छात्राबासमा भनेजती सुविधा नहुँदा समस्या भएको बताउँछन् ।


भन्छन् ‘नेपाल सरकारको समाबेशी शिक्षा अन्र्तरगतको यो कार्यक्रमका लागि प्रति विद्यार्थी वर्षको ४० हजार रुपैयाँ मात्र आउने गरेको छ । त्यहि पैसाबाट वर्षभरीको घरभाडा, खाजा, खाना, सामान्य औषधि उपचार र कापी कलम पुर्‍याउनुपर्ने हुन्छ । जसले गर्दा विद्यार्थीहरुलाई ठूलो समस्या छ ।’


उनका अनुसार अन्य विद्यालयहरुमा विद्यालयको आफ्नै भवनमा छात्राबास सञ्चालन गर्दा भाडा बचाएर विद्यार्थीका लागि अन्य सुविधा दिइन्छ । तर यो छात्राबासमा भने महिनामा १५ हजार भाडा नै दिनुपर्ने भएकोले थप समस्या भएको हो ।


नेपाल सरकारले दिएको सुविधा तथा अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थाले बाहेक बालबालीको क्षेत्रमा काम गर्ने अन्य कुनै पनि संघ संस्थाले दृष्टिविहीन छात्राबासको लागि सहयोग नगरेको शिक्षक खड्काको गुनासो छ ।


‘बालबालीकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको यहाँ उपस्थिती नै छैन । अपाङ्गताका क्षेत्रमा काम गर्ने संस्थाले मात्रै यिनीहरुलाई केहि सहयोग गर्दछन् तर अन्य संस्थाहरुको ध्यान यतातिर छैन ।’  शिक्षक खड्काले भने । छात्राबासमा जतीजना छात्राहरुलाई पनि राख्न सकिने भएपनि बासकै अभाबमा १५ जना भन्दा बढिलाई सुविधा दिन नसकेको उनले बताए ।


उनी थप्छन् ‘यो नेपाल सरकारको कोटा होईन । हाम्रो छात्राबासको बाध्यात्मक कोटा हो । १५ जना भन्दा बढि छात्राहरु विद्यालयमा भर्ना भएभने अन्यत्रै बस्नुपर्ने हुन्छ । उनीहरुले पाउने सुविधा भने प्राप्त गर्छन् ।’ स्थानिय तथा प्रदेश सरकारले यस्ता बालबालीकाहरुका लागी समेत केहि बजेटको व्यवस्था गर्नुपर्ने उनको भनाई छ।

 

वीरेन्द्रनगर नगरपालिकाले उक्त छात्राबासको लागि बजेट छ्ट्याएको छैन । शिक्षा बिभागले जती दिन्छ त्यती नै नगरमार्फत विद्यालयलयमा पठाउने गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाका नगर शिक्षा शाखा अधिकृत गजेन्द्रकुमार जिसीले भने ‘संघियताको अस्तव्यस्तताका कारण पनि विद्यालयले सहयोग नपाएको होला । हाल छात्राबासको लागि वीरेन्द्रनगर नगरपालिकाको कुनै योजना छैन ।’

 

वीरेन्द्रनगर नगरपालिका ७ का वडा अध्यक्ष धु्रबकुमार चपाईले भने माग आएपछि आवश्यक सहयोग गर्ने बताए । ‘मलाई यस्तो खालको छात्राबास छ भन्ने पनि थाहा थिएन । आगामी दिनमा दुष्टिविहीन छात्राबासको समस्या के हो । माग आएको खण्डमा बजेटको बिनियोजन गर्नेछौं ।’

 

२०७५ माघ १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्