Rara Pharmacy

एउटा जन्मजात विद्रोही भारतीय नेताको अवशान

युवराज घिमिरे/देशसञ्चार
एउटा जन्मजात विद्रोही भारतीय नेताको अवशान

जर्ज फर्नान्डिजलाई भारतीय राजनीतिका झण्डै विगत छ दशकका अत्यन्त जुझारु, विवादास्पद र यदाकदा दुस्साहसी नेताका रुपमा लिन सकिन्छ। झण्डै आधा दशकको रुग्ण शारीरिक अवस्थाले उनको सक्रिय इतिहास सम्पूर्ण रुपमा ओझेलमा परेको थियो र मंगलबार बिहानै ८९ वर्षको उमेरमा दिल्लीमा उनको निधन भयो।

 

समाजवादी आन्दोलनमा सानै उमेरदेखि मजदूर मोर्चा मार्फत होमिएका फर्नान्डिजले प्रारम्भमा बम्बई क्षेत्र रोजे पनि उनले बिहारलाई आफ्नो राजनीतिक आधारका रुपमा अपनाए, धेरैपल्ट संसदमा प्रतिनिधित्व गरेर। सन् ४० को दशकदेखि समाजवादी आन्दोलनमा जोडिएका फर्नान्डिज पहिलोपल्ट केन्द्रमा उद्योग मन्त्री बने, मोरारजी देशाईको जनता पार्टी सरकारमा सन् १९७७ मा।

 

वास्तवमा, त्यो समय जर्ज फर्नान्डिजको व्यक्तित्व र विद्रोही चरित्र पराकाष्ठामा थियो, देशभित्र र बाहिर। सन् १९७७ को निर्वाचन भारतमा संकटकालअन्तर्गत भएको थियो। इन्दिरा गान्धीको शासन सत्तालाई हिंसात्मक तरिकाले उल्टाउन खोजेको भनी चर्चित ‘वडोदा डाइनामेट केस’ का प्रमुख संदिग्धका रुपमा उनलाई गिरफ्तार गरी मुजफ्फरपुर (बिहार) जेलमा राखिएको थियो। सन् १९७७ को निर्वाचनमा हथकडीका साथ उनको फोटोहरु चुनावी पोस्टरका रुपमा प्रस्तुत गरिएका थिए, ‘जेलका फाटक टुटेंगे, जर्ज फर्नान्डिज छुटेंगे’ भन्ने आकर्षक नाराका साथ।

 

वास्तवमा भयो पनि त्यस्तै। निर्वाचनमा आफ्ना सबै प्रतिद्वन्द्वीहरुको जमानत जफत गराई उनी विजयी भए, भारी बहुमतका साथ। मोरारजी देशाईजस्तो कट्टर हिंसाविधी प्रधानमन्त्री फर्नान्डिजलाई मन्त्री बनाउन बाध्य भए, लोकप्रिय दबाब र जनमतका कारण।

 

नर्वेका समाजवादी नेता ओलोफ पामे मात्र हैन, विली व्रान्डट समेतले उनको रिहाइका लागि इन्दिरा गान्धीसँग आह्वान गरेका थिए।

 

भारतमा सन् १९४८ मा विधिवत अस्तित्वमा आएको समाजवादी दल पटक–पटक टुक्रियो र सन् १९७७ मा जनता पार्टी गठन गर्न समाजवादीहरुले आफूलाई त्यसमा विलय गरेपछि उनीहरुको प्रभावकारी पुनर्जन्म हुन सकेन त्यसपछि। राष्ट्रिय जनता पार्टी, समता पार्टी, समाजवादी पार्टी आदि अनेक रुपमा छरिन पुगे समाजवादी आन्दोलनका ती घटकहरु।

 

जर्ज फर्नान्डिज सक्रिय राजनीतिको अन्तसम्म ‘समाजवादी’ रहे या रहेनन् नीतिगत हिसाबले, विवाद र बहसको विषय रहिरहने छ। तर, उनले समाजवादीहरुको, खासगरी त्यसका वैचारिक र सांगठनिक खम्बा मानिएका डा. राममनोहर लोहियाको एउटा नीति अङ्गाले सन् १९९६ मा। अर्थात ‘गैरकांग्रेसवाद’ (कांग्रेस विरोधी) मान्यतालाई अगाडि बढाउँदै हिन्दूत्वको नारा बोकेको भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक मोर्चा’ मा रहिरहे उनी अन्तिमसम्म, अन्य समाजवादी तथा पूर्व सहकर्मीहरुको आलोचनाबीच पनि।

 

फर्नान्डिज त्यस अर्थमा जन्मजात विद्रोहीसँगै दक्षिण एसियाली मामिलामा उनले अधिकांश मुलुकका विद्रोही शक्तिहरुसँग व्यक्तिगत र राजनीतिक सम्बन्ध राखिराख्ने गर्थे। बर्माका विद्रोही, त्यो आसपासका भारतीय राज्यहरु नागाल्यान्ड, कोहिमाका विद्रोही, नेपालका माओवादी र भुटानी विद्रोही सबैको आश्रय थलो हुने गर्थ्यो, उनको सरकारी निवास।

 

बिजेपी नेतृत्वको गठबन्धनमा जानुपूर्व उनी सन् १९८९-९० मा विश्वनाथप्रताप सिंह सरकारमा रक्षा तथा कास्मिर मामिलाका मन्त्री थिए। कास्मिरका विद्रोहीहरुसँग सम्बन्ध राखेको आरोप त्यहाँका गभर्नर जगमोहनले खुला रुपमा लगाउँथे फर्नान्डिजबिरुद्ध भने फर्नान्डिजले आफ्नै सरकारले नियुक्त गरेका गभर्नर वार्ताविरोधी र अत्याधिक राज्यशक्तिमा विश्वास राख्ने व्यक्तिका रुपमा चित्रित गर्ने गर्थे।

 

अन्तत: फर्नान्डिजकै दबाबमा जगमोहन पदमुक्त भए। तर, राजनीतिको विडम्बना, त्यसको ५ वर्षपछि जगमोहन र फर्नान्डिज दुवै बिजेपी सरकारमा सामेल भए, फर्नान्डिज सहयोगी दलका रुपमा। र, अल्जाइमर रोगबाट ग्रस्त हुनुपूर्व उनको त्यो राजनीतिक समीकरणमा परिवर्तन आएन।

 

सन् २००२ मा औपचारिक भारत भ्रमणमा गएका राजा ज्ञानेन्द्रसँग उनको चर्काचर्की जस्तै पर्‍यो। त्योबेला शाही नेपाली सेना माओवादीबिरुद्ध बाहिर आइसकेको थियो। र, प्रभावकारी हतियार खरिदको प्रक्रियामा थियो।

 

भारत सरकारको समर्थन माओवादीलाई रहेको आशंकाहरु थिए नेपालमा। भारत सरकार नेपाली सेनाले भारतमा निर्मित ‘इन्सास’ राइफल खरिद गरोस् भन्ने चाहन्थ्यो। नेपालमा उपल्लो तहका केही द्विविधाहरु थिए। पहिलो, इन्सासको गुणस्तरीयताबारे। दोस्रो, राज्यसँग भिडिरहेको माओवादीसँग नजिक रहेको भारतको सुझावमा हतियार खरिद उपयुक्त होला कि नहोला? यी नै ब्रिफिङका साथ दिल्ली पुगेका थिए राजा।

 

रक्षामन्त्री फर्नान्डिजले स्पष्टसँग आफ्नो एजेन्डा राखे। भारतीय सुरक्षाकर्मीहरु पनि इन्सास प्रयोग गर्छन्। ‘यदि यो भारतका लागि ठीक छ भने नेपालका लागि किन ठीक हुन सक्दैन?’

 

राजदूत भेषबहादुर थापा र सवारीमन्त्री पूर्णबहादुर खड्काको उपस्थितिमा राजा ज्ञानेन्द्रले त्यो विषयलाई बिश्राम दिने कोशिश गरे। ‘म संवैधानिक राजा हुँ, मैले मन्त्रिपरिषद्को सुझाव लिनुपर्छ,’ उनले भने।

 

त्यो विषयले राजनीतिक रुप लियो पछि र भारत सरकारले खुलेरै माओवादीको पक्षमा मध्यस्थता गर्‍यो, त्यसको दुई वर्षपछि।

 

फर्नान्डिजको अर्को पनि रोचक पक्ष छ नेपालबारे। गिरिजाप्रसाद कोइराला पहिलोपटक प्रधानमन्त्री भएको बेला उनी नेपाल आए, भारतीय प्रतिपक्षी सांसदका रुपमा। तिब्बतको स्वतन्त्रता पक्षधर रहिआएका फर्नान्डिज कोइरालाका एक सहायकसँग बिना कुनै प्रवेशाज्ञा सीमापारि पुगे र त्यसलाई आफैँ सार्वजनिक गरे। चीनका तत्कालीन राजदूतले कोइरालासँग कडा विरोध दर्ता गराए।

 

फर्नान्डिजको नेपाली माओवादीहरुसँगै भारतीय माओवादीसँग पनि निकटको सम्बन्ध र सहानुभूति रहेको कुरा उनी लुकाउँदैन थिए।

 

कन्नड, मराठी, हिन्दी, बंगाली, तामिल र अंग्रेजी भाषामा धाराप्रवाह बोल्न सक्ने फर्नान्डिज संसदमा प्रखर वक्ताका रुपमा चिनिन्थे। कांग्रेस र नेहरु परिवारका विरोधी उनी भन्ने गर्थे, ‘…. म नेहरुको एउटै भनाइसँग सहमत छु, कालो बजारियाहरुलाई सबभन्दा नजिकैको बिजुलीको खम्बामा झुन्ड्याउनुपर्छ।’

 

फर्नान्डिज मजदूर संघका नेता रहिरहे सधैँ मन्त्रीका रुपमा पनि। अर्थात राजनीतिक समीकरण जे जस्तो बन्न पुगे पनि एउटा क्षेत्रको अधिकारप्रति उनी सधैँ सम्वेदनशील र पक्षधर रहिरहे, त्यो थियो मजदूरहरुको अधिकार।

 

फर्नान्डिजको वैवाहिक जीवन त्यत्ति सुखद रहेन। पत्नी लैला कबिर फर्नान्डिजसँग अलग रहे ८० को दशकको अन्त्यमा, राजनीतिक सहयात्री जया जेटलीसँग सहजीवन बिताए उनले। तर बिरामी अवस्थामा पुगेपछि लैलाले जयालाई विस्थापित गरिन् र अन्त्यसम्म उनको देखभाल गरिन्। उनको अन्त्येष्टि विद्युतीय शवगृहमा हुँदैछ, छोरा सोन्नी न्यूयोर्कबाट फर्केपछि, बुधबार।

२०७५ माघ १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्