Rara Pharmacy

उत्पादन क्षेत्रमा लगानी गर्दै, ब्याजदरमा लचिलो हुनुहोस् : प्रम ओली

सेरोफेरो/काठमाडौं
उत्पादन क्षेत्रमा लगानी गर्दै, ब्याजदरमा लचिलो हुनुहोस् : प्रम ओली

४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधीहरुलाई आज बालुवाटरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।


प्रधानमन्त्री ओलीले बैंकहरुलाई मूख्य गरी उत्पादनमुलक, रोजगारीका अवसर सृजना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरुमा लगानी गर्न सुझाव दिए । “लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस् र त्यस्त क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस ” प्रधानमन्त्री ओलीले भने “सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहोस् र सबभन्दा कम ब्याज उठाउनुहोस् । बिलासिताका वस्तुमा लगानी कम गर्नुहोस् । ब्याज बढी गर्नुहोस् ।”


महासंघको टोलीले बैंक तथा वितीय संस्थाद्वारा घोषित चर्को ब्याजदर कारण निजी क्षेत्रलाई परेका समस्या र समाधानका लागि नेपाल सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा आयोजना गरेको महासंघले प्रधानमन्त्रीसँग साक्षात्कार गरेको हो ।


प्रधानमन्त्ती ओलीले व्यावसायीहरुको गुनासोका बारेमा बैंकहरुसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशन समेत दिएका छन् । “बैंकहरुले एउटा सर्तमा ऋण दिने र आफू खुशी ब्याज बढाउदै लैजाने कुरा उपयुक्त हुदैन । यसमा सरकारले नियमन गर्छ ” प्रधानमन्त्री ओलीले भने ।


प्रधानमन्त्री ओलीले सरकारले सबै क्षेत्रको एकाधिकार तोड्ने खुला प्रतिष्पर्धाको वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरे । सरकार उद्योगी व्यावसायीका समस्या समाधान गर्न सदा सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

२०७५ फागुन ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्