Rara Pharmacy

देशको परिवर्तनमा हामीले शरीरका अङ्ग गुमायौं, बदलामा गुमनाम परिचय

सीता वली /सुर्खेत
देशको परिवर्तनमा हामीले शरीरका अङ्ग गुमायौं, बदलामा गुमनाम परिचय

यसरी माओवादी भएँ

पार्टीको नाम महेन्द्र । कसैले महशुष भनेर पनि बोलाउँथे । भारतमा बस्दाको नाम संगम थियो । खास नाम चाहीँ मकरबहादुर बिष्ट ।


चौकुने गाउँपालिका १० सुर्खेतमा बुवा जंगबहादुर विष्ट र आमा ज्ञानादेवी विष्टको कोखबाट जन्मिएको घरको कान्छो छोरा हुँ । हाल वीरेन्द्रनगर नगरपालिका १ धारापानीमा बस्दै आएको छु ।


२०५२/५३ सालतिर गाउँमा बस्ने अवस्था थिएन । विशेष गरी मलाई राज्यपक्षबाट दिनु सम्मको शास्ती दिइयो । दिनमा तीन पटक सम्म सेना प्रहरी मेरो घरमा आउँथे र भन्थे तेरो दाई खोई ? कती जना माओवादीलाई पालेको छस् ?


त्यतीबेलामा एसएलसी पास गर्न सकेको थिएन । कक्षा ९ दोहार्‍याउँदै थिएँ । राज्य पक्षको यातना संग जुध्दै मैले टेस्ट सम्म त पास गरें तर एसएलसी पास गर्न सकिन । यातना सहनै नसकेर २०५५ सालमा म सिधै ‘जनमुक्ति सेना’मा प्रवेश गरें ।


जनमुक्ति सेना उत्पादन र भारतको जिम्मेवारी

करिब तीन वर्ष जती भारतमा बसेर जनमुक्ति सेना उत्पादनमा लागें । हरियाणा, हिमाञ्चल, पञ्जाब, चण्डिगढ लगाएतका विभिन्न ठाउँहरुमा हामीहरुले संगठन बिस्तार गरेका थियौं । नेपालमा युद्धमा परेर घाईते भएकाहरुलाई पनि उपचारको मेसो मैले नै मिलाउँथे । मलाई पार्टीले त्यस किसिमको कामको जिम्मा दिएको थियो । २०५९ सालसम्म भारत बसीयो ।


त्यो बेलामा धेरै शिर्ष नेताहरुसंग चिनजान भएको थियो । अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल पनि त्यहाँ हुनुहुन्थ्यो । उहाँले मलाई संगम भनेर चिन्नुहुन्थ्यो तर महेन्द्र विष्ट भनेर खासै चिन्नुहुन्नथ्यो । आजपनि संगम भनेपछि चिन्नुहुन्छ होला तर भेट भएको छैन । त्यो बेलामा रेणु कमरेड हिमाञ्चल राज्य समितीको ‘डिसिएस्’ हुनुहुन्थ्यो ।


भारतमा नेपाल भारत अखिल एकता समाज थियो । तर पछि त्यसलाई भारतले प्रतिबन्ध लगाएपछि अखिल भारत जनअधिकार सुरक्षा समिती भनेर गठन भयो । त्यसको अध्यक्ष लक्ष्मण पन्थ थिए ।


जब मैले हात गुमाएँ

IMG_4826

२०५९ साल । भारतबाट नेपाल फर्किएको थिएँ । म्याग्दीको बेनी बजारको भिडन्तमा परेर हात गुमेको हो ।

 

त्यहि नाका हुँदै भारतबाट जनमुक्ति सेनाको टोली आएको थियो ।


देशमा परिवर्तन आफ्नै कारणले आएको हो भन्न कुनै कञ्जुस्याइँ गर्नुपर्दैन । गणगन्त्र आएकै हाम्रै कारणले हो । नयाँ संविधान बनेको हाम्रै कारणले हो । यसमा म र मजस्ताको ठूलो योगदान छ । समावेशी प्रजातन्त्र आएको दशवर्षे जनयुद्धका कारण हो भन्ने मैले ठानेको छु ।


सेना समायोजन

IMG_4827

२०६३ साल मंसिर ५ गते बृहत् शान्ति सम्झौता भयो । त्यसपछि सेना समायोजनको प्रक्रिया अगाडी बढ्ने क्रममा जनमुक्ति सेना शिविरमा बसे । म भने बाहिर निस्किएँ । म र केहि अरु साथीहरुलाई वाई.सि.एल भनेर शिविरबाट निकालियो तर कुनै पनि सेवा सुबिधा दिइएन् ।


युद्धमा म एक्लै थिएन मेरो घरबाट पाँचजना थियौं । म, मेरो श्रीमती, दाजु, भाउजू र जेठो दाइको छोरी गरेर हामी एउटै घरका पाँचजना माओवादी अभियानमा सहभागी थियौं । अभियानकै क्रममा म, मेरी श्रीमती र दाइ घाइते भएका समेत भएका छौं ।


सशस्त्र द्वन्द्वका क्रममा सुरक्षाकमीसँगको दोहोरो भिडन्तमा मैले २०५९ सालमा हात गुमाएको छु । त्यसबेला पार्टीले उपचार गरिदियो । हात गुमे पनि मलाई कुनै गुनासो छैन । राजनीतिमा लागेपछि के गर्व हुँदो रहेछ भने परिवर्तन त हाम्रै कारण आएको हो नि !


जती नेताहरुले परिवर्तन हामीहरुले ल्याएका हौं भनेपनि आखिर हामी जस्ता वाइसिएल र जनमुक्ती सेनाले ज्यानको बाजी थापेर लडेको लडाईले यो परिवर्तन आएको हो ।


परिवर्तन, गुमेको अङ्ग र गुमनाम परिचय

हामीहरुले शरीरको अङ्ग गुमायौं र देशमा परिवर्तन आयो । त्यहि परिवर्तनको फाइदा केहि सिमित व्यक्तिहरुले लिइरहेका छन् । तर हामीहरु भने गुमनाम हुनपर्ने अवस्था आयो । न गासको टुङ्गो न बासको ।


तर नेताहरुले त्यो देख्दा रै‘नछन् । कहिले काहीँ सम्झँदा दुःख पनि लाग्छ । पार्टीमा लाग्दा त्यत्रो बलिदान दिइयो तर आज पहिचान गुमेको छ । जनयुद्धका घाइतेहरुको जीवनस्तर कस्तो छ र कसरी जिवन बिताइरहेका छन् भन्ने न राज्यलाई चासो छ न नेताहरुलाई ।


घाइतेको अवस्था र तारे होटलका कार्यक्रम

जनयुद्धका घाइतेहरुको नाममा थुप्रै पैसा आउँछ । तर नेताहरुले नै बिल मिलाएर खान्छन् । बास्तबिक घाइतेहरु गाउँघरमा कती छन् कती । तर नाम मात्रका घाइतेको तथ्याङ्क देखाएर महङ्गा होटेलमा कार्यक्रम शहरमै गर्छन् ।

 

केहि कार्यक्रममा जनयुद्धका घाइतेहरु बोलाएर खाना र नास्ता अनी ५ सय रुपैयाँ हातमा थमाएर उल्लु बनाएका छन् ।


त्यस्तो प्रवृत्तिको म घोर बिरोध गर्दछु । त्यसको साटो एकजना पनि जनयुद्धको घाइतेलाई सिप सिकाएर रोजगार दिलाएको भए देशमा ल्याएको यो परिवर्नन जस्तै आर्थीक परिवर्तन पनि हुनेथियो ।


अपाङ्ग जीवन र राज्यको वेवास्ता

वर्षौंदेखी मैले अपाङ्ग जीवन बिताईरहेको छु तर राज्यपक्षबाट केही पनि पाउन सकेको छैन । पार्टीले धेरै सहयोग गरेको पनि थियो । तर दीर्घकालीन रुपमा केही भएन भन्ने अलिकति गुनासो छ ।


मेरी श्रीमती युद्धमै घाइते भएकाले दुवै जना काम गर्न सक्दैनौं । लोकतन्त्रलाई जिवित राख्न सबै सरोकारवाला पक्ष गम्भीर भइदिए हुन्थ्यो भन्ने लाग्छ ।


श्रीमतीको कथा

IMG_4824

बसन्ता शाहि (विष्ट) । कालिकोटको कालिका गाउँपालिकास्थित अजबहादुर शाहीकी छोरी हुन् । उनले पढेकी छैनन् । पाँच छोराछोरीमध्ये उनीमात्र २०५९ सालमा माओवादी युद्धमा लागिन् । उनलाई पनि राज्यपक्षका सेना प्रहरीले दिनुसम्मको यातना दिएपछि युद्धमा होमीएकी रै‘छन् ।

 

मैले बसन्तासंग २०६३ सालमा जनवादी विवाह गरेको हुँ ।


रुकुमको खारामा भएको लडाइँमा परी २०६१ उनी घाइते भएकी रै‘छन् । २०६८ सालमा प्रमाणीकरणका क्रममा पाँच लाख लिइन् । हाल महिनाको ६२ सय बसन्ताको नाममा आउँछ । त्यो बाहेक हाम्रो घरको आयश्रोत अरु केहि छैन । एकछोरी र एक छोरा छन् । उनीहरुको भबिष्यको लागि चिन्ता लाग्छ ।


बसन्ताको देब्रे खुट्टामा गोली लागेको हो । देख्दा सकुशल देखीएपनि खुट्टा सुकेको छ । हिड्न मिल्दैन अहिले झन् घाउ पाकेको छ । कतै क्यान्सर हुनेहोकी भन्ने डर छ । उपचारको लागि खर्च छैन । राज्यले बेहोर्दैन ।


आफ्नै जीवनलाई फर्केर हेर्दा...

जीवनलाई फर्किएर हेर्दा कुनै अपसोच त छैन । राज्यले द्वन्द्वपीडितका लागि केही नसोचेकोमा भने दिक्क लाग्छ । कुनै संघ–संस्थाले कार्यक्रम गर्छन् हाम्रो घाउमात्रै बल्झाउँछन् ।


हामी तल्लो स्तरमा लड्यौं, ठूला नेताहरु आरामको जिन्दगी बिताइरहेका छन् । नेपाल आर्मी र प्रहरीको व्यवस्था पनि राम्रो छ तर जनयुद्धका घाइतेलाई कुनै सेवा सुविधा छैन ।


राज्यसंग आग्रह

राज्यले योगदानको मूल्याङ्कन गर्ने हो भने हामीहरु सन्तुष्ट हुन्छौं । अब हाम्रो परिपुरण हुनुपर्छ, औषधी उपचारको व्यवस्था राज्यको तर्फबाट हुनुपर्छ । गास बास र कपासको व्यवस्था हुनुपर्छ ।


हाम्रा छोराछोरीलाई पूर्णरुपमा शिक्षा दिनुपर्छ, ताकि हामीलाई कुनै पनि बेला युद्धमा होमिएको सम्झिएर पछुतो नलागोस् । यो भयो भने हाम्रो योगदानको कदर हुन्छ ।

२०७५ फागुन १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्