Rara Pharmacy

पानीजहाज कफी गफ !

मधुकुमार मरासिनी/सेतोपाटी

सहरमा कि त पानीजहाजको चर्चा छ कि त कोरियाना कफी गफको। आखिर म पनि कफीको पारखी नै हुँ पानीजहाजप्रति पनि उत्तिकै लगाव छ। गफ गर्न त जान्दिनँ, तर पनि विचार आयो, मेरा प्रिय पानीजहाज र कफी दुवैलाई मिसाएर गफ गरें भने त्यो पक्कै पनि दिलचस्पी गफ हुनेछ।

 

यत्ति नै हो नेपालमा पानीजहाज चर्चाबारेको कफी गफको पृष्ठभूमि।

 

कफीको चुस्की लिइरहेको भारतीय मित्र प्रसादले सोध्यो, ‘यो पानीजहाजप्रतिको तिम्रो मोह के हो?’

 

पुरानो प्रसंगबाट गफ सुरू गरें-

 

पुरानो फोटो जस्तै

 

प्रिय लाग्छन् मलाई पुराना कुरा पनि।

 

म सायद ४-५ कक्षा तिर पढ्थें होला। भूगोल विषयको कुनै नयाँ किताब हात पर्यो। पृथ्वीको बनोटसम्बन्धी च्याप्टर थियो जसमा लेखिएको थियो,‘पृथ्वी ७१ प्रतिशत पानी अर्थात् समुद्रले र २९ प्रतिशत जमिनले बनेको छ।’

 

ज्याग्दी खोला, आँधी खोला, सेती खोलादेखि काली गण्डकीसम्म सबै दिमागमा आए। तर आमडाँडा लेवा डाँडा, हरिनाश डाँडा, र भालु पहाडका अगाडि यी सबै खोला मलाई साना लागे, पानी त निक्कै थोरै लाग्यो। यिनै खोला मिसिएर त बन्दो हो समुद्र, कहाँबाट त्यति ठूलो होला र?

 

यो कसरी हुन सक्छ ? ठूलो प्रश्नले डेरा जमायो मनमा-

 

उतिबेला मेरो मनमा उब्जेको प्रश्न अहिले नारायाण वाग्लेले कोरियाना कफी गफमा उद्धृत गरेको शिवा रिउको कविता जस्तै थियो -

 

प्रश्न कोही कागजमा लेख्छन्

 

कोही लेख्छन् मानिसका हृदयमा

 

कोही लेख्छन् रित्तो आकाशमा

 

म प्रश्न लेख्छु

 

डिसेम्बरको हिउँमा

 

जब हिउँ पग्लिन्छ

 

प्रश्न बिलाउँछ।

 

फेरि दिमाग घोट्न थालें। रामायणमा बाँदर सेनाले लंकासम्म पुग्न समुन्द्रमा पुल बनाएको कथा याद आयो। अनि मन अलिक फकियो: पृथ्वीमा पानीको मात्रा चानचुन २९ प्रतिशतसम्म चाहिँ पुग्छ होला।

 

‘युरेका’

 

मैले पत्ता लगाएँ यो पक्का किताबको गल्ती हो। पृथ्वीमा पानीको मात्रा २९ प्रतिशत र जमिनको मात्रा ७१ प्रतिशत हो। भोलि गएर शिक्षकलाई देखाइदिन्छु किताबको यो गल्ती र आफूलाई जान्ने विद्यार्थीमा स्थापित गर्छु।

 

जब स्कुल पुगें, शिक्षकको जवाफले मेरो प्रश्न त्यसरी नै पग्लियो, जसरी शिवा रिउको कवितामा डिसेम्बरको हिउँ पग्लिन्छ।

 

प्रसाद बेस्सरी हाँस्यो। झण्डै कफीको कप नै पल्टाएको थियो।

 

तर ४ कक्षा लागेपछि मात्र ए, बि, सि, डि सिक्न पाइने हाम्रो जमानामा पहाडी कुनामा हुर्किंदै गरेको बालकको दुनियाँ बुझ्ने क्षितिज साँघुरो त हुने नै भयो।

 

मैले गफ अगाडि बढाउँदै लगें। सुन प्रसाद, हुर्किंदै बढ्दै जाँदा समुद्रको विशालताबारे पनि जान्ने सुन्ने मौका मिल्दै गयो! तर संसारमा यति धेरै पानी भएर पनि मेरो देशको भागमा एक टुक्रा समुद्र पनि नपरेको विषयले जहिले पनि  मनमा डेरा जमाई रहनथ्यो। खै किन हो आफ्नो देश भूपरिवेष्ठित छ भन्दा कतै त्यही परिवेश नै आर्थिक दुरुहताको कारण पो हो कि जस्तो लाग्थ्यो। जुन अहिलेसम्म पनि कायम नै छ।

 

तिमीलाई थाहा छ कि छैन, संयुक्त राष्ट्र संघले नै गरेको एउटा अध्ययनले अतिकम विकसित भूपरिवेष्ठित राष्ट्रहरूको व्यापार लागत उस्तै आर्थिक अवस्थाका तर गैरभूपरिवेष्ठित राष्ट्रको तुलनामा २० प्रतिशतले महँगो हुन्छ भनेको छ! यो पनि नेपालले वर्षेनी गुमाउँदै गएको निर्यात व्यापार र हामीले व्यहोरिरहेको व्यापार घाटाको एउटा प्रमुख कारक तत्व हो भन्नेमा मलाई रत्तिभर शंका छैन।

 

गफ गर्दै जाँदा म अलिक भावुक भैरहेको थिएँ…..

 

रेष्टुरेण्टमा सुगम पोख्रेलले गाएको सुमधुर गीत बजिरहेको थियो-

 

सम्हालिन्छ कहिले मन, कहिले त्यसै अत्तालिदिन्छ…

 

साँच्न खोज्छु आँखामा सपना, आँसुले नै पखालिदिन्छ।

 

प्रसाद कालो कफी मै रमाइरहेको थियो (बाइ द वे, ऊ मन कालो भएको मान्छे चाहिँ हैन नि ! )

 

प्रसादलाई सोधें

 

‘प्रसाद तिमीले अहिले पिउँदै गरेको कफीको स्वाद कस्तो छ?’

 

‘माइण्ड ब्लोइङ’, ‘भेरी अथेन्टिक’

 

बुझ्यौ, यो नेपालकै गुल्मी जिल्लामा उत्पादित कफी हो।

 

‘आर यू क्रेजी? म त इथियोपियन कफी पो भन्ठानेको’

 

हैन नेपालकै उत्पादन हो। तर हेर न, हामी प्रतिस्पर्धाको कसीमा खरो उत्रिन नसक्दा न त ठूलो मात्रामा उत्पादन गर्न सकेका छौं, न त निर्यात बढाउन नै।

 

‘के तिमीले भन्न खोजेको ढुवानी खर्च बढी भएर हो?’उनले प्रश्न गरे।

 

‘अवश्य पनि यो एउटा प्रमुख कारण हो’, मैले भनें।

 

हामीकहाँ भरपर्दो एवं वैकल्पिक यातायात पूर्वाधारको एकदमै कमी छ। नजिकको बन्दरगाहासम्म सामान पुर्याउन वा त्यहाँबाट देशभित्र ल्याउन नै २०-३० दिन लाग्छ! त्यसैले पनि हाम्रो  व्यापार महँगो छ।

 

यसै भएर नै मलाई सस्तो र भरपर्दो वैकल्पिक यातायातप्रति लगाव छ। मैले प्रसंग जोडदै भनें, 

 

तीन वर्ष अघि नेपालमा नाकाबन्दी लाग्दा, हाम्रो टोली बेइजिङको सरकारी छलफलपछि पेट्रो चाइनाको तेल डिपो हेर्न सिगात्से पुगेको थियो। त्यतिबेला हामीले ल्हासादेखि सिगात्सेसम्म रेलमा यात्रा गरेका थियौं।

 

‘तिब्बती पठारमा रेलको यात्रा !’ वाउ !

 

हो त। त्यसको रोमाञ्चकताको त वर्णन गरी साध्य नै छैन।

 

तर बुझ्यौ त्यति बेलै मलाई त्यो चिनियाँ रेल तनक्क तन्काएर नेपाल ल्याइहाल्न पाए, भनेर कम्ता हुटहुटी चलेको त थिएन।

 

‘अनि के तिम्रो देशले त्यो रेल नेपालसम्म तान्न खोजेकै हो त?’

 

अवश्य! अहिले सम्भाव्यता अध्ययन भैरहेछ! प्रविधिले नै नधान्ने भए अर्कै कुरो, नत्र आउँछ! हामी त अझै यही रेलमार्फत् चीन र भारतलाई पनि जोड्ने प्रयासमा छौं।

 

अनि यो जल यातायात त अहिले झन प्रमुख प्राथमिकतामा छ। तिम्रो प्रधानमन्त्री मोदी जीले गंगामा जल यातायात सेवाको उद्घाटन नै गरिसके, हामीलाई पनि कहिले गरौं भन्ने छटपटी छ। मान्छे पानीजहाजको टिकट कहिले काट्न पाइन्छ भनेर सरकारलाई र्याख र्याख पारिरहेछन्।

 

‘तिम्रो व्यग्रता म पनि बुझ्छु मधु’, प्रसादले भन्यो।

 

मैले थपें, एउटा भूपरिवेष्ठित मुलुकलाई जल यातायातबाट समुद्रसम्म जोड्ने कुरा कति महत्वपूर्ण होला भनेर त तिमीलाई बताई रहनै परेन नि प्रसाद! हामीले सोचे जसरी जल यातायात चलाउन सक्यौं भने अहिले नजिकको बन्दरगाहाबाट ३० दिनसम्म लाग्ने कार्गो अब १० दिनमै नेपाल आइपुग्न सक्छ! यसबाट हुने समय र पैसाको बचत, अनि दुर्घटना र बाटोमा हुने वैध- अवैध असुलीको बचत, वायु प्रदूषणमा कमी र इन्धनको बचत यी सबै हिसाब गर्‍यो भने पनि यसले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा धेरै नै निर्यात दिने देखिएन त।

 

मैले तिम्रो गंगा जलयातायात परियोजना दस्तावेजमा पढेको थिएँ कि १ लिटर इन्धनले स्थलमार्गबाट २४ टन, रेलबाट ८५ टन र जलमार्गबाट १०५ टन ढुवानी हुन सक्छ। स्थलमार्गबाट ढुवानी गर्दा प्रतिकिलोमिटर २ रुपैयाँ २८ पैसा लाग्ने कार्गो रेलबाट ढुवानी गर्दा १ रुपैयाँ ४१ पैसामा गर्न सकिन्छ भने जलमार्गबाट गर्दा १ रुपैयाँ १९ पैसामा गर्न सकिन्छ। अध्ययनहरूले देखाएका छन् कि सबै हिसाब जोड्दा पानीजहाजमा सामान ओसार्दा रेलभन्दा आठ र ट्रकभन्दा सत्ताइस गुणा कम शक्ति (इन्धन) खपत हुन्छ। 

 

यस्तै फाइदा हिसाब गरेर पनि होला, भारतमा पहिले जम्मा ५ वटा नदी मात्र जलयातायातको लागि तोकिएकामा अहिले त १०६ वटा नदी थपेर १११ पुर्याएका छौ क्या रे ! पूरा पूर्वोत्तर भारतभरी जलयातात संजाल विस्तार हुँदैछ भन्ने सुन्छु। त्यताको बजार पनि त लगभग ४०-५० करोड ग्राहक जतिको छ के रे! हामीलाई त तेस्रो मुलुक मात्र हैन, तिम्रै मुलुकको त्यो नयाँ बजार समात्न पाए पनि व्यापार विस्तारमा सघाउ हुन्थ्यो, हैन र?

 

प्रसादले सहमतिमा टाउको हल्लाउँदै थप्यो, ‘यति मात्र हैन मधु, फरक्का बाँधमा भारत र बंगलादेशबीच रहेको विवाद पनि लगभग समाधान भइसकेको छ। यसबाट त नेपालले पनि जलयातायातमार्फत् सिधै बंगलादेशसँग र बंगलादेश भएर तेस्रो मुलुकसँग पनि सहज पहुँच स्थापित गर्दै व्यापार गर्न सक्छ नि।’

 

मैले थपें, ‘तिम्रो गंगा नदीमा जलयातायात आयोजना त विश्व बैंकको ३७५ मिलियन डलरको सहयोगमा सञ्चालन गरिएको रै’छ। बंगलादेशमा पनि बैंकले ३६० मिलियन डलरकै जलयातायात आयोजना निर्माण गरिरहेको रै’छ। यस्तो बेला नेपाललाई चाहिँ किन नसमेटेको होला है?  आखिर गंगा नदीको पानीको स्रोत त हाम्रै कोसी, गण्डकी, कर्णाली, महाकाली नै हुन् नि!

 

‘हैन तिमी त पूरा अनुसन्धान गरिरहेका रै छौ। यसैमा पिएचडी  गर्दैछौ कि क्या हो?’ प्रसाद जिस्क्याउँदै थियो।

 

पिएचडी त हैन यसले मेरो पार्सियल हेड ड्यामेज चाहिँ गर्छ कि त? मैले जोक गरें।

 

दुबै जना मज्जाले हास्यौं।

 

रेष्टुरेण्टमा अर्को एउटा लोकप्रिय नेपाली गीतको धून बजिरहेथ्यो-

 

यहाँ देशको छ चिन्ता

 

तिमी माया माया भन्छ्यौ

 

साँच्चै नबुझ्ने हौ कि

 

नबुझ्ने जस्तै बन्छ्यौ।

 

वास्तवमा आफू कुनै बेला विश्व बैंकमा काम गरिसकेको हुँदा मैले बेला बेला हाम्रो क्षेत्रमा बैंकले के कस्ता आयोजनामा सहयोग गरिरहेको छ भनेर बैंकको वेबसाइट ब्राउज गरिरहन्थें।

 

गत वर्ष म न्यूयोर्कमै हुँदा एक दिन विश्व बैंकको वेबसाइट हेर्दै जाँदा हो मैले यो नेशनल वाटर वे १, नाम दिएर बैंकले सहयोग गरिरहेको गंगा जलयातायातको बारेमा थाहा पाएको।

 

अनि यही आयोजनाको प्रोजेक्ट डकुमेन्टमा, यो जलयातायात सञ्चालनबाट नेपालले पनि लाभ लिन सक्ने बैंकको अध्ययनले देखाएको र यो आयोजना भारतमात्र नभएर नेपाल, भुटान र बंगलादेश जोड्ने क्षेत्रीय  कनेक्टिभिटी आयोजनाको रूपमा विकसित हुने प्रशस्त सम्भावना देखाएको छ भनेर स्पष्ट लेखिएको थियो।

 

त्यो प्रोजेक्ट डकुमेन्टमा नक्सा पनि थियो। नक्साको मध्य भागतिर उत्तरतर्फ हानिएका तीन वटा धर्साहरू थिए, जसले नेपाल छुन्थे। ती धर्सा क्रमश: कोसी, (नेशनल वाटर वे ५८) गण्डकी (नेशनल वाटर वे ३७ ) र कर्णाली ( नेशनल वाटर वे ४०) नदीका थिए।

 

‘जब तिम्रो देशले नै ती नदीमा जल यातायात बनाउँदै छ भने हामीले पनि यसलाई नेपालसम्म किन नभित्र्याउने? त्यो देखेपछि त मलाई झन् हौसला पो मिल्यो त,’ मैले भनें।  

 

अनि त्यही लहडमा उतैबाट नेपालको ठूलो दैनिक पत्रिका कान्तिपुरमा एउटा लेख पनि पठाए - ‘सीमानामा जल यातायातको अवसर’ शीर्षकमा।

 

विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्षलाई इमेल लेखें, अनि नेपालमा पनि नीति निर्माणमा पहुँच राख्ने ठूला मान्छेहरूलाई फोन गरेर यसको सम्भाब्यताबारे मिमांशा गर्न अनुरोध गरे।

 

‘क्रेजी’, प्रसादले भन्यो।

 

म मुस्कुराएँ, महाकवि देवकोटाको पागल कविता याद आयो -

 

जरुर साथी म पागल

 

यस्तै छ मेरो हाल!

 

म शब्दलाई देख्दछु!

 

दृश्यलाई सुन्दछु!

 

बास्नालाई स्वाद लिन्छु!

 

आकाशभन्दा पातला कुरालाई छुन्छु!

 

ती कुरा,

 

जसको अस्तित्व लोक मान्दैन

 

जसको आकार संसार जान्दैन!

 

म देख्दछु ढुंगालाई पुल!

 

एक दिन जोन हेल्पटनको राणा प्रधानमन्त्री जंग बहादुरको बेलायत यात्रा बारेको किताब ‘जंग बहादुर इन युरोप पढ्दै थिएँ मेरा आँखा पेज नं १३३ मा टक्क अडिएँ। सन् १८५० मा बेलायत यात्रामा निस्कँदा नै जंग बहादुर पटनादेखि कलकत्तासम्म ११ दिन लगाएर गंगा नदीमा स्टिमर चढेर गएका रै’छन्।

 

‘उसो भए तिम्रो लागि यो अर्को युरेका हुन गयो, हैन त’, प्रसादले भन्यो। हो नि,  तर यो चाहिँ अलि गम्भीर नै विषय थियो।

 

पछि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सहमतिको प्रमुख बुँदामा जलयातायात समेटिएको पाएँ। दुवै देशका प्रधानमन्त्री स्तरबाटै नेपाल- भारतबीच जलयातायातलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने सहमति भएछ, खुशी लाग्यो।

 

यद्यपि केही थप संशय त बाँकी नै थियो मनमा।

 

‘के थियो र त्यस्तो संशय, जब कि यति उच्चस्तरमा सहमति भैसकेकोछ?’ प्रसादको स्वभाविक प्रश्न थियो।

 

मैले भनें, ‘हेर प्रसाद, भारत र नेपालका बीचमा सहमति धेरै हुन्छन् कार्यान्वयन चाहिँ धेरै कमै मात्र। जस्तो कि सन् १९९२ मा तिम्रा प्रधानमन्त्री पीभी नरसिंह राव र सन् १९९७ मा आई के गुजरालको नेपाल भ्रमणको बेला जारी संयुक्त वक्तव्यमा नेपालको समुद्रसम्मको यातायात पहुँच बढाउन कोसी, गण्डकी र कर्णाली नदीहरूमा जल परिवहन सेवा सञ्चालन गर्नेबारे अध्ययन गरिने विषय समेटिएको पाइन्छ। तर, अहँ, त्यो कहिल्यै कार्यान्वयनमा आएन। त्यही भएर हो, संशय रहने।’

 

उसले मलाई आश्वस्त पार्दै भन्यो, ‘अब चाहिँ पक्कै त्यस्तो हुँदैन। नेपालको त्रिवेणीघाट र गंगा नदी जोड्ने गण्डक नदीको ३०० किमी भागमा त डिपिआर तयार भएर हाम्रा यातायात मन्त्री नितिन गड्करीले जलयातायात आयोजनाको शिलान्यास नै गरिसके नि। अनि यी त भाषण मात्र गर्ने मन्त्री हैनन् डेलिभरि गर्ने मन्त्री हुन्।’उसले थप्दै गयो, ‘कोसीमा पनि डिपिआर तयार हुँदैछ।’

 

मैले जोडें, ‘तयारी त हाम्रो पनि तीव्र गतिमै छ। अस्ति भर्खरै हाम्रा प्रधानमन्त्रीज्यूले पानीजहाज कार्यालायको उद्घाटन गर्नु भयो। अब संस्थागत रूपमै काम अगाडि बढेको छ।’

 

‘बरु नेपालले अहिले यही मे २०१९ मा सञ्चालनमा आउने साहिबगंज टर्मिनल र डिसेम्बर २०१९ मा सञ्चालनमा आउने कालुघाट टर्मिनल उपयोग गरेर सतह मार्गबाट क्रमश: १५० किमीमा विराटनगर र १८० किमीमा वीरगञ्ज पुग्ने गरी जलयातायात उपयोग गर्न सक्छ नि’,प्रसादले नजिकैको संभावनाबारे बतायो।

 

मैले थपें, ‘तयारी त हाम्रो पनि त्यही हो। अझै त्रिवेणी नजिकैको  बेतिया र बगाहामा पनि तिमीहरूले पानीजहाज टर्मिनल बनाउँदैछौ भन्ने सुन्छु। बेतियाबाट वीरगञ्ज त जम्मा ६२ किमी मात्र छ क्यारे। अनि बगाहा- नारायणघाट पनि नजिकै छन्। त्यही भएर हाम्रो सोचाइ पनि पहिलो चरणमा समुद्रसम्म जोडिने उपलब्ध सबभन्दा नजिकको पोर्ट उपयोग गर्ने भन्ने नै हो। र सँगसँगै भारतले कोसी र गण्डकीका हाम्रो सीमानामा विस्तार गरेको जलयातायात नेपाल भित्रिने गरी पूर्वाधार निर्माण गर्ने।

 

हाम्रो धोको छ-  नेपालको राष्ट्रिय झण्डा फर्फराउँदै हाम्रो भूभागबाट हिँडेको पानीजहाज जलयातायातको बाटो हुँदै सोझै समुद्रसम्म पुर्याउने र, समुद्रबाट हाम्रो सामान र पर्यटक बोकेका पानीजहाज जलमार्गबाट सिधा नेपाल भित्र्याउने।’

 

प्रसादले मलाई आश्वस्त पार्यो, ‘मधु अब त्यो दिन टाढा छैन।’

 

हामीले थप एक राउण्ड कफी अर्डर गर्यौं।

२०७५ फागुन १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्