Rara Pharmacy

रुकुमेली महिलाको पञ्चेबाजा यात्राः संस्कृति संरक्षण देखि आम्दानीको स्रोतसम्म

मनिषा केसी/रुकुम
रुकुमेली महिलाको पञ्चेबाजा यात्राः संस्कृति संरक्षण देखि आम्दानीको स्रोतसम्म

२६ फागुन । पुरुषले मात्र पञ्चेबाजा बजाउने परम्परालाई तोड्दै बाजा बजाउन थालेका रुकुमका महिला अब्बल सावित हुँदै गएका छन् । उनीहरुको बजाउने कलाको विकास हुँदै जाँदा अहिले जिल्लामा हुने कार्यक्रममा पञ्चेबाजा बजाउन उनीहरुलाई भ्याई नभ्याई हुने गरेको छ ।


जिल्लामा हुने विभिन्न उत्सवका कार्यक्रममा यी महिलाहरु अघिअघि लागेर शोभा बढाउने गर्दछन् । कुनै औपचारिक समारोह, दिवस, मेला, महोत्सव, चाडपर्व, विवाह लगायतका कार्यक्रममा समेत राजनीतिक दल, सरकारी तथा गैरसकारी निकाय, सामाजिक संघसंस्थाहरूका साथै व्यक्तिगत रुपमा समेत पञ्चेबाजाका लागि यो समुहलाई बोलाउने गरिन्छ ।


जिल्लामा हुने सबैजसो कार्यक्रमको र्‍याली तथा जुलुसमा सबैभन्दा अगाडि तिनै पञ्चेबाजा बजाउने महिलाहरू हुन्छन् । एकै किसिमको पोशाकमा महिलाहरूले नृत्य सहित पञ्चेबाजा बजाउँदा हेर्नेहरूको भिड पनि उत्तिकै हुन्छ । उनीहरुले पछिल्लो पटक १०९ औं अन्तर्राष्टिय नारी दिवसमा समेत बाजा घन्काए ।


प्रायः पुरुषहरुले मात्र बजाउने पञ्चेबाजा यहाँका महिलाहरुले तीनवर्ष अघिदेखि बजाउन थालेका हुन् । सुरुमा सिक्दै गर्दा निःशुल्क रुपमा बाजा बजाउन अघि सर्ने यी महिलाहरु अहिले पूर्ण रुपमा सक्षम हुँदा आयोजकबाट पारिश्रमिक लिएर बजाउन जाने गर्दछन् । १० जना महिलाहरुका लागि पञ्चेबाजा नै आम्दानीको राम्रो स्रोत बनेको छ ।


कार्यक्रममा बोलाएर पञ्चेबाजा बजाउन गएमा विवाह तथा पुजाआजामा १५ हजारसम्म र सभा समारोहको र्‍यालीमा सहभागी हुँदा आठहजार रुपैयाँसम्म लिने गरेको स्थानीय हिरा परियारले बताइन । पुरुषहरु वैदेशिक रोजगारी लगायत अन्य कामको सिलसिलामा जिल्लाबाहिर जाने भएकोले यसको संरक्षणका लागि आफूहरु जुटेको उनको भनाई छ ।


पञ्चे बाजाहरुको लोप हुंदै जाने क्रममा यी बाजाहरुको संरक्षण गर्न सिर्जनशील महिला पञ्चेबाजा संरक्षण केन्द्रको स्थापना गरेर त्यसमार्फत पञ्चेबाजाहरु संरक्षण र प्रवद्र्धन गरिरहेको अध्यक्ष हिरा परियारले जानकारी दिइन । पछिल्लो समय पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेकोमा यस केन्द्र मार्फत महिलाले बाजा बजाउने र नृत्य समेत देखाउने भएकाले यसको लोकप्रियता बढ्दै गएको छ ।

Panchebaja_Mahila2
पञ्चेबाजा तालिम सिक्दै गर्दा आफुहरुले धेरै परिश्रम गर्नुपरेको आबद्ध महिलाहरु बताउँछन् । सुरुका केही समय पुरुषहरूले नै बाजा बजाउन सिकाइदिएको उनीहरुको भनाई छ । पञ्चे बाजा बजाउन सक्ने क्षमता विकास गरी सीपलाई प्रदर्शन गर्न पाएकोमा सबै सहभागी महिलाहरु खुशी छन् ।


पञ्चे बाजा बजाउन सक्ने सीप हासिल गरेपछि जुनसुकै कार्यक्रममा पनि माग बढ्दै गएको केन्द्रले जनाएको छ । सुरुमा आफूहरुलाई तत्कालीन स्थानीय विकास अधिकारी भरतकुमार शर्माले प्रोत्साहन र हौसला प्रदान गरेको अध्यक्ष परियारले बताइन ।


पञ्चे बाजा बजाउँदै विभिन्न कार्यक्रममा सहभागी हुँदा अरु धेरै कुरा सिक्न पाईएको र घर परिवारले समेत राम्रो साथ सहयोग गरेकोले यसमा आवद्ध सबै महिलाहरु सन्तुष्ट छन् । विशेषगरी यो पेशा पुरुषले मात्रै गर्नुपर्छ भन्ने परम्परागत धारणालाई परिवर्तन गर्दै पञ्चेबाजामा अब्बल बनेका सालघारीका यी महिलाहरु सबैका लागि प्रेरणाका स्रोत समेत बनेका छन् ।


सुरुमा आफूहरुले बाजा बजाउन थाल्दा समाजमा केहीले कुरा काट्ने गरेपनि अहिले त्यो सबै हराएको र प्रशंसा गर्नेहरु नै बढि रहेको महिलाहरू बताउँछन् ।

२०७५ फागुन २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्