Rara Pharmacy

कर्णालीको तीरैतीर

पञ्चदेव भट्ट
कर्णालीको तीरैतीर

२६ फागुन । अफिसको कामले जुम्ला जानु पर्ने भयो ! करिब चार दिन लामो यात्रा र बसाइको तय एकदिनमै भयो । पुस र माघको जाडो, एकदमै चिसो ठाउँ, त्यहीमाथि हिउँले ढपक्क ढाकेको संयोग ! हतार–हतारमा न्यानो लुगाको तयारी भइसकेपछि भोलिपल्ट हुने दिनभरिको यात्रा, सेता—सङ्ला डाँडापखेरा अनि नौलो अनुभव सम्झिँदै कोल्टे फेरें । मन भने जुम्लामा बिताइने चार दिनको कार्यतालिका कोर्नमै व्यस्त थियो । जसोतसो निद्रा पर्‍यो ।

 

सधैझैं बिहान ५ बजे रेडियो नेपालमा बज्ने बिहानी धूनसँगै निद्रा खुल्यो । हातमुख धोइवरि क्यामेरा अनि झोला तयार गरेर करिब ५ः३० बजे सुर्खेतबाट जुम्लाको लागि भनेर सहकर्मी साथीहरूसँग हिँडें । सुर्खेतबाट जुम्ला पुग्न गाडीमा करिब १०—११ घण्टा लाग्छ । अझ सार्वजनिक बसमा हो भने त १३–१४ घण्टा नै लाग्दो रहेछ । अँध्यारो नै थियो । हामीले मुख्य कर्णाली राजमार्ग नभई माथि गुराँसे अनि दैलेख भएर जाने निधो ग¥यौं । बिहान सबेरै भएकाले बाहिर पूरै अँध्यारो थियो । सुर्खेत उपत्यकाबाट उकालो लागिसकेपछि माथि छेडा भन्ने ठाउँ पुगिन्छ । त्यहाँबाट सुर्खेत उपत्यकाको दृश्य एकदमै मनमोहक देखिन्छ । उपत्यकाभरि बिजुलीबत्तीको झलमल्ल अनि पूर्वी डाँडामा सूर्यको बिहानी लाली ! आहा !!

 

करिब दुई घण्टाको यात्रापछि हामी कर्णाली राजमार्गमा मिसियौं । चियानास्ता गरी अगाडि बढ्यौं । कर्णाली नदी भने अझै देख्न सकेको होइन । चिसो बिहानीमा कुहिरोको सेतो च्यादर ओडेर कर्णाली नदी सुतेको प्रतीत हुन्थ्यो । म भने कतिबेला कुहिरो हट्ला र कञ्चन कर्णालीलाई आँखैअघि हेरूँला भनेर आतुर थिएँ । हामी अझै दैलेखमै गुडिरहेका थियौं । केहीबेरको यात्रापछि झलमल्ल घाम लाग्यो । सोचें— अब त कर्णालीमाथिको च्यादर हट्छ होला ! म धेरै धैर्य गर्न सक्ने अवस्थामा थिइनँ । नभन्दै त्यस्तै भयो, दुई–तीन मोडपछि हामी ओरालो लाग्यौं । कुहिरो माथि–माथि रहेछ, हामी भने कर्णालीको तीरैतीर पस्यौं । मैले कर्णाली हेर्न भ्याइनँ । एउटा आँखा बन्द थियो, अर्को आँखा क्यामेराको भ्युफाइन्डरबाट दृश्य कैद गर्नमै व्यस्त थियो । म हरेक पल कैद गर्न चाहन्थें । एक ठाउँमा बसेर अनुभव गर्ने अनि नियाल्ने समय थिएन । हरेक दृश्यहरू एकपछि अर्को गर्दै पछाडि छुट्दै थिए ।

 

एउटा सानो खोलाकिनारमा सडकको काम भइरहेको थियो । हाम्रो गाडी एकछिन रोकिनु पर्ने भयो । त्यही बेला एउटा अनौठो दृश्य देखें— एउटा भीमकाय चट्टान, त्यसको मुनि ओडार अनि धूवाँ निस्किरहेको । म गाडीबाट झरेर सरासर त्यो चट्टानतिर गएँ । भित्र त घरजस्तै रहेछ— भान्छा, सुत्ने खाट सबै । एउटा परिवार नै बस्दो रहेछ । सानोतिनो चिया व्यापार गरेर बस्दा रहेछन् बूढा बाजे । उनले छोरा विदेश गएको सुनाए, “क्यार्ने, बूढाबूढी थियौं, अहिले बूढी बिमारी भएर अलि माथि घरमा बस्छे, यहाँ अलि चिसो भएर ।”

 

त्यहाँबाट फर्किएर बाटो लाग्यौं । बाटोमा गाउँले जीवन र संघर्षका कथा देख्यौं । एक वृद्ध दम्पत्ती कर्णाली तीरमा ढुंगागिट्टी कुटिरहेको दृश्यले मन छोयो । भन्दै थिए, “छोराहरू विदेशमा छन् । खै, कमाउँछन् त होला । हामीले त पेट पाल्न यै ढुंगागिट्टी गर्नुपर्छ !”

हामीलाई कालिकोटको सुन्दर दृश्यले स्वागत गर्न लागिसकेको थियो । तल कलकल बगिरहेको कर्णाली, बीचमा कालिकोट सदरमुकाम मान्म अनि माथि सेता हिमाल । मनै लोभ्याउने दृश्य थिए । एकछिनमै हामी माथि मान्म पुग्यौं । सुन्दर पलहरू क्यामेरामा कैद गरेर हामी अगाडि बढ्यौं । केही किलोमिटर अघि बढेपछि पिली भन्ने ठाउँ पुग्यौं । १० वर्षे युद्धकालका बेला समाचारमा सुनिन्थ्यो— फलानो ठाउँमा यति सैनिकले वीरगति प्राप्त गरे, फलानो ठाउँमा यस्तो भयो, उस्तो भयो । पिली त्यस्तो ठाउँ रहेछ, जहाँ एक कहालीलाग्दो घटनासँगै १० वर्षे युद्धको अन्त्य भएको रहेछ । त्यही सम्झनास्वरूप पिलीलाई युद्ध पर्यटकीय क्षेत्रको रूपमा स्थापना गरिएको रहेछ । यो ठाउँमा पुग्दा मन एक किसिमले तरंगित भयो । मनमा डरलाग्दो समयको झल्को आयो । त्यो कहालीलाग्दो युद्धकाल सकिएको पनि १३ वर्ष भइसकेको छ । देशले चाहेको परिवर्तन पायो कि पाएन ? ती मृतकहरूको बलिदानले सम्मान पायो कि पाएन ? देशले समृद्धिको बाटो समात्यो कि समातेन ?

kalikot, manma, Karnali in forgroundManma, HQ of Kalikot

हामी कालिकोटबाट ओरालो झरिरहेका थियौं, जुम्लाले स्वागत गरिसकेको थियो । कर्णाली नदीमाथि बनेका काठका पुल देखिन्थे । ती पुलमाथि सजाइएका काठका मूर्तिले मलाई लोभ्यायो । मलाई त्यो काठका मूर्तिभित्र थोरै कला अनि धेरै रहस्य लुकेको भान हुन्थ्यो । स्थानीयलाई सोध्दा थाहा पायौं— बाईसे र चौबीसे राज्यकालका राजारानीको सम्झनामा ती पुल बनाइएका रहेछन् । कति पुलहरू गाउँलेले आफ्नो ठाउँ छोड्दाको सम्झनामा बनाएका रहेछन् । मलाई ती मूर्ति अझै रहस्यमय लागिरहे ।

Photo_4_काठे_पुल_माथि_निर्मित_Wooden Crafts, Jumla

दिउँसो करिब ४ बजिसकेको थियो । स्थानीय प्रसिद्ध व्यापारिक नाका नाग्मा हुँदै हामी अगाडि बढ्यौं । जुम्ला उपत्यका प्रवेश हुनु ठीक अगाडि तातोपानी भन्ने ठाउँ पर्दो रहेछ । अति सुन्दर ठाउँ आफ्नै अगाडि देखा परेपछि प्रायः धेरैले स्विट्जरल्यान्डको उपमा दिने गरेको सम्झना आयो । गाडीबाट ओर्लियौं । मैले फोटो खिच्न हतार गरिनँ, सडकभन्दा अलि तल झरें । एकटकले नियालें । लामो सास लिएँ । एकमनले त सोचे— समय यहीँ अड्किराखोस्, प्रकृतिले मलाई हेरिराखोस् अनि मैले प्रकृतिलाई— प्रेमी–प्रेमिकाले एकअर्कालाई हेरेझैं । अगाडितिर खेतको बीचैबीच कलकल बगिरहेको तिला नदी, छेउमा लहरै मिलेका घर, पर पृष्ठभूमिमा देखिने सेतो अग्लो हिमाल ! कसको मन मोहित नहोला र ! त्यहीबेला केही नानीबाबुहरू माथिबाट लुकीलुकी हेरिरहेका थिए । उनीहरूसित डोको र गाग्री थिए । मैले सहजै अनुमान लगाएँ— पक्कै मेलापात गर्न र पानी ओसार्न आएका होलान् । कुरा नगरी बस्न सकिनँ । सोधें, “नानीहरू कता हिनेको ?”

 

उनीहरूले भने, “पानी थाप्न जान लाको ।”

 

मैले कुरा अगाडि बढाएँ, “यो ठाउँ त यति सुन्दर छ, यहाँका मान्छे कति राम्रा होलान् है ?”

 

एउटी बहिनीले भनिहालिन्, “हैन दाइ, हामी त राम्रा छैनौं त । खोलाको पानी खान्छौं, देख्नमा नि यस्ता छौ, यी हातखुट्टा हेर्नुस् न ।”

 

भित्रभित्रै त मलाई कस्तो–कस्तो लागिरहेको थियो त्यो बैनीको कुराले तर मैले हाँस्दै भनें, “त्यस्तो हैन नि, मान्छे राम्रो–नराम्रो त मनले हुने हो नि । मन ठूलो हुनुपर्छ, राम्रो हुनुपर्छ अनि मान्छे त त्यसै राम्रो नि ।”

 

उनीहरू हाँसेमात्रै । मलाई ती नानीबाबुहरूको फोटो लिने मन लाग्यो । लजाइरहेथे तर लिएँ एउटा फोटो अनि देखाएँ उनीहरूलाई नै । हाँसे सबै एकछिन । अर्की बैनीले सोधिन्, “दाइ, अनि यो फोटोले के गर्नुहुन्छ ?”

 

मसित उत्तर त थिएन तैपनि भनें, “केही गर्दिनँ, आफैंसित राख्छु । जुम्ला यात्रामा भेटिएका राम्रा मनहरू भनेर सम्झिन हुन्छ नि ।”

 

फेरि हाँसे उनीहरू । अन्त्यमा त्यो ठाउँ अनि ती सुन्दर मनहरूबाट बिदा हुनु थियो, “ल राम्ररी पढ्नुहोला, असल मान्छे बन्नुहोला, बाईबाई ।” हामी हिँडेको धेरै बेरसम्म उनीहरूले हामीलाई हेरिरहे ।

Jumla with Tila river in foregroundNear Jumla - Patarasi with local kidsPhoto_7_नाग्मा_कालिकोट_एक_वस्Photo_8_पतारासी_जुम्ला_दृश्य_

एकैछिनमा हामी जुम्ला पुग्यौं । साँझ परिसकेको थियो । दिनभरिको थकानले गर्दा हामी सीधै होटेल गएर आराम गर्ने निधो गर्‍यौं ।

 

भोलिपल्ट बिहानै निद्रा खुल्यो । जुम्ला उपत्यकाभित्रका मुख्य ठाउँहरू मैले पहिले नै पत्ता लगाइसकेको थिएँ । यात्राको दोस्रो दिन अनि जुम्ला बसाइको पहिलो दिन चन्दननाथ मन्दिरका लागि भनेर हिँडें । बिहान एकदमै चिसो हुँदो रहेछ । चारैतिरका डाँडा हिउँले ढकमक्क थिए । धारा अनि सडकछेउको पानीसमेत जमेर बरफ भएको थियो । कान्जिरोवा होटेलबाट चन्दननाथ मन्दिर पुग्न पैदल करिब १५ मिनेट हिँड्नुपर्दो रहेछ । मन्दिर आकर्षक र कलात्मक शैलीमा बनाइएको रहेछ । एक स्थानीय पुजारीका अनुसार चन्दननाथ भनेका एकजना महापुरुष हुनुहुँदो रहेछ । उहाँले दत्तात्रेयको चरणपादुका स्थापना गर्नुभएको भएर मन्दिरको नाम नै चन्दननाथ रहेको जानकारी दिनुभयो । शिवपद्धतिअनुसार पूजा हुने यो मन्दिरमा कृष्णाष्टमी, शिवरात्रि र मार्गशीर्ष पूर्णिमाको दिन दत्तात्रेय जयन्ती गरी मुख्य तीन वटा पर्व मनाइँदा रहेछन् । चन्दननाथ मन्दिरसँगै भैरवनाथको मन्दिरसमेत छ । मन्दिरसँगै बाईसे–चौबीसे राज्यकालको इतिहाससमेत जोडिएको जानकारी उहाँले दिनुभयो ।Photo_9_चन्दननाथ_मन्दिर_जुम्ल

मेरो दिउँसोभरिको समय भने अफिसकै काममा व्यतीत हुन्थ्यो भने बिहान फुर्सदको समयमा मैले जतिसक्दो बढी जुम्ला एक्सप्लोर गर्ने, नियाल्ने र अनुभव गर्ने कोसिस गरें ।

 

जुम्ला बसाइको तेस्रो दिन बिहानै करिब ६ः३० बजे नै माथि डाँडामा गएर जुम्ला उपत्यका र हिमालको अवलोकन गर्ने भनेर हिँडें । बिहानको कठ्यांग्रिँदो चिसो, सबै सुतिरहेका थिए होलान शायद, बाहिर प्रायः सुनसान थियो । बिहानको चिसोले होला— मलाई साह्रै थकाइ लागेको थियो तैपनि म उत्साहित थिएँ । माथि डाँडामा पुगिसकेपछि जुन दृश्य देखियो, मेरो थकान एकैछिनमा हरायो । जुम्ला उपत्यकाको दृश्य एकदमै मनमोहक थियो । मैले धेरैभन्दा धेरै फोटो अनि भिडियो लिएँ अनि शान्त मनले अनुभव गरें । एकनासले बनेका ती घरहरू, बीचमा फराकिला फाँट अनि उत्तरतिर देखिने हिमालको दृश्यले मनै लोभ्यायो । बिहानी सूर्यको किरण पर त्यो हिमालमा ठोक्किँदा साँच्चै सुन्दर अनि मनमोहक देखिँदो रहेछ । मीठो अनुभवसँगै मेरो त्यो दिनको शुरुवात एकदमै रमाइलो ! म केही बेरपछि तल फर्किएँ ।Photo_10_जुम्ला_उपत्यका_1_Photo_11_जुम्ला_बजार_1_Mountain seen from Jumla valleyPhoto_13_जुम्ला_उपत्यका_वाट_देPhoto_14_जुम्ला_उपत्यका_वाट_दे

जुम्ला बसाइको अन्तिम दिन थियो । त्यही दिन ल्होसार नि रहेछ । होटेलका मालिक लामादाइले बिहानै ढोकामा आएर बोलाउनुभो र भन्नुभो, “आज बिहानको खाना हामी सबै सँगै खाने है ?”

 

हामीले ‘हुन्छ’ भन्यौं अनि सँगै खाना खायौं । मलाई त्यसरी सबै सँगै रमाएर खाएको एकदमै मन प¥यो । २०–२५ जना थियौं । विदेशी पर्यटकसँग मिसिएर शुभकामना आदानप्रदान ग¥यौं अनि रमायौं । नगरपालिकासँग सम्बन्धित बाँकी अफिसियल काम सक्काएर सुर्खेत फर्किने भनेर हामी होटेलबाट बिदा भयौं । सबै काम सक्काउँदा त्यस्तै १ बजिसकेको थियो । तर, एउटा महत्वपूर्ण स्थान बाँकी थियो घुम्नलाई । उपत्यकाको पश्चिमतिर अवस्थित छ भर्खरै निर्मित दुदुल चैत्य शान्ति स्तुपा । यो चैत्य हिन्दू अनि बौद्ध अनुयायीहरूको प्रमुख गन्तव्यस्थल रहेछ भने जुम्ला उपत्यकाको मनमोहक दृश्यसमेत अवलोकन गर्न सकिने ठाउँ रहेछ । हामी लगत्तै त्यहाँबाट सुर्खेतका लागि फर्कियौं तर फर्किंदा एकैदिनमा पुग्न सकिने अवस्था थिएन । कालिकोटको सदरमुकाम मान्ममा त्यो साँझ बास बसेर भोलिपल्ट सुर्खेत पुग्यौं ।Dudul Peace Stupa - Jumla

मनभरि अनुभव नै अनुभवका छायाप्रतिहरू थिए । हरेक क्षणहरूको झझल्को आइरह्यो । कर्णाली प्रदेशको पर्यटन सम्भावनालाई कसरी उजागर गर्न सकिन्छ, कसरी नयाँ सम्भावना अगाडि सार्न सकिन्छ भन्ने कुराले मलाई झक्झक्याइरह्यो । सम्पूर्ण यात्रा अनुभव, महत्वपूर्ण स्थान अनि मनमोहक दृश्यसहितको एउटा दृश्यचित्र (भिडियो) बनाएर सार्वजनिक गरें, जुन तपाईंले https://youtu.be/GElnyMKnWCA मा हेर्न सक्नुहुनेछ ।

 (१२खरीबाट साभार)

 

२०७५ फागुन २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्