Rara Pharmacy

माननीय देवी वलीको संघर्षको कथा, भैंसी गोठालोदेखि संसद भवनसम्म

देवी वली, कर्णाली प्रदेश सभा सदस्य
माननीय देवी वलीको संघर्षको कथा, भैंसी गोठालोदेखि संसद भवनसम्म

सामान्य जीवन शैली, तार्किक कुरा र मिलनसार व्यवहार देवी वलीका विशेषता हुन । पश्चिम रुकुमकी नेकपाकी नेता वलीले जिल्ला देखि कर्णाली प्रदेशसभासम्म आफ्नो गहकिलो प्रस्तुतीबाटै आफूलाई चिनाएकी छिन् । उनलाई थप चिनाउन सेरोफेरोले बाल्यकाल देखिका संघर्ष र जीवनका भित्री पाटोहरुलाई केलाउने प्रयास गरेको छ ।

 

भैंसीसंग बित्यो बाल्यकाल  

२०२८ असोज १४ गते बुबा धिर्जबहादुर वली र आमा उत्तिमकुमारी वलीको कोखबाट मेरो जन्म भएको हो । रुकुमको पुथा उत्तरगंगा गाउँपालिका (तत्कालिन जाङ गाविस ८ खारावाङ) मा जन्मिएकी हुँ ।

 

मेरो जन्मस्थल भौगोलिक रुपमा विकट हो । पुस माघमा हिउँ पथ्र्यो । कानेश्वर खेल खेल्न जाथ्यौं । घरबाट मकै लिएर जान्थ्यौ र भुटेर खान्थ्यौं । मेरो बुवा म छ महिनाको हुँदा बित्नु भएको हो । मलाई खासै बुवाको अनुहार ख्याल छैन । आमाले नै सुख दुःख गरेर पाल्नु भयो । 

 

बाल्यकाल बिताएको ठाउँ कसलाई रमाईलो नहोला ? त्यो उमेर पनि उस्तै । अहिले पनि रमाईलो नै लाग्छ । बाल्यकाल गाईभैंसी संग बितेको हो ।


रुकुमको पुर्वि क्षेत्र चुनवाङबाट हाम्रो बाजे खारावाङमा जानुभएको रै‘छ । गाईभैंसी पाल्ने जङ्गल जता छ त्यतै बस्ती बसाउने चलन हुन्थ्यो उ बेला । प्राय वलीहरुको बस्ती त्यस्तै जंगलको नजिकमा भेटिन्छ । तीन चार वर्षकी हुँदी हुँ, भैंसी गोठालो गएको, ठूली दिदी र भिनाजुहरुले बोकेर भैसीको गोठ सार्दै गरेको कुरा याद छ । त्यसपछीका धेरै कुरा थाहापाउँछु ।


घरदेखि टाढा हुन्थे गोठ । ९ वटा भैंसी थिए । चारवटा त कहिल्यै खाली भएनन् । धेरै भंैसी हुँदा बुकी चराउनको लागि डोल्पालीको बनमा लैजानुपथ्र्यौ ।


गोपारी स्कुल र लाकुरीको बोटमुनिको पढाई

गाउँमा स्कुल तीन कक्षासम्म थियो । ७/८ वर्षको हुँदा भर्ना भएको । कक्षा ३ सम्म पढें । मेरो बुवाहरु बेद पढ्ने भएकोले पढाइ प्रति सकारात्मक सोच थियो । छोराछोरीलाई पनि पढाउनुपर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो । मेरी माइली दिदी फत्ते वली रुकुमकोट मामाको घर बसेर पढ्नुभयो । अरु दुइवटा दिदीहरुले पढ्नै मान्नुभएन ।


बुवा त म पढ्ने उमेरमा हुनुहन्नथ्यो तर आमाले मलाई पढ्न जानेहोस्की त्यहि धौले बल्ल (गोरु) को गोठालो गर्नेहोस् ? भन्नुहुन्थ्यो । बरु स्कुल जान्छु भनेर कक्षा तर तीन कक्षासम्म पढ्दा विद्यालयको भवन थिएन ।

 

सार्वजनिक चौरमा लागुरीको रुखमुनि बसेर पढ्थ्यौं । पानी पर्‍यो भने मेडमको घरमा जान्थ्यौ । केशरमान रोका (काँग्रेसबाट बिजयी पुर्व सांसद) की दिदी पुर्णा रोकाय उहाँ दाङमा हुनुहुन्छ । उहाँले नै हामीहरुलाई पढाउनु हुन्थ्यो । अहिले पनि सम्झनुहुन्छ । हामीले दिएको शिक्षा राम्रो रै‘छ भन्नुहुन्छ । नाताले उहाँ मेरो मितेरी नाताको भदैनी हो ।


कालोपाटि नै सबथोक हो त्यो बेला । कापी कलम हुँदैनथ्यो । खरीले कालोपाटीमा लेखेर पढेको हो । कोइला पिसेर कालोपाटिमा मोसो लगाउने अनी खरीले लेख्ने अनी मेट्ने गरिन्थ्यो । कक्षा ३ मा पढ्ने बेलामा किताब आएका थिए । त्यो बेलामा गोपारी स्कुल भन्थे अहिले हिमालय माध्यामिक विद्यालय खारावाङ भएको छ ।


कक्षा तीन पास भएपछि टाढा जानुपर्ने । कक्षा चारको किताब पनि पाइएन । माइली दिदि पढ्नको लागि काठमान्डौं आउनु भएको थियो । उहाँलाई खोज्न पठायौं तर किताब पाइएन । घरबाट तीनकक्षा सम्म मात्रै पढ्न सकिने थियो । कक्षा चारबाट चारगाउँ भन्ने ठाउँमा आएर डेरा गरेर बस्नु पर्ने कि त रुकुमकोट आउनु पर्ने भयो ।


रुकुमकोटमा मामाको घर । दाई र दिदिले पनि मामाको घरमै बसेर पढेका हुनाले त पनि त्यहाँ गए दाइलाई दुःख हुन्छ भनेर बरु चारगाऊँ जा भन्नु भयो । मलाई त्यो चारगाउँ गएर डेरा गरेर पढ्न मन लागेन । अनि पढ्न छोडें । तीन चार वर्ष पढाई छोड्दा पनि दिदिले पढ भन्नु भएको थियो तर ठुलो भएँ पढ्न लाज हुन्छ पढ्दिन भनेर तर्किएँ ।

 

तीन पटकमा एसएलसी कट्यो

२०४६ सालमा बहुदल आयो । गाउँ कमिटी बनाउने भनेर दिदीले २०४७ सालका अखिल नेपाल महिला संघकोे विधान पठाइदिनु भयोे । मैले अक्षर त पढें तर अर्थ बुझिन । अनि उमेर गएपनि पढ्न पर्ने रैछ भन्ने महशुस भयो । १७ वर्षकी थिएँ । गाउँको स्कुल त्यो बेलामा ५ कक्षासम्म भएको थियो । किताब ल्याउन पठाएर त्यहि फेरी स्कुल भर्ना भएँ । केहि सरहरुले सिकाई दिनुभयो । मैले पनि मेहनत गरें र ५ कक्षा पास भएँ ।


दिदीको बिवाह रुकुमकोटमै भएको थियो । मलाई पढ्ने जांगर आयो । त्यसपछी रुकुमकोट आएँ दिदीकोमा । त्यतिखेर दिदी भिनाजु रुक्मेली माविमा पढाउनुहुन्थ्यो । कक्षा ६ को परिक्षा नपढेरै सात कक्षामा भर्ना भएर पढें । मैले एसएलसी २१ वर्षमा दिएँ तर पास भइन । तीनपटक लगाएर एसएलसी पास गरेकी हुं । अरु विषयमा पास भएपनि म्याथमा लाग्थ्यो ।


घरकामा आमाको प्रशासन कडा । गाउँमा लाग्ने स्थानिय मेलाहरु प्नि टाढैबाट हेरेर फर्कनु पर्ने बाध्यता थियो । गन्ने मान्ने मान्छेहरुले एकल महिलाका छोराछोरी छाडा हुन्छन् भनेर आरोप लगाउँथे । त्यस्तो भन्दा आमाले आफ्नो इज्जत जान्छ भनेर हामीलाई कडाई गर्नुहुन्थ्यो ।


६० वर्षे बुवाले १२ वर्षकीलाई भगाउनु’भो

पारिवारीक अवस्था कमजोर थियो । पछि माइली दिदीले जागीर खाने भएपछि सहयोग गर्नुभयो । हाम्रो दुई वटी आमा हो । ठूली आमाको मृत्यु भएपछि मेरो आमालाई बुुवाले विवाह गर्नुभएकोे रे । १२ वर्षको उमेरमा मेरी आमालाई चोरेर लगेको हो रे रुकुमकोटबाट । आमाको पनि आमाबुवा सानैछंदा बित्नुभएको रै‘छ ।


हामी दुई आमाबाट १४ भाइबहिनी छौं । ठूलीआमा बाट ६ भाई छोरा र ३ बहिनी छोरी गरी ९ जना र मेरी आमाबाट चार बहिनी एउटा छोरा । म घरकी सबैभन्दा कान्छि छोरी हुँ । मेरो बुवा ६० वर्षको हुनुहुन्थ्यो रे आमालाई भगाउने बेलामा त्यो बेलामा मेरो आमा जम्मा १२ वर्षको ।


बाल्यकालमा म सोझी थिएँ रे । लाटी भनेर बोलाउँथे । तर घरमा बोलाउने नाम बाउनी थियो । बाहुनको जस्तो लामो नाक भएकोले मलाइ बाहुनी भनेको रे । सोझो भएपनि अलि अलि बिठ्याँई भने गरिन्थ्यो । कांक्रा चोर्ने, घरको नौनी, घिउ चोरेर जंगलमा लगेर रोटि पकाएर खाइन्थ्यो ।


एकदिन पानी परेको बेलामा घांस काट्न जान्छौं भनेर घरबाट गयौं । तर रोटी पकाएर खांदा रात पर्‍यो । त्यसपछि के घांस काट्नु यत्तिकै आइयो । खालि घर फर्केको देखेर आमाले बेसरी कुट्नु भयो ।


एकपटक त्यसरी राती खायौं त्यसरी । रातिमा आगो बलेको देखेमा धन बल्यो वा भूत रहेछ भन्ने चलन थियो । त्यो बेलामा पनि आमाहरु कराउंदै आउनु भयो जङ्गलतिर । आगो निभाएर भागियो । अहिले महशुस हुन्छ, किन कांक्रा चोरियो होला । अहिले त आफ्ना छोराछोरी पनि ठूला ठुला भए । तिनीहरुलाई नचोर नढांट भनेर सिकाईन्छ तर त्यो बेलामा आंफै त्यस्तो गरिन्थ्यो ।


गुन्यो चोली पाउँदाको हर्ष

बाल्यकालमा चार्डपर्व रमाईलो नै लाग्थ्यो । दशै आएपछि भात खान पाईन्थ्यो । नभए मकैको खाजा, ढिडो र रोटि खानुपथ्र्यो । दशैमा भने भात खान पाईन्थ्यो । मेरो सम्झन लाएक खुसी के छ भने त्यो बेलामा ९ वर्षको उमेरमा गुन्यो चोलो दिने चलन थियो छोरीलाई । बुटटे चोली र गुन्यो दिनुभयो आमाले त्यो बेलामा यती खुसी लाग्यो की खुसीको सिमै रहेन । अनी हाम्रो भाषामा पटुकी लाई धरो भन्छन् । कती पटक धरो फुकाउंदै बान्दै हेदै गरे ।


फुली मुन्द्री दिने बेलामा पनि धेरै खुशी लाग्यो । परिवारमा कमाईदिने कोहि पनि थिएन । आमाले भैंसी पालेर कती हुन्थ्यो र खान ठिकै । गहना बनाइदिनु भनेर धेरै भनेपछि आमाले एउटा भैंसी बेचेर फुली र मुन्द्री बनाइदिनु भयो । त्यो बेलामा चौध पन्ध्र वर्षकी थिए । खुब खुसी भएकी थिएँ ।


म राजनीतिमा जोडिएँ

एसएलसी नदिंदै ९ कक्षा पढ्दा नै अनेरास्ववियुको प्रारम्भिक कमिटीमा जोडिए । विद्यार्थी संगठन धेरै नजिकको लाग्थ्यो । तर जिल्ला कमिटीमा पनि साथीहरुले राखीदिए । अनी २०५० सालमा अनेमसंघको अध्यक्ष हुनैपर्छ भन्ने दबाब आयो ।


कांग्रेसको बहुमतको सरकार थियो । त्यो बेलामा शिक्षकहरुलाई खुल्ला राजनीति गर्न प्रतिबन्ध थियो । मेरो दिदी फत्ते वली अनेमसंघको अध्यक्ष हुनुहुन्थ्यो । खुल्ला राजनिती गर्न नपाएपछि उहाँले मलाई अध्यक्ष हुन भन्नु भयो । भिनाजु नन्दलाल शर्मा पछि एमालेको जिल्ला अध्यक्ष हो । भिनाजु विद्यालयको गुरु र घरको पनि अभिभावक हो ।


नौ कक्षा पढ्दा खेरी नै अनेमसंघको अध्यक्षमा राखिदिए । उता पार्टिले पनि पेल्यो र यता दिदीले अध्यक्ष छोड्दा कसलाई बनाउने भन्दा म नै हुनुपर्ने भयो । संगठन गराउन गाउँमा जानु पर्ने मलाई एकदम उल्टो लाग्ने । आफू विद्यार्थी भएकोले आमा, दिदिबहिनीहरुसंग जांदा असजिलो लाग्थ्यो ।


अनेमसंघको प्रथम सम्मेलनबाट अध्यक्ष भएँ । संस्थापक अध्यक्ष सरिता वली हुनुहुन्थ्यो । अर्घाखांचिको उहांको श्रीमान् त्यहां पढाएर बस्ने । उहांले नै प्रेरणा दिएपछि कमिटी बन्यो । त्यसपछि पत्ते वली दिदि आयोजक कमिटी अध्यक्ष हुनुभयो । म तीन कार्यकाल अध्यक्ष भएँ ।


२०५१ सालमा एसएलसी दिएँ । २०५४ सालमा मात्र पास भएँ । त्यसपछि क्याम्पस पढ्न मुसीकोट आइयो । भिरबारी क्याम्पस भन्थे हालको मुसिकोट बहुमुखि क्याम्पसबाट नेपाली विषयमा आइएड, बिएड गरें । एमएड भर्ना गरेर बिचमै छाडे । यता एलएलबी पनि सकेकी छु ।

क्रमश..

(प्रस्तुति : सीता ओली)

२०७५ चैत १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्