Rara Pharmacy

पुरुष नेताले भने- विवाह नगर्नुस् !

देवी वली, कर्णाली प्रदेश सभा सदस्य
पुरुष नेताले भने- विवाह नगर्नुस् !

२०५७ सालमा विवाह भएको हो । अखिल नेपाल महिला संघ रुकुमको अध्यक्ष भएदेखी पार्टीले राजनीतिमा पुर्णकालिन बनायो । संगठन विस्तारको लागि तत्कालिन ४३ गाबिस मध्ये पुर्तिमकांडा बाहेक सबै ठाउँमा पुगें । 

 

पूर्णकालिन भएपछि पार्टीका नेताहरुले विवाह भनेको तपाई पछाडि पर्नु हो त्यसैले विवाहको बारेमा नसोच्नुहोला भन्नु हुन्थ्यो । समाज परिवर्तन गर्ने हो । समाजवाद ल्याउने हो । न्याय समानताका लागि लड्ने हो भनेपछि मेरो दिमाग पनि यस्तो बलियो बन्यो की विवाह भनेपछि मलाई रिस उठ्थ्यो । मलाई त्यसो भन्ने पार्टी नेताहरु पुरुष थिए । तर उनीहरु विवाहित थिए ।

 

त्यतिबेला अरु महिला कार्यकर्ता थिएनन् । मैले २०५५ तिर एउटा लेख लेखेकी छु । विवाह भनेको बन्धन हो भनेर । पछि दिदी भिनाजुले विवाहको प्रस्ताव ल्याउनु भयो । दिदीको घरनजिकै को केटा र आफूले पढाएको विद्यार्थी । एकप्रकारले दवाब पनि आयो भनौं ।

 

साथीको खाँचो परेको त्यो दिन
२०५६ सालमा साह्रै बिरामी भएँ । टाइफाइड भयो । मुसिकोटमा कोठा लिएर बस्थ्यौं । संगै बस्ने धेरै साथीहरु थियौं तर संयोग साथीहरु घर गएको बेलामा बिरामी भइयो । पार्टीका नेताहरुले सहानुभुति पनि राख्नुभयो । औषधी पनि गर्नुभयो । मलाई संधै कुरेर बस्ने कुरा पनि भएन ।

 

अरु कोठामा बस्नेहरुले ल्याइ दिएको तातोपानी र खाना पनि खान मन नलाग्ने तर खान मन लागेको बेलामा कसलाई ल्याइदे भन्नु ? त्यसपछि मलाई विवाहको महशुष भयो । कम्तिमा पनि विवाह गरको भए त श्रीमान्ले पानी तताएर दिन्थे होला भन्ने भयो ।

 

उमेरमा सन्चो नहुदा त जीवनसाथीको यति महत्व हुन्छ भने बुढेसकालमा स्वभाविक रुपमा खाँचो हुन्छ होला भन्ने लाग्यो । यो मनोविज्ञानबाट प्रभावित भएर दिदीहरुले राखेको प्रस्तावलाई मैले स्विकारें । अलि पहिला पनि विवाहको प्रशंग नचलेको होइन । त्यो बेलामा पनि पार्टीले नै प्रस्ताव ल्याएको थियो । तर नेता हुन भनेर हिंडेको विवाह गरेपछि पछाडि परिन्छ भन्ने सोचले प्रस्तावमा थप सोचिएन ।

 

२०५७ सालमा मेरो जनवादी विवाह भयो । रुकुमकोटको खुल्ला ठाउँमा मञ्च बनाएर पार्टीले नै आयोजना गरेर नेता शेरबहादुर केसीको प्रमुख आथित्यतामा विवाह भयो । केटालाई विवाह पहिला पनि देखेको थिएँ तर मन परेको थिएन । संगत हुंदै जाँदा उहाँको व्यवहारले मन जित्यो ।

 

विवाह पछिको सम्बन्ध : खासै झगडा परेन
विवाहपछिका दिनहरु राम्रै भयो । श्रीमान् प्रँबिको शिक्षक । तलवले सबै अभाव टर्दैनथ्यो । यद्यपि पुर्‍याइन्थ्यो । संकटकाल लागेपछि भने समस्या आयो । पहिला एउटा शिक्षक पछि राजनीतिकर्मीसंग विवाह गरेपछि उहाँको जीवन पनि राजनीतिसंग जोडियो । काजमा रुकुमकोट मै बस्नु भयो ।

 

विवाह गरेको एक वर्षमै बच्चा जन्मियो । दुई वटा छोरा छन् । एउटन १८ वर्ष भयो । १२ मा पढ्छ विज्ञान विषय लिएर, काठमाण्डौंमा । कान्छो छोरा कक्षा ७ मा पढ्दै छ ।

 

कामको विभाजन नमिलेर महिलालाई हिंसा हुने गरेको जस्तो परिस्थिती मैले भोग्न परेन । यद्यपि गाउँघरले त त्यो अनुमान गरेकै थियो । विवाह गर्ने बेलामा उहांकै साथीहरुले, परिवारले पनि अरु बुहारीले जस्तै व्यवहारको अपेक्षा गरेका थिएनन् मबाट । उहाँलाई पनि भन्थे’रे हिजोसम्म आमाको हातबाट पकाएको खाएको मान्छे अब त नेतासंग विवाह गरेपछि आफै भाडा माझ्ने खाना पकाउने त होला भनेर ।

 

त्यो हिसाबले कामको बिभाजन कहिल्यै भएन । त्यस्तो भएको भए म राजनीतिमा टिक्न सक्दिनथें पनि होला । यो ठाउँसम्म आउनको लागि उहाँको पनि उत्तिकै देन छ ।

 

बोलिचाली बन्द हुने खालको झगडा पनि भएको छैन । भयो भने पनि एक घण्टापछि राम्रो सम्बन्ध भइहाल्छ । विवाद भनेको बच्चाको कारणले हुने गथ्र्यो । शिक्षक मान्छे दुई तीन महिनामा भेट हुन्थ्यो । बच्चाले केहि चिज माग्दा खेरी यत्ति त ल्याइदिएको भएपनि हुन्थ्यो नी भन्ने जस्तो मलाई लाग्थ्यो । तर उहाँले अनावश्यक खर्च गर्नुहुन्न भन्ने कुरामा अडान राख्नुहुन्थ्यो ।

 

छोराहरुले गल्ती गर्दा म आफूले कहिले गाली गर्थें । कहिले एकदुई झापड लाइन्थ्यो पनि तर बुवाले ठुलो स्वरले बोल्दा पनि मलाई रिस उठ्थ्यो । बच्चा त मेरा मात्रै हुन जस्तो लाग्थ्यो मलाई ।

Devi Oli 1

राजनीतिक जीवन
म राजनीतिमा आउनुमा घर परिवारकै प्रेरणा हो । दिदी भिनाजुको प्रेरणाले । दिदीले बहुदल आएपछि पार्टीको विधान पठाई दिनु भयो । त्यो विधान नपठाएको भए पढाई पनि अगाडि बढ्दैनथ्यो की !

 

शुरुमा अनेमसंघको गाउँ कमिटी अध्यक्ष भएँ । त्यसपछि २०५१ सालमा जिल्लाको अध्यक्ष भएँ । २०५४ देखी २०५९ सालसम्म अनेमसंघको केन्द्रिय सदस्य भएँ । तीन कार्यकाल जिल्लाको अध्यक्ष त्यसपछि २०५१ देखी २०६६ सालसम्म एमालेको जिल्ला कमिटी सदस्य भएर काम गरें ।

 

लगातार जिल्लाको सदस्य भएँ तर माथी दाबि गर्नुपर्छ भन्ने मनमा आएन । पद भन्दा काम ठूलो कुरा हो जस्तो लाग्थ्यो । २०६७ मा जिल्लाको उपाध्यक्ष भएँ । २०६९ सालमा राष्ट्रिय प्रतिनिधी परिषद्को सदस्य भएँ । हाल कर्णाली प्रदेशको सदस्य छु ।

 

हार्नकै लागि प्रत्यक्ष चुनाव लडें
२०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा रुकुम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ उम्मेदवार भएँ । तत्कालिन अवस्थामा रुकुममा प्रत्यक्ष निर्वाचनमा उठ्नु भनेको हार्नको लागि तयार भएर जाने हो । जित्ने कुनै सम्भावना थिएन् । तर पनि पार्टीका निम्ति भोट संरक्षण गर्नु नेताको दायित्व पुरा गरेकी हुँ ।

 

२०७४ मा सिस्ने गाउँपालिकामा वडा सदस्यमा निर्वाचित भएँ । जिल्ला समन्वय समितिको नेतृत्व गर्नु पर्ने भयो भने भन्ने हिसाबले पार्टीकै योजनामा उठेकी हुँ । राज्य पुर्नसंरचनाको कुरा चलिरहँदा सिस्ने गाउँपालिका पश्चि रुकुममा पर्छहोला भन्ने हामीलाई लागेको थियो । तर भुगोल बिभाजनमा सिस्ने लाई पुर्वी रुकुमा पारे ।

 

पुर्व र पश्चिमा दोहोरो बसोबास भएका व्यक्तिलाई भूगोल छनोट गर्ने अवसर दियो पार्टीले । मेरो घरबास खलङ्गा भएकोले पनि व्यवहारिक रुपमा सजिलोको लागि नामावली पश्चिममा सारें । त्यसपछि समानुपातिक तर्फबाट कर्णाली प्रदेशको प्रदेश सभा सदस्य भएँ ।

 

राजनीतिक इमान्दारिता र सामाजिक मुद्दा
म राजनितिमा लाग्दाको समाज र अहिलेको समाजको समिक्षा गर्दा केहि कुरा त पुरा भएका छन् । निराशाजनक स्थिती छैन । तर आधा मुद्दा अहिले पनि तिनै छन् । जुन बिडम्बना हो । त्यो बेला हामी राजनीतिमा लाग्दाको इमान्दारिता, पार्टीप्रति, कार्यकर्ता प्रति, संगठन, नेतारु प्रतिको इमान्दारिता अहिले छैन ।

 

कोहि कोहिले भन्थे त्यो बेलामा एसएलसी पास भएको छोरी मान्छे राम्रो जागीर खान छोडेर यस्तो राजनीतिको फोहोरी खेलमा किन लागेको ? तर आफ्नो तर्फबाट कहिल्यै पार्टीको विश्वासलाई चुक्न दिइन । अहिले इमान्दारिता घटेर गएको छ । नेता धेरै हुने र अस्वस्थ प्रतिस्पर्धा धेरै हुने गरेको छ । यसले पार्टीको आन्दोलनलाई कमजोर बनाएको छ । पार्टीमा धेरै लाग्ने तर नेतृत्व थोरैले लिने र नेतृत्व पनि सर्वसम्मत नै गर्नुपर्दछ ।

 

राजनीतिमा महिला : बच्चा जन्माउँदा संरक्षण चाहिन्छ
राजनीतिमा महिला र पुरुषलाई अगाडि बढ्ने सन्दर्भमा तीनवटा कुराको नजिकबाट अनुभुती गरेकी छु । बच्चा जन्मने अवस्थालाई पार्टीका अरु पुरुषहरुले महिला पछाडि पर्ने अझ भनौ एकहिसावले हराउने अबस्था हो भनेर बुझ्दछन् । बच्चा जन्मियो अब उहाँलाई बिदा गर्दिम् भनेर धेरै पटक प्रस्ताव आएको हो मेरै हकमा पनि ।

 

पहिलो कुरा पार्टीले विवाह गरिदिएको हो । अर्को कुरा म पुर्णकालिन कार्यकर्ता हो । बच्चा जन्माउने र हुर्काउने प्राकृतीक प्रकृया हो । बच्चा भएपछि केहि समय म स्याहारमा लागें । त्यसलाई पनि पार्टीको काम मानेर मुल्याकंन गर्नुपर्दछ भनेर मलाई हटाउनु पाउनु हुन्न भनेर मैले अडान लिएँ । केहि पुरुष साथीहरुले पनि समर्थन गर्नुभयो ।

 

बैठकमा तिन पटक सम्म अनुपस्थित भएमा कमिटिबाट हटाउने भन्ने नियम थियो । मैले दाबी गरेरै आफ्नो निरन्तरतालाई टुटाईन । महिलालाई सबै कुराबाट समस्या छ ।

 

पार्टीकै काममा झट्ट निस्केर हिंडौं भने आफूसंग पैसा हुंदैन । पैतृक सम्पत्ति भएपनि थोरै । महिलाको नाममा प्राय पैतृक सम्पत्ति नै हुंदैन । त्यसैले गारो हुन्छ महिलालाई ।

 

विवाहपछि महिलालाई बच्चा जन्माउने कुरा र हुर्काउने कुरालाई पार्टी संगठनकै रुपमा मुल्याकंन हुनुपर्दछ । त्यहि बेलामै हो महिलाहरु हराउने भनेको । त्यसपछि विवाहपछि बाहिर निस्कँदा अनेक लाल्छना लगाउने र परपुरुषसंग सल्केको आशंका गर्ने श्रीमान् भएपछि महिला राजनीतिमा टिक्दैनन् ।

 

दुःख–सुख
जीवनमा दुखको क्षण भनेको एकपटक विरामी परेको थिए । करिब नौ दश वर्षको उमेरमा । एक्कासी हात खुट्टा नै नचल्ले भएको थियो । त्यो बेलामा मरिन्छकी भन्ने ठुलो पिर पर्‍यो ।

 

त्यसपछि ०५० सालमा मदन भण्डारीको हत्या भयो । त्यो बेलामा हत्याको खबर सुन्ने बेलामा खासै केहि भएन । तर पार्टीले प्रत्येक जिल्ला एवं मुख्य शहरमा भिडियो देखाउने कार्यक्रम राखेको थियो । त्यो बेलामा विद्यादेवी भण्डारी रोएको, दाहसंस्कार गरेको देख्दा सारै दुःख लाग्यो ।

 

खुसीको क्षण सांसद भएपछि हो ।

 

स्कूल जस्तो संसद भवन
सांसद भएर प्रभाबकारी काम गर्न नसकेको जस्तो अनुभुती भएको छ । कार्यक्रम, नीति, बजेट परम्परागत जस्तै लागेको छ । एक वर्षको अनुभवमा खासै चित्त बुझेको छैन । एकहिसाबले क्याम्पस पढ्न रुकुमबाट सुर्खेत झरेको जस्तो । कक्षा लिन गएको जस्तो अनुभूती छ संसद भवनको ।

 

समानुपातिक सांसदहरुलाई बजेटमा बिभेद छ । २४ वटा निर्वाचन क्षेत्रलाई आधार मान्दाखेरी समानुपातिक तर्फका सांसदहरुलाई बाइपास गरीएको छ । संसद विकास कोष भएको भए सामान्य कामहरु पनि गर्न सकिन्थ्यो । अहिले त खाली कतै साक्षि त कतै पुलको भूमिका मात्रै छ ।

 

(प्रस्तुति : सीता ओली)

 

यो पनि पढ्नुहोस् :

माननीय देवी वलीको संघर्षको कथा, भैंसी गोठालोदेखि संसद भवनसम्म

२०७५ चैत ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्