Rara Pharmacy

अन्धविश्वासले छोरीप्रति निर्दयी बनेका आमा’बा

देवी ओली
अन्धविश्वासले छोरीप्रति निर्दयी बनेका आमा’बा

मानव सभ्यताको विकास क्रमलाई हेर्दा हाम्रा पुर्खाहरु जंगलमा घुमन्ते जीवन बिताए । गीठा, भ्याकुर खाने र रुखका बोक्राहरुले जीउ छोप्ने, ओडारमा बास बसेको इतिहास छ । त्यतिबेला कुनै धर्म थिएन । कुनै जात पनि । त्यस समयको हामी अहिले कल्पना मात्र गर्न सक्छौं ।


मानव सभ्यताको इतिहासमा आदिम साम्यवादी युग पनि थियो । जुन युगमा कुनै भेदभाव, असमानता अनि उचनिच पनि थिएन । जब आदिम साम्यवादी युगको अन्त्य भइ सामान्तवादी युगको सुरुवात भयो तब सत्ता, सम्पत्ति र शक्ति आर्जन गर्नका लागि मान्छे मान्छे बीच भेदभावका खाडलहरु रचिए । सत्यताको ढाकछोप, जालझेल र भ्रमहरुको सृजना गरिएको पाइन्छ । त्यो समयमा पृथ्वी गोलो छ भन्ने मान्छेलाई पागलको संज्ञा दिने समय हो । जुन कुरा आज विज्ञान पुिष्ट गरिसकेको छ । साँच्चै पृथ्वी गोलो नै छ ।


त्यस्तै कुरो हो उमेर पुगेकी छोरीलाई रजस्वला हुनु पनि । के रजस्वला हुँदा घरपरिवारसँग सँगै बस्दा कुनै अनिष्ट भएको छ ? किन राखिन्छ महिनावारी हुँदा अलगै छाउगोठमा छोरी तथा महिलालाई ? जहाँ सर्पको डसाइ, बाघको झम्टाइ र धुवाँको गुम्साइका कारणले ज्यान समेत जान्छ । यस्तो डरलाग्दो कालको घरमा किन पठाउनु हुन्छ आमा बुवा ?


छाउगोठमा गएकी छोरीको लाश भेटाउँदा र सामुहिक बलात्कारमा परेको देख्नु पर्दा कति मुटु दुख्यो होला ? मन कति छियाछिया भयो होला जन्म दिने आमा बुवाको अनि आफन्तहरुको ? हामी सामाचार सुन्ने मानिसहरुको समेत मुटु चस्स गर्छ । भाव विहव्ल हुन्छौं । महिलाको शरीरमा हुने प्राकृतिक विशेषता हो महिनावारी । छोरी मान्छेको बच्चा जन्माउने अवस्थाको परिपक्ताको संकेत हो महिनावारी हुनु भनेको । यस्तो प्राकृतिक कुरा पहिला आमा बुवाले नै बुझ्नु पर्छ अनि समाजले । त्यसपछि शुरु गर्नपर्छ छाउगोठ र अन्धविश्वमा जेलिएका मनहरु भत्काउन ।


आजको विज्ञान र प्रविधिको युगमा यहाँका देवताहरु पनि विज्ञानमा विश्वास गर्ने भइसके जस्तो लाग्छ । किनभने आजभन्दा २५/३० वर्ष पहिलेको जस्तो गरी देवताप्रति विश्वास गर्ने मानिसहरुको संख्या पनि धेरै पाइदैन । गाउँघरमा उहिले राँके भुत, ठुइले भुत, सुंगुरे भुतको कुरा पनि त निकै सुनिन्थ्यो । खोई त सुनिदैन आजभोली । यी सबै भ्रम हुन अन्धविश्वास हुन यसमा कुनै सत्यता छैन । यो कुरा सबैलाई बुझाउन ढिला भइसक्यो ।


यदि हामी सचेत मानव हौं भने अछामको छाउगोठमा सुतिरहेकी एक किशोरीको खसेको सर्पले डसेर ज्यान गयो र कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगर सुर्खेत नजिकैको गाउँपालिको छाउगोठमा एक किशोरी सामुहिक बलात्कारमा परिन भन्ने सामाचार सुनिसकेपछि यस्ता कुरिती कुसंस्कारप्रति भित्रीमन देखि नै घृणा जाग्नुपर्छ छाउपडी प्रथाप्रती ।


कुनै समयमा हाम्रो समाजमा सतीप्रथा थियो जुन प्रथालाई प्रधानमन्त्री चन्द्र सम्शेरले अन्त्य गरेका थिए । विधवा महिलाले सेतो पहिरन पहिरिन पर्ने कुसंस्कार आज पर्यन्त छ तर अधिकांस विधवा महिलाकै अभियानबाट रातो पहिरन तथा बस्त्रको प्रयोग शुरु भएको छ । जसका कारण समाजमा कुनै अनिष्ट परेको मलाई थाहा छैन ।


त्यसैले आज विज्ञान र प्रविधि अनि शिक्षा र चेतनाको उपहास हुनेगरी मानव जीवन लिलाको अन्तेष्ठी हुने खालको कहाली लाग्दो छाउगोठमा नबसाउँ । अन्धकारमय कुसंस्कारको जगेर्ना नगरौं । देवता रिसाए भने पनि मानिसको ज्यानै त लिदैनन होला नि । मानविय नाताले मानवलाई बचाउनु पर्ने मानवकै कर्तव्य हो । तर घर परिवारले अनि आमा बुवाले त्यो अवस्थाको सृजना किन गरिदिनु हुन्छ ?


आज २१ अ‍ोें शताब्दीको युगमा आफनै छोरी बुहारीप्रति निर्दयी बनेर छाउप्रथाको जगेर्नामा नलागौं भन्ने आमा बुवासंग मेरो बिन्ति छ । आफनी छोरीलाई शिक्षा, शक्ति सम्पत्ति, सुसंस्कार र घर देखि समाज सम्मको सत्ताको मालिक बनाएर अनि आँट दिएर खुशी र सुखी छोरी बनाँउ । छाउगोठ र छाउप्रतिको अन्धविश्वास भत्काउँ, छोरी बुहारीलाई बचाउँ ।


लेखक कर्णाली प्रदेश सभा सदस्य हुन् ।

 २०७५ चैत २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्