Rara Pharmacy

सुनिताको अध्ययनका लागि सहयोग जुट्दै

सेरोफेरो/सुर्खेत
सुनिताको अध्ययनका लागि सहयोग जुट्दै

९ बैशाख । मंगलगढी प्राथामिक विद्यालय सुर्खेतबाट पाँच कक्षा पास भएकी वीनपा १० की सुनिता विकको अध्ययनको लागि विभिन्न व्यक्तिहरुले सहयोग प्रदान गरेका छन् ।


बुवाले अर्कैको श्रीमति लिएर कालापहाड गएर बिचल्लीमा परेपछि परिवारको गर्जो टार्न आमाले मजदुरी गर्नु पर्ने भएकोले डेढ वर्षको बहिनी बोकेर पढिरहेको समाचार सेरोफेरो अनलाइनमा प्रकाशित भएपछि सहयोग प्राप्त भएको हो ।


सहयोग गर्नेहरुमा दाङका पत्रकार तथा व्यवसायी देविराम कुसारी, जाजरकोटका पत्रकार जनक केसी र मुगुका समाजसेवि अज बहादुर शाहीले जनही पाँच/पाँच हजार सहयोग गरेका हुन ।


उक्त रकम अनलाइनका कार्यकारी सम्पादक गणेश वलीले सोमबार विद्यालयमा पुगेर सम्बन्धीत वडा सदस्य सुनिता चौधरी, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जागुराम चौधरी, बालकल्याण समितीका बाल अधिकार स्रोत व्यक्ति डम्बर बहादुर रोकाएको रोहबरमा सुनिता र उनको आमा सिता विक तथा विद्यालयको प्रध्यानाध्यापक शान्ति ढकाललाई हस्तान्तरण गरेका छन् ।


रकम ग्रहण गर्दै प्रअ ढकालले समन्वय गर्ने सेरोफेरो र सहयोगी सबैलाई धन्यवाद दिइएकी छन् । सुनिता विद्यालयमा आउने वित्तिकै आफूले व्यक्तिगत रुपमा विद्यालयको पोषक किनिदिएको बताउँदै उनले पढुञ्जेल लाग्ने कापी, कलम पनि विद्यालयले व्यहोरेको जानकारी गराइन् ।


तर कक्षा पाँचमा प्रथम भएर ६ मा भर्ना हुन जाँदा सुनितालाई जनसेवा मावि घुस्रामा २१ सय रुपैंया भर्ना शुल्क लाग्यो । आफ्नो दुई बच्चालाई सरकारी विद्यालयमा भर्ना गर्दामात्रै पाँच हजार पाँच सय शुल्क तिर्नु परेको उनको आमा सिता विकले दुखेसो पोखिन ।


मजदुरीबाट आएको पैंसाले तीनजना बच्चा र आफ्नो पेट पाल्नै नपुग्ने बताउने उनले छोरा छोरीलाई सरकारी विद्यालयमा पढाउन मुस्किल भएको बताइन ।


वडा सदस्य चौधरीले सहयोगबाट उठेको रकममा थप सहयोग गर्न वडा कमिटीमा कुरा राख्ने बताइन । भनिन् ‘म अध्यक्ष ज्युसंग कुरा राख्छु, केही न केही सहयोग हुन्छ ।’


सहयोग स्वरुप प्राप्त रकमलाई सुनिता र उनको आमाको नाममा बैंक खाता खोलेर जम्मा गर्ने प्रयास गरिने प्रअ ढकालको जानकारी दिइन् ।

 

यो पनि पढ्नुहोस् ।

 बुवाले दोस्रो विवाह गरी बेपत्ता भएपछि बहिनी बोकेर पढ्दै सुनिता

२०७६ बैशाख ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्