Rara Pharmacy

तरकारी बिक्री नहुँदा पिपलका किसान चिन्तित

मनिषा केसी/रुकुम
तरकारी बिक्री नहुँदा पिपलका किसान चिन्तित

२५ बैशाख । बाँफिकोट गाउँपालिका १ र २ पिपलका किसानले लगाएको तरकारी बिक्री नहुँदा किसानहरु मर्कामा परेका छन् । आफूहरुले लगाएको बन्दा र आलुले बजार नपाउँदा छिप्पिएर बारीमै खेर जाने भएको भन्दै स्थानीय किसानहरु चिन्तित भएका हुन् ।


गत मंसीरदेखि अर्काको जग्गा भाडामा लिएर आफूले बन्दा रोपेकोमा अहिलेसम्म बिक्री नभएर बारीमै रहेको बाँफिकोट गाउँपालिका १ का तुलबहादुर कामीले बताए ।


जग्गाको भाडा मात्रै ६ महिनाको १० हजार रुपैयाँ तिर्ने सम्झौता गरिएकोमा अवधि सकिनै लाग्दा समेत आम्दानी नभएर घाटामा जानुपर्ने अवस्था आएकोमा उनको दुःखेसो छ । बैशाख मसान्तसम्म भनेर भाडामा लिएको जग्गा खाली नगरिदिएमा जग्गाधनी आफैँले बन्दा उखेलेर मकै रोप्ने चेतावनी दिएको उनको भनाई छ ।


त्यस्तै आफूले उत्पादन गरेको बन्दा सुरुमा डोकोमा बोकेर रुकुम पूर्वको सदरमुकाम रुकुमकोटसम्म लिएमा १० रुपैयाँ किलोका दरले विक्री हुने गरेकोमा अहिले सित्तैमा दिँदा समेत नलिने अवस्था रहेको स्थानीय रेशम मल्ले बताए ।


यस क्षेत्रका धेरै किसानहरुले बन्दागोभी लगाउँदा यसले उचित बजार नपाएको बाँफिकोट गाउँपालिका २ का किसान भिमबहादुर खत्रीले जानकारी दिए । बिक्री नभएपछि आफन्त र छरछिमेकमा निःशुल्क दिने गरेको र धेरै जग्गामा लगाएकोले त्यसरी पनि नसकिएको उनको भनाई छ ।


रुकुमेली समाज विकास केन्द्रको पहल परियोजनाबाट सहयोग प्राप्त गरेर व्यवसायिक तरकारी खेतीमा लागेका यहाँका किसानहरु बजारको चिन्तामा देखिएका छन् ।


त्यसैगरी स्थानीय किसान कृष्णा केसीले आफूले लगाएको आलुले पनि बजार नपाएको गुनासो गरिन । रुकुमकोटसम्म आफैँले बोकेर लिएमा २० रुपैयाँ किलोसम्म मूल्य परेपनि धेरै खपत नभएको उनले बताइन ।


स्थानीय सरकारले बजार व्यवस्थापन र बाहिर निर्यात गर्ने व्यवस्था मिलाइदिएमा खर्च उठाउन सकिने किसानहरुले आशा गरेका छन् । स्थानीय सरकार र जनप्रतिनिधिहरुसँग गुनासो गर्दा बन्दाको चाना बनाएर सुकाउन सुझाव दिने गरेको किसानहरुले बताए ।

 

२०७६ बैशाख २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्