Rara Pharmacy

सुर्खेतमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुँदै

सेरोफेरो/सुर्खेत
सुर्खेतमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुँदै

१ जेठ । सुर्खेतमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । एम.एस क्रिकेट एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता जेठ ४ गतेबाट हुन लागेको हो । कर्णाली प्रदेश क्रिकेटमा पछि परेकोले विद्यालयस्तरबाटै क्रिकेटको विकास होस् भन्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागेको एकेडेमीका अध्यक्ष मोहन शाहीले बताए । उनका अनुसार एम। एस। एकेडेमीमा प्रदेशस्तरीय खेल खेलिसकेका धेरै खेलाडीहरुले तालिम लिईरहेका छन् ।


प्रतियोगिता कालुङ्गचोक क्रिकेट मैदान सुर्खेतमा हुने अध्यक्ष शाहीले जानकारी दिए । केही समय अघि उक्त मैदानमा कर्णाली प्रिमियर लिगको दोस्रो संस्करण सम्पन्न भएको थियो । प्रतियोगितामा टिम दर्ता शुल्क ४ हजार तोकिएको शाहीको भनाई छ । उनका अनुसार प्रतियोगिताको विजेता टिमले नगद रु। १५ हजारसहित ट्रफि र प्रमाणपत्र पाउनेछ ।


यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ६ महिनासम्म आयोजक एकेडेमीमा पूर्ण छात्रवृत्तिमा तालिम लिन पाउनेछ । प्रतियोगितामा उत्कृष्ट हुने बलर र ब्याटसम्यानलाई ३ महिनासम्म पूर्ण छावृत्तिमा तालिम दिने शाहीले जानकारी दिए । ‘विभिन्न विद्यालयहरुबाट टिमहरु दर्ता भईरहेका छन्’ उनले भने, ‘कति टिम हुन्छन भन्ने अहिले एकिन भएको छैन् ।’


पछिल्लो समय कर्णालीमा क्रिकेट क्रेज बढ्दो क्रममा रहेको छ । करिब एक वर्षभित्र कर्णालीको रुकुम पश्चिम, सुर्खेतमा प्रतियोगिताहरु भईरहेका छन् भने डोल्पामा पनि प्रतियोगिता हुन लागेको छ । बैशाख २१ गते सम्पन्न भएको कर्णाली प्रिमियर लिग दोस्रो संस्करणमा कर्णाली ११ बाट रबिन्द्र जंग शाही उत्कृष्ट ब्याट्सम्यान घोषित भएका थिए ।

२०७६ जेठ १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्