Rara Pharmacy

विभेदमा वादी महिलाः लाग्छ यौन व्यवसायीको आरोप

लक्ष्मी भण्डारी /सुर्खेत 
विभेदमा वादी महिलाः लाग्छ यौन व्यवसायीको आरोप

१ साउन । सुर्खेतको गुर्भाकोट नगरपालिकाकी कविता वादी दिल्लीमा जान थालेको चार वर्ष भयो । धेरैजसो समय उनले भारतको दिल्लीमा बिताउँछिन् भने केही दिनमात्र घरमा आएर बस्छिन् । कारण हो समुदायमा आफुहरुमाथिको विभेद ।


६ वर्ष अघि माथिल्लो जातीसँग विवाह भएका कारण कविताले श्रीमानबाट चरम यातना खेप्दै आएकी थिइन् । श्रीमानबाट पाएको यातना सहन नसकेपछि उनको वैवाहिक सम्बन्ध अन्ततः डिभोर्समा परिणत भयो । अहिले उनी दिल्लीमा छोरासंगै बस्दै आएकी छन् । ‘गाउँमा आएपछि बाहिर निस्केर ढुक्कसँग हिड्न सक्दिन’ कविता भन्छिन्, ‘छिमेकी र समाजले हाम्रो जात भन्ने वित्तिकै फरक नजरले हेर्दछन् ।’


समाजमा अन्य जातीका व्यक्तिहरु आफुहरुसँग घुलमिल हुन नचाहने गरेको उनले दुखेसो पोखिन् । ‘समाजमा हामीप्रति अझै पनि राम्रो नजरले हेरिदैन त्यसैले हाम्रा धेरै साथीहरु गाउँमा बस्न रुचाउँदैनन्’ उनले भनिन्, ‘धेरै साथीहरु दिल्लीमा बस्ने गर्दछन् ।’


सोही बस्तीकी पुतली वादी दाउरा बेचेर गुजरा चलाउँछिन् । भन्छिन् ‘साँझ बिहान दुःख गरेर काम गर्छाै तर, हामीलाई फरक पेशा गर्ने दृष्टिकोणले हेर्दछन् ।’ वादी समूदायमा पुख्र्याेलीे पेशा व्यापार व्यवसाय गरेर दैनिकी चलाउने गरिएतापनि अझैसम्म पनि आफुहरुमाथिको समाजको हेराई फरक नभएको उनी बताउँछिन् । ‘हाम्रो जातमा पहिले केही व्यक्तिले यो पेशा गरे होलान् तर, अहिले हामी सबैले व्यवसाय गरेर आम्दानी गर्ने गरेका छौ’ उनले भनिन्, ‘अन्य जातकाले यौन पेशा गरेपनि उनीहरु ढुक्क सँग हिड्न सक्छन्, तर हामीलाई पेशा नगरेपनि आरोप लगाइएको छ ।’

 

वादी बस्तीका ५६ वर्षिया बकुला बादी पनि कहिले दाउरा बेचेर त कहिले गिट्टी कुटेर जिविका चलाउँदै आएकी छन् । तर समाजले आफुहरुमाथि गरेको विभेद देख्दा उनको मन कुडिन्छ । ‘दिनभरी काम गरेर साँझ बिहानको छाक जोहो गर्दै आएकी छु’ उनी भन्छिन्, ‘तर, हाम्रा छोरी चेलीहरुमाथि अरु जातीले गर्ने व्यवहार गलत हुन्छ ।’ यही नजरले हेर्ने कारणले आफ्ना छोरी नातीनीहरु भारत जाने रुची गरेको उनी बताउँछिन् ।


वादी महिलामाथि भएको विभेदको कारण उनीहरु समस्यामा परेका यी प्रतिनिधि घटना मात्र हुन् । जिल्लामा बसोवास गदै आएका डेढ सय घरधुरी बढी बादी समूदायका महिलाले भोगेको साझा समस्या हो यो ।


वादी जातिका पुर्खाहरुले पुरुषहरु मादल बनाउने र माछा मार्ने तथा छोरीहरु यौन पेशालाई अपनाउने गर्थे भनिन्छ । तर, अहिले परिस्थित बदलिएको छ । उनीहरुले पुख्र्याैली पेशालाई छाडेर कृषि र अन्य व्यवसाय गर्दै आएका छन् । अहिलेको अवस्थामा पनि वादी जातीको महिला भन्ने वित्तिकै यौनधन्दा गर्दछन् भन्ने आरोप लाग्ने गरेको झुप्रा खोलामा बस्दै आएकी गीता बादीको अनुभव छ । ‘आजभोली पेशाका रुपमा यौनधन्दा अरु नै जातीले गर्छन्’ उनले भनिन्, ‘तर, यौन पेशा भन्ने बित्तिकै गिट्टी वालुवा बोकेर साँझ बिहान गुजारा गर्ने हाम्रै नाम पोलिन्छ ।’


पहिलेको तुलनामा हाम्रो जातीमाथि गर्ने विभेदमा केही कमी भएपनि अझै पनि आफूहरुप्रति हेर्ने दृष्टिकोण उस्तै रहेको पार्वती बादी बताउँछिन् ।


वादी महिला भएकै कारण काम गर्ने संस्थामा वातावरण नभएको अनुभव सुनाउँछिन् झुप्रा खोलामा बस्दै आएकी सुशिला बादी । काम गर्न एउटा संस्थामा जाँदा परिचय दिने क्रममा उनीहरुको प्रतिक्रिया देखेर उनलाई वाक्क लाग्यो । ‘मैले वादी भन्ने बित्तिकै त्यो ठाउँको मान्छेहरु हलानो फलानोहरु यस्तो काम गर्छन् भनेर भने’ एक सार्वजनिक कार्यक्रममै उनले भनिन्, ‘हो, हाम्रो पुर्खाहरुले त्यो काम गरे अहिले त्यस्तो छैन । पुर्खाहरुको त्यो नराम्रो छाप अहिले हामीमा परेको छ ।’


सबैको हेर्ने दृष्टिकोण नराम्रो भएको उनले दुखेसो पोखिन् । ‘वादी भनेको पनि एउटा जात हो सबैको आफ्नै क्षमता हुन्छ र रोजगारीमा लागेर पेट पाल्ने हो’ सुशिलाले भनिन्, ‘बादी भन्दैमा त्यस्तो भन्न पाइँदैन जस्तो लाग्छ ।’


झुप्रा खोलाको वादी समूदायको महिला अगुवा तारा बादीले पहिला पुर्खाहरुको बाध्यता भएको र त्यो छाप अहिले आफूहरुले भोग्नुपरेको तितो यथार्त सुनाइन । ‘ वादी महिला भन्ने बित्तिकै यिनिहरु देह व्यापार गर्छन् भन्ने छ’ उनले भनिन्, ‘झुप्रा खोलामा गाडी र ट्याक्टर ल्याएर वालुवा तथा गिट्टी लैजान अन्य जातीको पुरुषहरु आउनुहुन्छ तर, नराम्रो नजरले वादी महिलालाई नै हेरिन्छ ।’ पुरानो छाप मेटाउनको लागि समूदायमा गठित महिला समूहमा छलफल हुने गरेको भएपनि बाहिर सबैले नबुझेको ताराको भनाई छ । वादी महिलामा लागेको छाप मेटाउन यसको अभियानको लागि स्थानीय सरकार नै लाग्नुपर्नेमा उनको जोड छ ।


वादी महिलाको पुख्र्याैली पेशा अहिले परिवर्तन भएतापनि पुरानै छाप अझै नहट्नु दुःखद रहेको महिला अधिकारकर्मी किमशरा खत्री बताउँछिन् । ‘पहिलेको भन्दा अहिले अन्य जाती पनि उनीहरुसँग घुलमिल हुँदै आउन थालेका छन्’ उनले भनिन् ‘विस्तारै यसमा पनि परिवर्तन हुँदै जान्छ ।’


वादी महिलाले यस्ता खालका हिंसा भोग्नु भनेको पहुँच भएका वर्गबाट उनीहरुलाई हेप्नु हो भन्छिन् शिक्षक सरुणी वली । ‘यस्ता खालका व्यवहारले उनीहरुको जातीमाथि भएको विभेद झल्काउँछ । जसले गर्दा उनीहरुको मनोविज्ञानमा चोट पुग्छ ।’


वादी अगुवा एंव सिम्ता गाउँपालिका वडा नम्वर ६ का वडा सदस्य सुक्रि बादीले बादी जातीलाई अझैपनि हेप्ने प्रवृति रहेको बताइन् । अन्य जनप्रतिनिधि भन्दा आफुलाई फरक व्यवहार भएको महशुस पनि भएको छ पटक पटक उनलाई । ‘जति राम्रो काम गरेपनि हाम्रो जातीलाई गलत नजरले हेर्छन्’ यसको अन्त्यकोे लागि हामी महिला एकजुट भएर अघि बढ्नुपर्छ ।’


नेपालको संविधानको मौलिक हक अन्र्तगत धारा १६ मा व्यवस्था भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको व्यवस्था गरेको छ । तर वादी महिलाहरुमाथि हुने यस्ता खालका विभेदले उनीहरुको आत्मसम्मानका साथ बाँच्ने अधिकारको हनन गरेको छ । वादी महिलामाथि भएका यस्ता खालका विभेदले उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित हुनुको साथै उनीहरुमाथि जातीय विभेद भएको बताउँछन् अधिवक्ता दुर्गाप्रसाद सापकोटा ।


यता वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले लक्षित समुदायको लागि आएको कार्यक्रममा वादी समुदायलाई प्राथमिकतामा पारिने बताइन् ।

 

२०७६ साउन २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्