Rara Pharmacy

मन्त्रिपरिषद्को बैठकबाट नगर विकास कोषको सञ्चालक समितिमा सात जना मनोनयन

सेरोफेरो/काठमाडौं
मन्त्रिपरिषद्को बैठकबाट नगर विकास कोषको सञ्चालक समितिमा सात जना मनोनयन

२ साउन । मन्त्रिपरिषद्को २०७६ असार २९ गते बैठकले नगर विकास कोषको सञ्चालक समितिमा सात जनालाई मनोनयन गरेको छ । सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोेटाले प्रत्येक प्रदेशबाट पर्ने गरि नगरपालिकाका प्रमुख तथा उपप्रमुख गरी सात जना मनोनयन गरिएको जानकारी दिए ।

 

सात जना मध्ये कम्तीमा तीनजना महिला रहनेगरी मनोनयन गरिएको मन्त्री बाँस्कोटाले जनाए ।

प्रदेश १ को दमक नगरपालिकाका उपमेयर गिता अधिकारी, प्रदेश २ को विरगंज महानगरपालिका का मेयर विजय सरावगी, प्रदेश ३ को भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, गण्डकी प्रदेशको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सी, प्रदेश ५ को बुटवल उपमहानगरपालिकाबाट मेयर शिवराज सुवेदीलाई मनोनयन गरिएको छ ।

 

यसैगरी कर्णाली प्रदेशको विरेन्द्रनगर नगरपालिका बाट उपमेयर मोहनमाया भण्डारी र सुदुरपश्चिम प्रदेशको गौरी गंगा नगरपालिकाबाट मेयर भिम देउवालाई मनोनयन गरिएको छ ।

 

यसैगरी मन्त्रिपरिषद्को बैठकबाट गैरकानुनी रूपमा नेपाल बसिरहेका पाँच जना श्रीलंकन नागरिकको दुई लाख पचास हजार रूपैयाँ जरिवाना र ३७ हजार तीन सय ८० अमेरिकी डलर भिसा शुल्क मिनाहा गरी निस्काशन गर्ने निर्णय गरिएको छ ।


नेपाल र जर्मनीका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी आशयपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको छ ।

 

तीन सय थान नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयमार्फत साझा यातायत सहकारी संस्था लिमिटेडलाई तीन अर्व रूपैयाँ नेपाल सरकारको शेयर लगानीका रूपमा उपलब्ध गराउने निर्णय गरिएको छ ।

 

प्रदेशमा हस्तान्तरण भएका १४ वटा सडक डिभिजन कार्यालयलाई सडक विभागको कामसमेत निरन्तर गर्न लगाउने निर्णय गरिएको छ ।

 

बुटिक विमानस्थल विकास सम्बन्धी कार्यविधि , २०७५ संशोधन गर्ने निर्णय गरिएको छ ।

 

राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा श्री नारायणप्रसाद बास्तोलालाई नियुक्त गरिएको छ ।

 

नेपाल नागरिक उड्यन प्राधिकरणका कर्मचारीहरूको सेवाका शर्त र सुविधा सम्बन्धी (अठारौं संशोधन नियमावली , २०७६) स्वीकृत गरिएको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।

२०७६ साउन २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्