Rara Pharmacy

के हाम्रो नयाँ पुस्ता बोधो हुँदैछ?

बिबिसी/सेतोपाटी
के हाम्रो नयाँ पुस्ता बोधो हुँदैछ?

हामी अहिले बौद्धिकताको 'स्वर्णयुग' मा छौं। अर्थात्, हाम्रो बौद्धिक क्षमता उच्च विन्दुमा छ।

 

बौद्धिकता के हो? कसको कति हुन्छ? यसको परीक्षण विधि सय वर्षअघि नै लागू भइसकेको थियो, जसलाई ‘इन्टेलिजेन्स कोसन्ट’ भनिन्छ। छोटकरीमा ‘आइक्यू’।

 

यसमा हामीलाई केही प्रश्न सोधिन्छ र जसले जति धेरै ठीक जवाफ दियो उसको 'आइक्यू' अर्थात् बौद्धिक क्षमता उति बढी मानिन्छ।

 

आज सामान्य मान्छेको जति आइक्यू छ, त्यति नै आइक्यू लिएर ऊ सन् १९९१ तिर जन्मेको भए ‘जिनियस’ मानिन्थ्यो। भन्नुको मतलब, हाम्रो बौद्धिक क्षमता बढ्दै गएको छ। तर, खुसी नहुनुहोस्। बौद्धिकताको यो रफ्तार यस्तै नरहन सक्छ। वृद्धि धीमा हुनसक्छ। घट्न पनि सक्छ।

 

कसरी? प्रविधिले यति धेरै फड्को मारिरहँदा हाम्रो दिमागी शक्ति झन् बढ्नुपर्ने होइन र? हामी किन उल्टो दिशातिर जाँदैछौं?

 

पछिल्ला अनुसन्धानहरूले भन्छ- हाम्रो बौद्धिक क्षमता उच्चस्तरमा पुगिसक्यो। यति उच्च, अब योभन्दा उक्लिने ठाउँ एकदमै कम छ। अबका दिनमा हामी बढी बुद्धिमान हुँदै जाने छैनौं, बरू बुद्धु हुँदै जान सक्छौं। अनुसन्धाताहरू भन्न थालेका छन्– अहिले हामीले जुन तहको बौद्धिक क्षमता पाएका छौं, त्यसलाई उपयोग गरौं र आनन्द लिऊँ। फेरि यो मौका नमिल्न सक्छ।

 

अब प्रश्न उठ्छ, के यो साँच्चै हो? हो भने, भविष्यका पुस्ताहरूको अवस्था के होला?

 

यो जान्न सबभन्दा पहिला मानव इतिहासतिर फर्कौं।

 

मान्छे पहिला चार खुट्टाले हिँड्थे। तीस लाख वर्ष अघिदेखि हाम्रा पुर्खा दुई खुट्टाले हिँड्न थाले। त्यो बेलाका मान्छेको खप्पर हेर्दा उनीहरूको दिमागको आकार चार सय क्युबिक सेन्टिमिटर देखिन्छ। यो भनेको अहिले हाम्रो दिमागको एकतिहाइ मात्र हो।

 

हाम्रो शरीरमा सबभन्दा बढी ऊर्जा चाहिने दिमागलाई नै हो। शरीरको २० प्रतिशत शक्ति यसैले खपत गर्छ। यसको अर्थ, ठूलो आकारको दिमागले हाम्रो बढी भएको क्यालोरी व्यवस्थापनमा सघाइरहेको छ। तीस लाख वर्षअघिकै जत्रो मस्तिष्क हुँदो हो त, हाम्रो शरीरको के हालत हुन्थ्यो होला?

 

दिमागको आकार यसरी बढ्नुको कारण शरीर सन्तुलन राख्न मात्र हो त? पक्कै होइन। यसका धेरै कारण हुन सक्छन्।

 

मान्छेको उत्पत्ति विकासक्रम सिद्धान्तले भन्छ– हाम्रा पुर्खा दुई खुट्टाले हिँड्न थालेपछि रूखको सट्टा जमिनमा सुत्न थाले। जंगली जनावरको डर बढ्यो। जनावरबाट बच्न उनीहरूलाई समूहमा बस्नुपर्ने भयो। आपसी सहयोग र बालबच्चाको हुर्काइमा पनि समूह आवश्यक पर्न थाल्यो।

 

अहिले हामीलाई यही समूह 'घाँडो' लाग्छ। वरिपरिको सामाजिक परिवेश हेर्दा हामी भिडमा जिउन झिँझो मान्छौं। हरेक मान्छेलाई ध्यान दिनुपर्यो, उनीहरूलाई मनपर्ने-नपर्ने कुरा थाहा पाउनुपर्यो। विश्वास गर्न योग्य छन्–छैनन् सोच्नुपर्यो। यो त समाजमा बस्नलाई गर्नुपर्ने सामान्य व्यवहार भयो। अझ सामूहिक क्रियाकलापमा सरिक हुन झन् कति मुश्किल होला!

 

जस्तो, शिकार खेल्ने। तपाईं आजका दिनमा कुनै समूहमा मिसिएर शिकार खेल्न जानुभयो भने समूहका प्रत्येकले के-के गर्दैछन् जानकारी राख्न सक्नुपर्छ। उनीहरूका गतिविधि नियाल्न सक्नुपर्छ।

 

आज हाम्रा लागि यी काम चुनौती हुन सक्छन्, तर हाम्रा पुर्खाका लागि यस्ता सामूहिक क्रियाकलाप जीवन-मरणसँग जोडिएका थिए।

 

यसबाहेक ठूलो सामाजिक समूहमा बस्दा विचार आदानप्रदान गर्ने र नयाँ कुरा सिक्ने मौका मिल्दै गयो। नयाँ-नयाँ सामान, प्रविधि र साँस्कृतिक अभ्यास विकास गर्न मद्दत पुग्यो। शिकार र जीवनयापन निम्ति आवश्यक सामग्री र हातहतियार बनाउन पनि सहज भयो।

 

यी सबै यस्ता काम हुन्, जसमा दिमाग प्रयोग हुन्छ। अरूले गरेका काम हेरेर सिक्न सक्नुपर्छ। सिकेर व्यवहारमा उतार्नुपर्छ। यही प्रक्रियामा मान्छेको दिमाग विस्तार हुँदै गयो।

 

मान्छेका आवश्यकता जति बढ्दै गए, जति नयाँ–नयाँ आविष्कार हुँदै गए, मस्तिष्कको क्षमता र आकार उति बढ्दै गयो।

 

चार लाख वर्षअघिसम्म आइपुग्दा दिमागको आकार बढेर बाह्र सय क्युबिक सेन्टिमिटर पुगिसकेको थियो। यो भनेको हाम्रोभन्दा थोरै मात्र सानो हो। हाम्रो दिमागको आकार अहिले तेह्र सय क्युबिक सेन्टिमिटर छ।

 

यसको मतलब, करिब ७० हजार वर्षअघि हाम्रा पुर्खा अफ्रिकाबाट छरिँदा संसारको जुनसुकै कुनामा जीवनयापन गर्न सक्ने गरी ‘स्मार्ट’ भइसकेका थिए। नयाँ ठाउँमा कसरी जिउन सकिन्छ भन्ने उनीहरूले जानिसकेका थिए।

 

प्राचीन गुफाहरूमा प्राचीन मानव पुर्खाले बनाएका चित्र र संकेत चिह्नले उनीहरू यो विशाल ब्रह्माण्डबारे पनि सोच्न थालिसकेका थिए भन्ने प्रस्ट्याउँछ। सायद, आफ्नो उत्पत्तिबारे पनि चाख राख्न थालेका थिए।

 

केही विज्ञहरू भने मान्छेको बौद्धिक विकासमा आएको परिवर्तनलाई जिनमा आधारित विकास मान्छन्। उनीहरूको भनाइ छ– पुरानै विकासक्रमको प्रक्रिया हेर्ने हो भने पछिल्लो समय हाम्रो जति बौद्धिक विकास भयो, त्यसका लागि धेरै नै समय लाग्छ। तर, यहाँ एकदमै कम समयमा हाम्रो दिमाग तिखारिएको छ। त्यसैले, यो समयकालीन नभएर जिनमा आधारित विकास हो।

 

हुन त वैज्ञानिकहरूले मान्छेको बौद्धिक सम्भाव्यता नाप्ने तकनिक आविष्कार गरेको सय वर्ष मात्र भयो। यो तकनिक मान्छेका धेरै किसिमका क्षमतामा आधारित छन्। जस्तै, कुनै विषयमा तर्क गर्न सक्ने वा कारण दिन सक्ने क्षमता, कुनै गणितीय सवालको ढाँचा पहिचान गर्न सक्ने खुबी र तपाईंको बोल्ने तरिका। त्यही भएर आइक्यूलाई 'सामान्य ज्ञान' का रूपमा पनि बुझ्ने गरिन्छ।

 

मान्छेले कुनै गतिविधि वा क्रियाकलापमा कस्तो प्रदर्शन गर्छ भन्ने सूचकांकका रूपमा आइक्यूले काम गर्छ। खासगरी शैक्षिक क्षेत्रमा कस्तो पढाइस्तर देखाउँछ भन्ने आइक्यू अंक हेरेर अनुमान गर्न सकिन्छ। कार्यक्षेत्रमा नयाँ सीप कत्तिको चाँडो सिक्न सक्छ भन्ने आकलन गर्न पनि सघाउँछ।

 

यति हुँदाहुँदै आइक्यू परीक्षण नै बौद्धिकता जाँच्ने सही मापन हो कि होइन भन्ने प्रश्न पनि छ। व्यक्तिको सफलताका पछाडि थुप्रै कारक हुन सक्छन्। सामान्य रूपमा हेर्दा आइक्यू परीक्षणले मान्छेको सिक्ने र जटिल जानकारी बुझ्ने क्षमता भने देखाउँछ।

 

मान्छेको आइक्यू स्तरमा २०औं शताब्दीको सुरूआतदेखि नै उल्लेख्य वृद्धि भएको पाइन्छ। यो वास्तविक नहुन पनि सक्छ। किनकि, यसअघि आइक्यू अवधारणालाई मनोवैज्ञानिकहरूले गम्भीर रूपमा मान्यतै दिएका थिएनन्। उनीहरूले यसलाई मान्छेको खुबी जाँच्ने मानक नमान्नुको पनि कारण छ। आइक्यू परीक्षण निश्चित मान्छेमा गरिएको हुन्छ। यसको नतिजाले सबैको प्रतिनिधित्व नगर्न सक्छ। फरक-फरक समयमा गरिएका परीक्षणले विभिन्न पुस्ताको क्षमता पनि प्रस्ट्याउँदैन।

 

जब अनुसन्धाता जेम्स फ्लिनले विगत एक शताब्दीको आइक्यू तथ्यांक केलाए, तब उनले यसमा औसत तीन अंक वृद्धि भएको पाए। पछिल्लो समय यो वृद्धिदर ह्ववात्तै बढेको छ। केही देशहरूमा त तीस अंकसम्म बढेको छ।

 

फ्लिनले पहिल्याएको वृद्धिको कारण प्रस्टिएको छैन। यसमा आनुवांशिक छलाङभन्दा बढी अरू वातावरणीय कारण पनि हुन सक्छन्। उदाहरणका लागि, १९औं शताब्दीको तुलनामा अहिलेका मान्छे करिब ५ इञ्च अग्ला छन्। यसमा हाम्रो जिनमा आएको परिवर्तन नै मूल कारण हो भन्ने छैन। हाम्रो समग्र स्वास्थ्यमै बदलाव आएको पनि हुनसक्छ। सुधारिएको औषधि-उपचार, बाल्यकालमा हुने संक्रमणको कमी, पोषिला खानेकुरा लगायतले हाम्रो शरीर अग्लो बनाउन र दिमाग तीक्ष्ण राख्न सघाएको हुनसक्छ।

 

कसैकसैले आइक्यू वृद्धिमा पेट्रोलको गुणस्तरलाई समेत कारक मानेका छन्। विगतमा पेट्रोलमा धेरै लिड (शिशा) हुन्थ्यो। यसले मान्छेको स्वास्थ्यमा नकारात्मक असर पार्थ्यो। अहिले पेट्रोलमा लिडको मात्रा कम छ, जसले हाम्रो दिमागी क्षमतामा आउने ह्रास कम भएको वैज्ञानिकहरूको भनाइ छ।

 

अर्थात्, पेट्रोल जति सफा हुँदै गयो, दिमागले काम गर्ने क्षमता उति बढ्दै गएको अनुसन्धानले देखाएको छ।

 

यसले पनि हाम्रो बौद्धिक क्षमताको विकासलाई समग्र रूपमा चित्रण गर्दैन। हाम्रो समाजले बौद्धिक क्षमतामा जति ठूलो छलाङ मारेको छ, त्यसले हामीलाई सानैदेखि गहिरो सोच र तार्किक विश्लेषण गर्न सक्ने तालिम दिइरहेको हुनसक्छ।

 

उदाहरणका लागि, शैक्षिक क्षेत्रलाई लिऊँ।

 

अचेल अधिकांश बच्चालाई नयाँ कुरा सिकाउँदा त्यसको मूल जरो केलाउन लगाइन्छ। पहिले जस्तो, जनावरको नाम मात्र घोक्न लगाइँदैन। त्यो स्तनधारी हो वा सरिसृप भन्ने पनि चिनाइन्छ। फलानो जनावर फलानो वर्गीकरणमा कसरी पर्यो भन्ने पनि बुझाइन्छ। त्यस्तै, बढ्दो आधुनिक प्रविधिसँग घुलमिल हुन सिकाइन्छ। सामान्य कामका लागि पनि कम्प्युटर र त्यसका सबै संकेत बुझ्नुपर्ने हुन्छ। यस्तो परिवेश र सिकाइमा हुर्किएका सबैजसोले आइक्यू परीक्षणमा राम्रो प्रदर्शन गर्न सक्छन्।

 

अनुसन्धाता फ्लिनले देखेको आइक्यू वृद्धिको कारण जेसुकै होस्, हामीले यो युगको उच्चतम आइक्यू वृद्धि भने देखिसकेका छौं। अब हामी खस्किँदो क्रममा छौं।

 

फिनल्यान्ड, नर्वे र डेनमार्कलाई नै हेरौं। नब्बे दशकको मध्यतिर यी देशले आइक्यूमा ठूलो फड्को मारेका थिए। त्यसपछि हरेक वर्ष औसत आइक्यूमा ०.२ अंक घट्दै गएको पाइएको छ। यो क्रम विश्लेषण गर्ने हो भने दुई पुस्ताबीचको आइक्यूमा करिब सात अंक फरक देखिन्छ। मतलब, छोराहरूको 'स्मार्टनेस' बाबुहरूको भन्दा कम भएको छ।

 

आइक्यू वृद्धि घट्दै जानुको कारण चाहिँ के हो त? यसलाई व्याख्या गर्न कठिन छ। एउटा सम्भावित कारण भने ‍औंल्याउन सकिन्छ। त्यो हो, शिक्षा।

 

कुनै बेला शिक्षा उच्च प्राथमिकतामा पर्थ्यो। सबै ज्ञान दिमागकै सहारामा प्राप्त हुन्थ्यो। अचेल प्रविधिको सहारा बढ्दै गएको छ। पहिले जटिल हिसाबहरू पनि दिमागबाटै हुन्थ्यो, अचेल प्रविधि प्रयोग हुन्छ। ओस्लो विश्वविद्यालयका ओल रोजवर्गका अनुसार अचेलका विद्यार्थी क्यालकुलेटर चलाउनमा अभ्यस्त भइसकेका छन्।

 

यसले के बुझाउँछ भने, विगतमा दिमागको मात्र प्रयोग हुँदा बढ्दै गएको शक्ति प्रविधिको सहारा लिन थालेपछि कम हुँदै गएको छ। यसमा वैज्ञानिक शोध भने जारी छ। हालै प्रकाशित 'जर्नल अफ इन्टेलिजेन्स' को विशेषांकले दुई मुख्य प्रश्न खडा गरेको थियो।

 

पहिलो, हाम्रो बौद्धिक क्षमतामा यसरी परिवर्तन आउनाले समग्र समाजमा कस्तो अर्थ राख्छ?

 

दोस्रो, अनुसन्धाता फ्लिनले देखेको आइक्यू वृद्धिबाट हामीले जुन फाइदाको आशा गरेका थियौं, के त्यो फाइदासम्म पुग्यौं? पुगेका छैनौं भने किन?

 

जर्नल अफ इन्टेलिजेन्सको विशेषांकमा कोर्नेल विश्वविद्यालयका मनोवैज्ञानिक रोबर्ट स्टनवर्गले लेखेका छन्- २०औं शताब्दीको तुलनामा मान्छे धेरै समझदार भएका छन्। उनीहरू जटिल प्रविधिका मोबाइल र अरू उपकरण चलाउन पोख्त हुँदै गएका छन्। तर समग्र समाजको व्यवहार हेर्दा, के आइक्यूमा पाएको ३० अंकको वृद्धिले हामी लाभान्वित भएका छौं?

 

सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावले जे नतिजा दियो, त्यो सायद इतिहासकै मूर्ख काम थियो। त्यसैले, उच्च आइक्यूले हामीलाई बुद्धिमान सावित गरेको छ भन्न सकिँदैन। संसारका मुख्य समस्याहरू (गरिबी, जलवायु परिवर्तन, प्रदूषण, हत्या-हिंसा, लागुपदार्थ सेवनबाट हुने मृत्यु र अरू धेरै) सल्टाउने हाम्रो क्षमता बढाउन सकेको छैन।

 

मनोवैज्ञानिक स्टनवर्ग अलि धेरै आशावादी भएका हुन सक्छन्। हामीकहाँ धेरै सुधार भएका पनि छन्। औषधि-उपचारमा भएको विकासले बालमृत्युदर घटेको छ। चरम गरिबी अन्त्य भएको छैन, तर विश्वव्यापी रूपमै कम भएको छ। यी सबैको कारण प्रविधिको विकास नै हो।

 

अनुसन्धाता फ्लिनको तथ्यांकले हाम्रो बौद्धिक क्षमता साँच्चै बढेको देखाउँछ र भनेर प्रश्न गर्ने स्टनवर्ग एक्ला होइनन्। फ्लिन आफैंले पनि यसमा कुनै विशेष सीप वा खुबी कारक हुनसक्छ भन्ने बताएका छन्।

 

जसरी केही विशेष व्यायाम गरेर पूरा शरीरको बनावटमा बदलाव नल्याइकन कुनै एउटा मांसपेशी मात्र विकास गर्न सकिन्छ, त्यस्तै हामीले गहिरा सोचका लागि केही विशेष किसिमको बौद्धिक अभ्यास गरिरहेका हुन सक्छौं। त्यसो भन्दैमा यही कारणले सबैखाले सीप बराबर विकास नहुन पनि सक्छ। हाम्रो भविष्यका लागि अत्यावश्यक तर राम्ररी अभ्यास नगरिएका अरू धेरै सीप वा क्षमता हुनसक्छन्, जसको विकासक्रम जहाँको तहीँ हुनसक्छ।

 

मानिलिऊँ, सिर्जनशीलता।

 

जब स्टनवर्गजस्ता अनुसन्धाताले सिर्जनशीलताबारे छलफल गर्छन्, उनीहरू कलात्मक प्रस्तुतिबारे मात्र भनिरहेका हुँदैनन्। उनीहरू मूल सीपको कुरा गरिरहेका हुन्छन्। लेखकले आफ्नो उपन्यासमा कसरी समस्या र त्यसको समाधान निकाल्न सक्छन्? अहिलेसम्मै नपुगेका काल्पनिक परिदृश्यहरूसम्म कसरी पुग्न सक्छन्? यस्ता 'असामान्य सोच' विचार गर्ने तपाईंको क्षमता कत्तिको छ?

 

बौद्धिकताले हामीलाई अझै धेरै सिर्जनशील हुन मद्दत गर्नुपर्छ। तर, केही समययता आइक्यू बढे पनि मान्छेको सिर्जनशील सोच वृद्धि भएको देखेका छैनौं। फ्लिनको तथ्यांकमा जेसुकै कारण होस्, यसले पनि हामीलाई नयाँ र मौलिक ढंगले सोच्न प्रेरित गरेको छैन।

 

यहाँनिर एउटा अर्को तर्कसंगत प्रश्न पनि छ- अप्ठ्यारा र अप्रासंगिक जानकारीका आधारमा तपाईंले कसरी राम्रो निर्णय लिन सक्नुहुन्छ? तपाईं जति बौद्धिक (आइक्यू बढी भएको) हुनुहुन्छ, के त्यति नै तार्किक हुनुहुन्छ?

 

उच्च आइक्यू भनेको कुनै जटिल विषय सजिलै बुझ्न सक्ने सीपसँग सम्बन्धित हुन्छ। तर, तर्कसंगत निर्णय गर्न अरू धेरै तत्व खाँचो पर्छ। मान्छेले आइक्यू बढी हुँदैमा तर्कसंगत निर्णय गर्न सक्छ भन्ने छैन।

 

यसलाई बुझ्न कुनै पनि वस्तुमा त्यसका गुणदोषबारे लेखिएको कुरा सोच्नुहोस्। कुनै खानेकुरामा '९५ प्रतिशत फ्याट-फ्री' लेखिएको छ भने यो शब्दावली '५ प्रतिशत फ्याट' लेखिनुभन्दा स्वस्थकर सुनिन्छ। उच्च आइक्यूले यो किसिमको भ्रामक शब्दावलीबीच फरक छुट्याउन केही मद्दत गर्न सक्छ। तर, यसले 'स्मार्ट' भनिनेहरूलाई पनि सहजै झुक्याउन सक्छ।

 

बढी आइक्यूले हामीलाई घाटा बेहोर्नबाट पनि रोक्न सक्दैन। हाम्रा असफल योजना र व्यवसायहरू यसका उदाहरण हुन्।

 

आइक्यू धेरै भएकाहरू दीर्घकालीन फाइदा लिन सक्ने खुबीमा पनि कमजोर हुन्छन्। जबकि, राम्रो भविष्य सुनिश्चित गर्न यो अत्यावश्यक छ।

 

यसबाहेक सिर्जनशील सीपहरूमा धेरै कुरा पर्छन्। जस्तै- आफ्ना अनुमानलाई चुनौती दिन सक्ने, नभएका जानकारी पत्ता लगाउने र कुनै पनि निर्णयमा पुग्नुअघि त्यसको वैकल्पिक व्याख्या खोज्ने। राम्रो सोचका लागि यी आवश्यक छन्, तर यी सबै आइक्यूसँग सम्बन्धित हुन्छन् भन्ने छैन। उच्च शिक्षा हासिल गर्नुसँग पनि कुनै सरोकार राख्दैनन्। अमेरिकामा भएको एक अध्ययनले डिग्री हासिल गरेकाहरूको पनि सिर्जनशील सोचमा कुनै वृद्धि नभएको देखाएको छ।

 

यी उदाहरणले के देखाउँछन् भने, आइक्यू वृद्धिले सबै किसिमका निर्णय गर्ने सीपमा जादुमयी विकास गर्छ भन्ने छैन। आइक्यू ओरालो लाग्दै गएको अवस्थामा अब हाम्रो भविष्य के होला?

 

अब हाम्रो ध्यान आइक्यूसँग कुनै सम्बन्ध नराख्ने अरू सीप विकासमा केन्द्रित हुन सक्नुपर्छ। यसले हाम्रो भविष्यमा पक्कै मद्दत गर्नेछ। यस किसिमको सोच कसरी राख्ने भन्ने सिकाउन पनि सकिन्छ। यसका लागि एकदमै गम्भीर भएर निर्देशन लिनु-दिनु पर्नेछ। कुनै पनि विषयमा सही निर्णय लिने सीप स्कुल शिक्षामै दिन सकिन्छ कि?

 

लिड्स युनिभर्सिटी बिजनेस स्कुलका वान्डी ब्रुन डे ब्रुन र उनका साथीहरूले यसको परीक्षण गरेका थिए। उनीहरूका अनुसार बेलैमा यस्तो सीप सिकाएका विद्यार्थीले परीक्षामा राम्रो अंक ल्याउनुका साथै उनीहरूको ऐतिहासिक तथ्य अध्ययनमा सुधार भएको थियो।

 

केही अनुसन्धाताहरूले स्कुल र विश्वविद्यालयमा पढाइने 'सिर्जनशील सोच' को तरिका बदल्नुपर्ने कुरा पनि उठाएका छन्। जस्तै, विद्यार्थीहरूलाई कुनै पनि घटनाको प्रमाणका आधारमा तार्किक र सही विश्लेषण गर्न सिकाउने। यी कुरा सिकेका विद्यार्थीले कुन समाचार/तथ्य गलत वा सही भनेर छुट्याउन सक्ने क्षमता विकास गर्न सक्छ।

 

भविष्यमा के गर्न सकिन्छ भन्ने प्रश्नमा यी साना तर सफल कथाहरू जवाफ हुनसक्छन्। त्यसपछि बल्ल हामी साँच्चै बुद्धिमान मान्छे हुन सक्छौं होला। त्यस्तो भए मात्र अहिले खस्किएको हाम्रो आइक्यूले 'बौद्धिकताको सुनौलो युग' समाप्त हुँदै गएको संकेत गर्दैन होला।

 

यो पनि बिर्सनु हुँदैन, हाम्रो बौद्धिक क्षमता घट्दै जाने क्रमको यो सुरूआत मात्र हो। यसले ठूलो छलाङ नमार्ला भनेर ढुक्क हुनसक्ने अवस्था छैन। पछिका पुस्ता हामीभन्दा बोधो हुन सक्ने सम्भावना हामी नकार्न सक्दैनौं।

 

(बिबिसी फ्यूचरका वरिष्ठ पत्रकार डेभिड रब्सनको किताब 'द इन्टेलिजेन्स ट्रयाप: ह्वाई स्मार्ट पिपल मेक डम्ब मिस्टेक्स' मा आधारित उनकै लेखको अनुवाद)

२०७६ साउन ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्