Rara Pharmacy

मेलमिलापकर्ताका लागी ८ दिने आधारभुत तालिम सम्पन्न

सेरोफेरो/काठमाडौं
मेलमिलापकर्ताका लागी ८ दिने आधारभुत तालिम सम्पन्न

१० साउन । मेलमिलापकर्ताका लागी ८ दिने आधारभुत तालिम ललितपुरमा सम्पन्न भएको छ । ललितपुर बार एशोसिएशनको आयोजना तथा नेपाल मेलमिलापकर्ता समाजको सहजिकरणमा संचालित तालिम साउन ३ गतेबाट संचालनमा आएको थियो । 

 

तालिमको समापन समारोह बोल्दै मुख्य प्रशिक्षक तथा वरिष्ठ अधिवक्ता डा.कुमार आचार्य शर्माले मेलमिलाप विवाद समाधानको एउटा महत्वपुर्ण पक्ष भएको बताए । डा. शर्माले दुवैको जित हुने एकमात्र विकल्प भनेको मेलमिलाप भएकोले यसलाई न्यायालय र अन्य सरोकारवाला निकायहरुले ध्यान दिनुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा नेपाल मेलमिलापकर्ता समाजका अध्यक्ष शंकर सुवेदीले यो कुनै परियोजना संचालन गरी तालिम संचालन गर्ने संस्था नभई विशुद्ध मेलमिलापलाई कसरी सवै क्षेत्रमा लागु गर्न र सहजिकरण गर्न सकिन्छ भनि पैरवी गर्ने सामाजिक संस्था भएको बताए । उनले भने 'हामी मेलमिलापकर्ता बन्न चाहानेहरुको सहयोगबाट नै तालिमहरु संचालन गर्ने गर्दछौ ।'


कार्यक्रममा बोल्दै ललितपुर बारका संस्थापक अध्यक्ष पिताम्वर सिलवालले ज्यादै कठिन समयमा ललितपुर बारको स्थापना गरेको भन्दै मेलमिलाप सम्वन्धी तालिमले अदालतलाई समेत सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ललितपुर जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधिश महेन्द्रबहादुर कार्कीले अदालतले मेलमिलापको कार्यलाई उच्च प्राथमिकता राखेको र विभिन्न ऐनहरुले यसलाई आत्मसाथ गरेको बताए । न्यायाधिश कार्कीले भने 'फैसला गर्देमा न्याय हुदैन, दुवै पक्षको जित हुने एक मात्र विकल्प मेलमिलाप हो ।'


कार्यक्रममा आफ्नो धारणा राख्दै ललितपुर जिल्ला बारका अध्यक्ष दिपककुमार विष्टले यो तालिम पश्चात सहभागीहरुले मेलमिलापको क्षेत्रमा ठुलो योगदान दिई विवाद समाधान गर्न आग्रह गरे ।

 

कार्यक्रममा ५४ जना अधिवक्ताहरुले मेलमिलापकर्ताको तालिम लिएको सचिव ज्ञानेन्द्र नेपालले सेरोफेरोलाई जानकारी दिए ।

२०७६ साउन १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्