Rara Pharmacy

लघुकथा 'निशब्द'

अभिमन्यू दिपक

२१ साउन । उसले सारा संसार भुलेर उनलाई बिश्वास गरेको थियो।उनको जीवनका सारा कुरा थाहा पाएर जानेर नै उ उनको नजिक भएको थियो।उनले उसका लागि के दिन्छिन वा के गर्छिन उसले कहिल्यै कुनै कुनाबाट पनि कुनै स्वार्थ राखेको थिएन। तर पनि उ उनको एकछिनको सामिप्यता पाउन हर्हराएको आँत लिएर पुग्थ्यो उनको सामु। उनी जे जुन परिस्थितमा भए पनि एकछिनको उनको स्पर्श सामिप्यता अनि लुकिचोरी गरेको आलिङ्गन उसको लागि अमूल्य हुन्थ्यो। उसका लागि उनीसंगको एक पलको साथले पनि उसको जीवनमा धेरै माने राख्थ्यो।

 

जब जब उसलाई साह्रै तनाव हुन्थ्यो उ उनीसामु पुग्थ्यो। उनको काखमा टाउको राखेर उनको केशराशीसंग खेल्दै उनका आँखामा आँखा राखेर जीवनका सबै तनाब पोख्न चाहान्थ्यो उ तर उनी जहिले काम १काम १अनि र अनलाईनमा व्यस्त भईदिदा उ खल्लो मान्थ्यो । तर पनि हाँसी हाँसी उनलाई टेक केयर भन्दै फर्किन्थ्यो उ। त्यतिमात्रै होईन कहिलेकहि साहैं स्वर सुन्न अनि कुरा गर्न मन लाग्थ्यो अनि आफ्ना सारा थकान बिर्सेर एकछिन भएनि आफ्नी मुटुको ढुकढुकी उनीसंग गफ्फिन मन लाग्थ्यो र फोन गर्थ्यो तर दुईचार कुरा भन्न नभ्याउँदै एक छिन है सरको फोन आयो वा एउटा फोन रिसीभ गर्छु है भन्दै बोल्दा बोल्दैको कनेक्सन टुटाईदिदा मनकै तार छिने जस्तो छटपटी हुन्थ्यो उ निशब्द हुन्थ्यो अनि मनमनै सोच्थ्यो कुनै दिन मेरो फोन कुरेर बस्ने उनी अब मेरो फोन घर्की मुर्गी दाल बराबर भएछ उ तर पनि उनका सामु आफुलाई लागेको कुरा कहिल्यै देखाउँदैनथ्यो उ। उसलाई जे लागेपनि उसले जे महसुस गरेपनि उ ति कुरा उनलाई आभाष हुन दिदैनथ्यो किनकि उ उनलाई धेरै माया गर्थ्यो।


एक दिन उ महिनौ पछि उनिसंग लामै समय बिताउने मनसायले उनको द्वारमा पुग्यो।निकैबेर गफसफ भएपछि आज उनको धेरै काम भएको कुरा सुनाईन उनले। उ त्यहाँ उनको काममा अबरोध पुर्याउन गएको थिएन र अबरोध पुर्याउन पनि चाहादैनथ्यो। उसका ईच्छा र उत्साह पानी पानी भए।खहरे झैं सुके उसका ईच्छा आकाँक्षाहरु। उ छाङ्गाबाट खसेको चितुवा जस्तो खङ्गरङ्ग भयो। मन अमिलियो।हुन त उ जहिले पनि प्राथमिकताका आधारमा पछाडि नै थियो। तथापि उसले उनको खुशीका लागि उनको दायित्व वहन गर्ने कार्यका लागि उ बाधा बन्न चाहेन किनकि उ उनको सफलतामा रमाउन चाहान्थ्यो उनको खुशीका लागि आफ्नो जीवनका हर खुशी तिलाञ्जली दिन पछि पर्दैनथ्यो। उनको खुशीमा आफु खुशी हुन्थ्यो । त्यसैले आज पनि उसलाई जे लागे पनि उ हाँसी हाँसी उनलाई आफ्नो दायित्व निर्वाह गर्न कर्तब्यनिष्ठ हुन उत्प्रेरणा दिदै अधुरो ईच्छाहरु मनभरि बोकेर फर्कियो फेरि भेट्ने बाचाका साथ ।

 

आँखा बाटोमा तर मनमा अनेका कुराहरु मोटरसाईकलसंगै दौडीरहे।आँखा बाटोमा थियो तर मन कहाँ थियो उसलाई नै थाहा थिएन। एकैचोटी घरको आँगनमा मोटर साईकल रोकिएपछि उ अनायास झस्कियो। घर पुगेको पनि थाहै पाएन उसले।बेलुका खानाखान पनि खासै जाँगर लागेन उसलाई। मन नलागि नलागि दुईगाँस निलेर सुत्यो तर धेरैबेर परेलीले ढोका लगाएनन्। कति खेर निदायो थाहै पाएन। बिहानको पल्लाघरको भालेको कुखुरी काँ ले ब्यूँझायो। हिजोको उनको व्यवहारले उ अझै सोच मग्न हुदै थियो यतिक्कैमा उसकि आमाले खाने होइन भन्ने प्रश्नले उ झस्कदै उठ्यो र भन्यो खाने म फ्रेस भएर आउँछु ।

२०७६ साउन २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्