Rara Pharmacy

महिला सांसदले एक अर्कालाई भने ‘आई लभ यू’

सेरोफेरो/सुर्खेत
महिला सांसदले एक अर्कालाई भने ‘आई लभ यू’

१ असोज । कर्णाली प्रदेश सभा सदस्य मिनासिंह रखालले भनिन्–‘माननीय कृष्णा शाह मेरी सम्धिनी हुनुहुन्छ । उहाँलाई मैले राम्रोसंग चिन्छु । राज्यपक्षबाट चरम यातना भोग्दापनि परिवर्तनका लागि आन्दोलनबाट नभाग्नु उहाँको माहानता हो । उहाँ जाजरकोटको सांसद हुनुहुन्छ ।’


यस्तै सांसद कृष्णा शाहले पनि रखाल निर्भिक महिला भएको र संसद बैठकमा निर्धक्क कुरा राख्ने गुण उहाँमा भएको बताइन् ।


रुकुम पश्चिमकी सांसद देवी ओलीले सांसद अमृता शाहीलाई उसैगरी चिनाइन् । ओलीको नजरमा शाही सरल र मिलनसार छन् । उनले भनिन्–‘एकल महिला भएर पनि निरन्तर संघर्ष गर्नु उहाँको विशेषता हो ।’ शाहीले पनि ओलीको असाध्यै माया लाग्ने बताइन् ।

 

उनले भनिन्–‘पार्टी नमिलेपनि हामी मिल्छौं । सोच मिल्छ । व्यवहार पनि मिल्छ । संसदमा जाँदा मिलेसम्म संगै जान्छौं । संगै निस्कन्छौं । असाध्यै माया लाग्छ । आइ लभ यू ।’

 

सांसद राजु नेपालीले अर्की सांसद झोवा विकको खुलेरै प्रशंसा गरिन् । भनिन्–‘मुगाल शैलीमा नेपाली भाषा बोलेको असाध्यै मन पर्छ । उहाँले छोटो समयमै मिठो बोल्न सिक्नुभयो । संसदमा खरो विषय उठाउनुहुन्छ ।’

 

विकले पनि राजु नेपाली असाध्यै मिलनसार भएको बताइन् । भनिन्–‘हामी संगै संसदमा जान्छौं, संगै फर्कन्छौं । मन मिल्छ । मन मिलेपछि सबै मिल्छ ।’

 

प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती मगर र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले पनि एक अर्काको खुलेर प्रशंसा गरे । द्वन्द्वकालका कुरा सम्झिए ।

 

यो कर्णाली प्रदेश सभाका सदस्यहरुसंग लैंगिकताका सवालमा संसदीय निगरानी र समिति प्रणाली विषयक कार्यशालामा भएको परिचयात्मक कार्यक्रम हो ।

 

१३ मध्ये नौजना महिला सांसद उपस्थित भएको उक्त कार्यक्रममा माननीय सांसद पद्मा खड्कालाई पत्रकार मुना हमालले चिनाइन् । उनले भनिन्–‘धेरै कामको चुस्त संयोजन गर्नुहुन्छ । सहज पहुँचमा हुनुहुन्छ । भाउ नखोज्ने र सरल ।’


यस्तो परिचयले एक अर्कालाई बुझ्न सहयोग गर्ने कार्यक्रमकी सहजकर्ता पत्रकार बबिता बस्नेतले बताइन् ।

 

प्रमुख अतिथि एवं मन्त्री केसीले पहिलो संविधानसभामा महिला ककसमा बसेर उठाएका पहिचान र समावेशीताको मुद्दा स्मरण गर्दै भनिन्–‘महिलाहरुबीच यस्तो अन्तरकृया जरुरी छ । विधिको शासन र भ्रष्टाचार न्यूनिकरणका लागि पनि महिला माननियहरुको निगरानी चाहिन्छ ।’


लैंगिक दृष्टिबाट संसदीय निगरानी गर्दा उपलब्धी हासिल नभएसम्म महिलाहरु एक ढिक्का हुनुपर्ने सांसद कृष्णा शाहले बताइन् । सामूहिक कार्यको प्रस्तुतिका क्रममा उनले भनिन्–‘लिभिङ टुगेदरले महिला हिंसा बढाएको छ । बजेटले पनि महिलालाई विभेद गरेको छ ।’


महिला सांसदहरु क्षमतावान् भएर पनि पदमा पुग्न पितृसत्ताले रोकेको सांसद पद्मा खड्काले बताइन् । उनले भनिन्- ‘महिलाहरु प्रविधिमैत्री हुनुका साथै नेतृत्वका लागि निरन्तर पहल गर्नुपर्छ ।’


यस्तै सांसद मिनासिंह रखालले कार्यशाला अन्यन्तै प्रभावकारी भएको बताइन् । उनले भनिन्–‘महिला सांसदहरुबीच खुलेरै यति धेरै कुरा गर्न सकिएको थिएन ।’

 

प्रस्तुतिका क्रममा उनले आफूलाई लागेको कुरा निर्धक्क राख्न पनि सबै सांसदलाई सुझाब दिइन् । भनिन्–‘महिलाले बोल्नुपूर्व तयारी गर्ने, अडान राख्ने र आफ्नो पक्षमा निर्णय लिन अरुलाई बाध्य पार्न सक्नुपर्छ ।’


‘सबै महिला सांसद संघर्षशील भएतापनि समाजले माननीय भन्न हिचकिचाउँछ’, उनले भनिन्–‘महिला उत्थानको कुरा महिलालेनै गर्ने हो ।’


सांसद रखालले कर्णाली प्रदेश सभाका चारवटै समितिको नेतृत्व महिलालाई दिनपनि आग्रह गरिन् । भनिन्–‘हामीलाई मन्त्रालय चाहिन्न । समिति दिनुहोस् । हामी निरन्तर निगरानी गर्छौं । यो उदाहरणीय पनि हुन्छ ।’


लैंगिक सवालकी अभियन्ता एवं सहजकर्ता बबिता बस्नेतले महिला सांसदलाई समानुपातिक भनेर होच्याउने गरेको पाइएको बताइन् । ‘समानुपातिक पनि निर्वाचित नै हो । यो कुरा बुझाउन सक्नुपर्छ,’ उनले भनिन्– ‘पितृसत्ताले महिलालाई चरित्रसंग जोडेर पछि पार्न खोज्छ । यस्ता कुरालाई वास्ता नगरी अगाडि बढ्नुपर्छ ।’


युएनडिपीको संसद सहयोग परियोजनाको सहकार्यमा मिडिया हाउस र स्वर्णिम एड्भोकेसीको आयोजनामा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा उक्त कार्यशालाको आयोजना गरिएको हो ।

 

कार्यक्रममा महिला सांसदहरुले संसद र विभिन्न समितिमा रहेर उठाएका विषयवस्तुको पुनरावलोकन गरेका थिए । यसका साथै उनीहरुले आगामी दिनमा उठान गर्नु पर्ने विषयको पहिचान समेत गरेका थिए ।

 

लैंगिकमैत्री संसदीय निगरानी र प्रदेश सभामा प्रभावकारी प्रतिनिधित्वका लागि खेल्नुपर्ने भूमिकामा सांसदहरुले तीनवटा समूहमा छलफल गरेका थिए । संसदमा उठान गरिएका सवाललाई कार्यान्वयन गर्नको लागि महिला सांसदहरुको एकता आवश्यक रहेको कार्यशालाको निष्कर्ष थियो ।

 

कर्णाली प्रदेश सभाका महिला सदस्यहरुमात्रै सहभागी भएको उक्त कार्यशालामा पत्रकार बबिता बस्नेतले महिलाहरुको 'सेल्फ केयर'बारे समेत कक्षा लिएकी थिइन् । महिला सांसदहरुका लागि नयाँ उक्त विषयले सबैको मन छोयो । जुन आफैंले आफैलाई हेरचाह गर्ने तरिका हो । 

 

उपसभामुख घर्तीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा युएनडिपीकी सजनी चौधरीले सहभागीलाई शुभकामना र धन्यवाद दिइन् ।

२०७६ असोज १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्