Hilsa Yatayat

सरसफाई सप्ताहमा नगर सफाइ गरिने

२४ जेठ सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघ र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त पहलमा यहि जेठ २७ गते वीरेन्द्रनगरमा वृहत सरसफाई एवं चेतनामूलक अभियान गरिने भएको छ । बुधबार संघमा भएको सरोकारवालाबीचको अन्तरक्रियापछि राष्ट्रिय सरसफाई सप्ताहको समापनको अवसर पारेर वृहत सरसफाई एवं चेतनामूलक अभियान गर्ने निर्णय गरिएको हो । 

 

नगरपालिका, उद्योग वाणिज्य संघ, सुरक्षा निकाय, टोल विकास समिति लगायत सम्पूर्ण सरोकारवाला निकायको ब्यापक सहभागितामा वृहत अभियान सञ्चालन गरिने भएको हो ।


कार्यक्रममा नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सिंगो प्रदेश र जिल्लाकै केन्द्रविन्दूका रुपमा रहेको वीरेन्द्रनगर स्वस्थ र स्वच्छ भएमा अन्यत्र यसको सकारात्मक प्रभाव पर्ने बताउनुभयो । नगर क्षेत्रको सरसफाइले नगरवासीको सभ्यता झल्काउँछ, नगरप्रमुख सुवेदीले भन्नुभयो, त्यसैले  सभ्यता र स्वास्थ्यका लागि नगरवासीले नगरलाई नियमित सफासुग्घर राख्नुपर्छ ।


यस्तै संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेतिले व्यापारिले व्यापार मात्र गर्नेे नभई समाजप्रतिको उत्तरदायित्वपनि निर्वाह गर्छन भन्ने कुराको प्रमाणका रुपमा विगतको सरसफाई अभियानलाई लिन सकिने जिकिर गर्नुभयो ।

 

बजार क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मेवारी लिएको ग्रीन सिटी सेनिटेशनका सञ्चालक शशी के.सीले फोहोर संकलन गर्ने गाडी र जनशक्ति थप गर्न लागिएको जानकारी दिंदै आगामी दिनमा नियमित रुपमा फोहोर संकलन हुने बताउनुभयो ।

२०७४ जेठ २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्