Rara Pharmacy

'गोकुल काण्ड' र भ्रष्टाचार विरोधी सरकार

सम्पादकीय
'गोकुल काण्ड' र भ्रष्टाचार विरोधी सरकार

सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो टेप सार्वजनिक भएपछि उनले पदबाट राजीनामा गर्न बाध्य बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका सबैभन्दा नजिक ठानिएका मन्त्रीको यस्तो आचरणले सरकारप्रति जनताको दृष्टिकोणमा धेरै बदलाव ल्याएको छ ।

 

उक्त अडियो टेप सार्वजनिक भएपछि विभिन्न आम धारणा बनेका छन् । पहिलो, बास्कोटाले नैतिकताको आधारमा दिएको भनिएको राजीनामा नैतिक हुन सकेन । नैतिकता भएको मान्छेले मात्रै नैतिकताका आधारमा पद त्याग गरी छानविनमा सहयोग गर्ने हो । उक्त घटनामा बास्कोटा अनैतिक र भ्रष्ट कृयाकलापमा चुकेको देखिन्छ । नैतिकताका आधारमा गरिने राजीनामाले जनताको मन छुन्छ । सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले लुसुक्क राजीनामा गर्नुले उनको अनैतिक कार्यलाई थप पुष्टि गर्छ ।

 

दोस्रो, उक्त अडियोमा बास्कोटाले कमिसनका लागि सेटिङ मात्र गरेनन् कर्मचारीलाई अपशब्द समेत प्रयोग गरे । जसका कारण सिंगो कर्मचारी जगत् उनीप्रति रुष्ट बन्यो । निजामती कर्मचारीको आधिकारिक संगठनले विज्ञप्ति जारी गरी बास्कोटाको बोलीप्रति खेद प्रकट गर्यो ।

 

बास्कोटाको बोलीले सरकार र सत्तारुढ दलका दुई निर्णयको धज्जी उडायो । पहिलो, केही समयअघि सरकारले युवा पुस्ताबीच चर्चित गायक भिटेनलाई गीतमा अपशब्द प्रयोग गरेको वा गलत सन्देश जाने कृयाकलाप गरेको भन्दै कारवाही गरेको कुरा । दोस्रो, सत्तारुढ दल नेकपाले कसैलाई पनि ‘तँ’ नभन्न गरेको सर्कुलर । गोकुल काण्ड सार्वजनिक भएपछि धेरैले सामाजिक सञ्जालमा बास्कोटालाई भिटेनभन्दा बढ्ता भएको टिप्पणी गरेका छन् ।

 

यी त भए तात्कालिक प्रतिकृया । तर उक्त काण्डले पार्ने दीर्घकालीन प्रभाव पनि छन् । पहिलो, गोकुल बास्कोटा ‘हिरो’ भएको धेरैलाई मन परेको थिएन । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र भएपनि कहिलेकाहीं उनैलाई माथ गर्ने कृयाकलाप धेरैलाई स्वीकार्य थिएन । बास्कोटा नेता, कर्मचारीतन्त्र, मिडिया र जनताबीच आलोचित हुन्थे । उनको कुरा सामाजिक सञ्जालमा ट्रेन्डिङ बन्थ्यो । त्यसबाट के प्रतित हुन्थ्यो भने जनताले केपी ओलीलाई मन पराएका थिए न कि गोकुल बास्कोटा । यद्धपी ओलीले अगाडी सारेपछि सबै चुप थिए ।

 

दोस्रो, केपी ओलीले प्रधानमन्त्रीको पद सम्हाल्दा भ्रष्टाचार नसहने बताएका थिए । भ्रष्टाचार गर्दिन र सहन्न पनि उनको नाराजस्तै थियो । तर बास्कोटाको सेटिङ प्रम ओलीलाई भारी भएको छ । यसबाट नेपालको इतिहासमा कम्युनिष्ट पार्टीलाई विरलै प्राप्त जनमतमाथि निर्मम प्रहार भएको छ । प्रधानमन्त्री ओलीले भ्रष्टाचार साँच्चै नसहने हो भने भ्रष्टहरुलाई माया गरिरहन जरुरी छैन । नेकपाका अध्यक्ष प्रचण्डले शुक्रबार एक कार्यक्रममा भनेका छन् कम्युनिष्टहरु सत्तामा पुगेपछि आफैं समाप्त हुन्छन् । सरकारको नियति यस्तै नहोस् । दुई तिहाई मतको सम्मान गर्न प्रम ओलीलाई आग्रह ।

 

तेस्रो, सामान्यतया सरकारको सफलता कर्मचारीतन्त्रमा भर पर्छ । हामीले कर्मचारीतन्त्रलाई सधैं दोषमात्र दिएर हुँदैन । काम गरेन भन्नुभन्दा पहिले काम गर्ने बनायौं कि बनाएनौं भन्ने महत्वपूर्ण हुन्छ । कर्मचारीलाई घुसखोर, ढिलासुस्ती र भुत्ते बनाउनमा नेता र नीतिकै हात छ भन्दा अत्युक्ति नहोला ।

 

अन्त्यमा, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको दिव्य उपदेशमा 'घुस दिन्या र घुस खान्या दुबै राजाका महासतुर (ठूला शत्रु) हुन्' भनिएको छ । घुस खाने र खुवाउने दुबैलाई कारवाहीको दायरामा ल्याउनु जरुरी छ । यद्धपी एकतर्फी खानेलाई कारवाही गर्ने परम्पराले खुवाउनेहरु उत्साहित छन् । राजनीतिमात्र होइन सबै क्षेत्रमा देखिएको भ्रष्टाचारलाई प्रहार गर्ने उपयुक्त समय यही हो । जनता कहिल्यै घुस्याहाको पक्षमा छैनन् ।

२०७६ फागुन १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्