Rara Pharmacy

कोभिड–१९ संक्रमण नियन्त्रणमा सरकारी प्रयास : थप सुझाव

सम्झना वाग्ले भट्टराई wagle.samjhana@gmail.com
कोभिड–१९ संक्रमण नियन्त्रणमा सरकारी प्रयास : थप सुझाव

विश्वव्यापीप्रकोप ‘कोभिड–१९’ को संक्रमणको सम्भावित फैलावट नियन्त्रणको लागि नेपाल सरकारले लिएका पहल कदमीहरु स्वागतयोग्य छन् । संक्रमण नफैलियोस तथा जनधनको क्षति नहोस भन्नाको खातिर सरकारले आमजनताले दैनिक जीवनका ब्यबहारहरुमा ल्याउनु पर्ने फेरवदल बारे पनि प्रशस्त निर्देशन तथा सुझावहरु दिएको छ । तिनको अक्षरसःपालना गर्नु आमजनताको दायित्व हो । यस सन्दर्भमा सरकारको पहलकदमी सकारात्मक हुँदा हुँदै पनि अपुरो भने छ जसले संक्रमण नियन्त्रणको यस प्रयास लाई असफल बनाउन सक्छ । त्यसोत शुक्रबार साँझको प्रधानमन्त्रीको सम्वोधनमा अतिरिक्त कदमहरु पनि चाल्न सकिने संकेत भने रहेको छ । यसै संकेतलाई आधार मानी सरकारले तुरुन्तै गर्नुपर्ने अतिरिक्त व्यवस्था बारे केही सुझाव उल्लेख गरेकी छु ।

 

एक, प्रधानमन्त्रीको सम्वोधनमा ‘केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दुरीका यात्रुबाहक सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको’ उल्लेख छ । यसले विशेष गरी शहरी तथा ग्रामीण भेगमा छोटो दुरीमा सेवा पुर्‍याइरहेका यातायातका साधानहरुको निर्वाध सञ्चालन बुझाउँछ । छोटो दुरीका नै भएपनि यसले भिडभाडको अवस्था सिर्जना गर्छ र संक्रमणको जोखिम बढाउँछ । त्यसैले अवस्थाको संवेदनशिलता बुझी केही समय भिडभाड हुने छोटो दुरीमा चल्ने सार्वजनिक सवारीलाई पनि पूर्णतःवन्द गर्नु आवश्यक हुन्छ ।


दुई, देशैभर संघ,प्रदेश र स्थानीयतहका सार्वजनिक, सामुदायिक तथा निजी सेवाप्रदायक संस्थाहरुबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामि चैत ९ गते देखि चैत २१ गतेसम्म वन्द गरिएको सम्वोधनमा उल्लेख छ । सम्वोधनको अर्को अंशमा ‘सबै सरकारी कर्मचारीहरु तथा अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरुले यथावत् रुपमा आ–आफ्नो कार्यालयमा उपस्थित भई नियमित काम गर्नुपर्ने’उल्लेख छ ।
अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुले सेवादिनु पर्ने विषय स्वभाविक नै हो । तर अत्यावश्यक बाहेकका अन्य क्षेत्रकापनि सरकारी कर्मचारीहरु नियमित कार्यालयमा उपस्थित भई काम गर्नुपर्ने प्रावधानले संक्रमणको जटिलता बढाउँछ ।


निजामती सेवामा मात्र देशभर झण्डै ९० हजार जनशक्ति कार्यरत छन् । यसमा अत्यावश्यक सेवातर्फ कार्यरत कर्मचारी लगभग एकतिहाई मात्र होलान् । सेवाप्रवाह केही समयको लागि स्थगित गरिएको समयमा पनि झण्डै साठी हजार कर्मचारी नियमित कार्यालय आउनु पर्ने अवस्थाले संक्रमणको जोखिम बढाउँछ । किनकि, एक त, यसमा अधिकांश कर्मचारी छोटो दुरीका सार्वजनिक सवारी प्रयोग गर्ने रहेका छन् भने केही सरकारले नै उपलब्ध गराएका भिड भाडयुक्त ठूला बसहरुमा आउजाउ गर्छन् । यस्ता भिडभाडयुक्त सवारीमा संक्रमणको जोखिम उच्च हुन्छ र उनीहरु मार्फत घरका अन्यमा पनि संक्रमणको जोखिम हुने गर्छ ।


त्यस्तै, कार्यालयहरुमा पनि एउटै कोठामा चार, पाँचजना बस्नु पर्ने, एउटै शौचालय प्रयोग गर्नुपर्ने, कार्यकक्षमा संक्रमण फैलन नदिनको संक्रमण रोक्ने औषधी छर्कने जस्ता कुनै व्यवस्था नभएको आदि कारणले एक अर्को कर्मचारीमा संक्रमण फैलन सक्ने जोखिम रहन्छ । एकजना यस्ता कर्मचारीको औसत परिवार संख्या पाँच मान्ने हो भने पनि झण्डै तीन लाख जनताको जीवनजोखिममा पर्दछ । यसबाट पर्ने अन्य जोखिमत भयावह नै हुन्छ ।


त्यसैले यस्ता कार्यालयमा गरिने कामहरुलाई घरबाट नै गर्न प्रेरित गर्ने तथा आपसी छलफलको लागि कार्यालयका कर्मचारीहरु बीच ‘अनलाइन’ छलफलको व्यवस्था मिलाउन सकिन्छ । कतिपय अत्यावश्यक सेवाहरु पनि घरबाट नै उपलब्ध गराउन सकिने किसिमका भए त्यसतर्फ पनि प्रेरित गर्नु आवश्यक हुन्छ । महामारी नियन्त्रणको लागि प्रत्यक्ष संलग्न हुनुपर्ने कर्मचारीलाई विशेष व्यवस्था गरी परिचालन गर्नुको विकल्प छैन् । अत्यावश्यक सेवा प्रवाहगर्ने कर्मचारी, सुरक्षाकर्मीलाई पनि यस समयमा विशेष सुरक्षाव्यवस्था गर्नुका साथै परिवारबाट अलग्गै बसी सेवा प्रवाहगर्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ ।


र अन्त्यमा, अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्दगर्ने हो भने ती कार्यालयमा कार्यरत कर्मचारीहरुलाई घरमा रहेर कामगर्न किन प्रेरित नगर्ने ? त्यस्तै छोटो दुरीका सवारी साधनहरु पनि केही समयका लागि किन वन्द नगर्ने ? जसले संक्रमणको जोखिम नबढाओस् ।

लेखीका सम्झना वाग्ले भट्टराई समसामयिक विषयमा विभिन्न राष्ट्रिय मिडियामा निरन्तर कलम चलाउनु हुन्छ ।

२०७६ चैत्र ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्