Rara Pharmacy

कोभिड–१९ विरोधि प्रतिकार्यमा नागरिक अनुशासन अपरिहार्य

डा. युवराज लुईंटेल
कोभिड–१९ विरोधि प्रतिकार्यमा नागरिक अनुशासन अपरिहार्य

हवाई उडानहरु बन्द भइरहेकै थिए । अत्यावश्यक बाहेकका सरकारी सेवा–सुविधाहरु स्थगित गरिएकै थिए । लामो दुरीका यातायात सेवा बन्द नै थिए । विद्यालय र विश्वविद्यालयमा पठन–पाठन रोकिएकै थियो । यसैबीच, मन्त्रीपरिषदको पछिल्लो बैठकले चैत १० गतेदेखि मुलुकका सबै १६४ सीमा नाका बन्द गर्ने निर्णय गरी आवश्यक काम नपरेसम्म घरबाहिर ननिस्कन सर्वसाधारणलाई पुनः अनुरोध गर्‍यो । यससँगै कोभिड–१९ विरुद्धको प्रतिकार्यमा देश ‘सेमी लक डाउन’ को चरणमा प्रवेश गरेको छ ।

 

सर्वसाधारण जनतालाई घरभित्रै बस्न र संक्रमणसँग बच्न सावधानी अपनाउन गरिएको अनुरोध जब आदेशमा परिणत हुन्छ, मुलुक ‘पूर्ण लकडाउन’ को स्थितिमा प्रवेश गर्नेछ । त्यो अवस्था नआओस् ।

 

कोभिड–१९ विरुद्धको प्रतिकार्यमा स्वास्थ्यकर्मीहरुले मोर्चाको अग्रभाग सम्हाल्ने र सुरक्षाकर्मीहरु उनीहरुसँगै दोस्रो घेरामा रहने सरकारले बताएको छ । एक सरकारी अनुमान अनुसार हाल नेपालमा ३० हजारको हाराहारीमा स्वास्थ्यकर्मी कार्यरत छन् । तीमध्ये आधा त काठमाडौंमै होलान् । करीब तीन करोडको नेपालको जनसंख्यालाई कोभिड–१९ बाट बचाउन स्वास्थ्यकर्मीको यो संख्या कत्तिको पर्याप्त होला ?

 

वुहानको अनुभव

कुल जनसंख्या १ करोड २० लाख रहेको चीनको वुहान (कोभिड–१९ को उत्पत्तिस्थल) मा पनि चिनियाँ स्वास्थ्यकर्मीको संख्या करीब ३० हजारकै हाराहारीमा रहेको त्यहाँका सञ्चारमाध्यमले बताएका छन् । कोभिड–१९ बिरुद्धको प्रतिकार्य अघि बढ्दै जाँदा चिनियाँ सरकारले अर्को ३० हजार स्वास्थ्यकर्मीको थप जनशक्ति अन्य प्रान्तबाट परिचालन गरी उहानमा केन्द्रित गर्‍यो । र, ‘लकडाउन’ लाई कडाईका साथ परिपालना गराई आवश्यक सामग्रीको घरघरमै आपूर्तिको व्यवस्था मिलाउँदै करीब डेढ महिनाको अवधिमै कोभिड–१९ को महामारीलाई नियन्त्रणमा लियो ।

 

‘सामाजिक दुरी’ को महत्व

चिनियाँ सफलताका पछाडि उसको बस्तु उत्पादन क्षमता र सेवा प्रवाह क्षमता जति महत्वपूर्ण रह्यो, नागरिक तहमा रहेको कठोर अनुशासनको चेतले त्यति नै भूमिका खेलेको देखियो । इटली, स्पेन र अमेरिकालाई कोभिड–१९ विरुद्धको प्रतिकार्यमा अपेक्षित सफलता हात पार्न कठिनाइ हुनुका पछाडि यही पक्ष (नागरिकमा अनुशासनको चेत) सबैभन्दा कमजोर हुनुलाई प्रमुख कारण मान्नेहरु धेरै छन् ।

 

राज्यको राजकीय अनुशासनमा बस्न नरुचाउने, वैयक्तिक स्वतन्त्रता र मनमौजी व्यवहारलाई केन्द्रविन्दूमा राख्ने र बजारमुखी चरित्रमा हुर्कँदै गएको अमेरिकी–युरोपेली सोच, व्यवहार र संस्कारले घर–घरमा सीमित हुन सरकारले नागरिकलाई दिएको आदेशलाई अवज्ञा गरिरह्यो । यसरी ‘सामाजिक दुरी’ कायम गरी संक्रमणको घेरा तोड्ने ती सरकारको प्रयास विफल हुँदै गर्दा अस्पतालमा आइपुग्ने बिरामीको संख्या ह्वात्तै बढ्यो । त्यसलाई धान्ने स्वास्थ्य पूर्वाधार, संरचना, उपकरण र जनशक्ति ती देशमा थिएन ।

 

संक्रमण विरुद्धको अभियानमा ‘सामाजिक दूरी’ कायम गरी संक्रमणको विस्तार रोक्ने कुराको महत्व यहीँनेर छर्लङ्ग हुन्छ । चीन, इटाली, स्पेन र अमेरिकाको अनुभवबाट नेपालीहरुले सिक्ने मौका पाएका छन् । हाम्रो जस्तो देशका लागि यो नै सफलताको एक मात्र सूत्र हो ।

 

नेपाली समाजको चरित्र

प्रकोप फैलिसकेको अवस्थामा अपनाइने निवारणात्मक र प्रतिक्रियात्मक मोर्चामा नेपालजस्तो देशले सफलता हासिल गर्न एकदमै चुनौतिपूर्ण हुन्छ । यो सरल तर घामजत्तिकै छर्लङ्ग कुरालाई हामी हरेकले बुझ्न, मनन गर्न र आफ्नो सामाजिक अन्तरक्रियाको दायरालाई पारिवारिक तहमा सीमित गर्न अब कसैको आदेश पर्खिरहन जरुरी छैन । सेनिटाइजर छैन भने साबुन–पानीले हात धुन सकिन्छ । परिवारभित्रै पनि हरेक व्यक्तिको स्वास्थ्यमा आउने गडबडीको हेक्का राखेर आपरी दुरी कायम गर्न र साझा सामग्री (जस्तो कि तौलिया) को प्रयोग कम गर्न प्रयासहरु केन्द्रित हुनैपर्छ ।

 

बजारसँग बढी नै लसपस भएका उत्तरी गोलार्द्धका विकसित समाजहरुका लागि ‘सामाजिक दुरी’ कायम गर्ने कुरा व्यवहारमा उतार्न जति कठिन छ, नेपालजस्तो समुदाय, छिमेकी र परिवार प्रथाको प्राधान्य भएको समाजका लागि उत्तिकै सहज छ ।

 

महाशक्ति भनिने अमेरिका पनि कोभिड–१९ सँगको जुधाईमा खरो उत्रन नसक्नुका पछाडि एउटा दह्रो कारण पनि यही नै हो । यहीँनेर के पनि सम्झन उचित हून्छ भने दक्षिण कोरिया, जापान, सिंगापुर र इण्डोनेशिया जस्ता देशले पनि कोभिड–१९ को प्रतिकार्यमा फरक ढंगले सफलता प्राप्त गरिरहेका छन् । ती सबै देशमा सामाजिक र पारिवारिक अनुशासन दह्रो रहेको प्रमाण यहाँ दिइराख्नु नपर्ला ।

 

फेरि चीनकै प्रसंग

फेरि एकपटक उहानको प्रसंगमा चीनतिरै फर्किउँ । गएको चार दशकमा चीनले प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि भनेकै विस्तारित औद्योगिक उत्पादन र त्यसको विश्वव्यापी निर्यात हो । उहानमा कोभिड–१९ सँगको प्रतिकार्य उत्कर्षमा पुग्नै लाग्दा (फेबु्रअरीको तेस्रो सातासम्म) त्यहाँ पनि वैयक्तिक सफाइ र संक्रमण रोक्ने सामग्रीको अभाव भैसकेको थियो । स्यानिटाइजर, मास्क, थर्मल स्क्यानरका भण्डारहरु रित्तो हुन थालेका थिए । तर, चिनियाँ सरकारले उद्योगहरुलाई तुरुन्तै पुनः सञ्चालनमा ल्याई त्यस्ता सामग्रीको द्रुत उत्पादन सुरु गर्‍यो ।

 

चिनियाँ सफलताका पछाडिको अर्को ठूलो पक्ष भनेको ‘लकडाउन’ को समयमा पनि स्वास्थ्यकर्मीको घर–घर पुगेर ज्वरो नाप्ने र स्वास्थ्य स्थितिको अनुगमन गर्ने प्रणालीको विकास हो । यसले ‘आइसोलेसन परीक्षण र संक्रमण देखिए स्वास्थ्य संस्थामा शीघ्र स्थानान्तरण’ गर्ने कोभिड–१९ विरुद्धको चिनीयाँ रणनीतिलाई सफलतामा रुपान्तरण गर्न सहज भयो ।

 

नागरिक अनुशासन

नेपाल न त संक्रमणविरोधी वैयक्तिक उपयोगका सामग्रीको उत्पादनमा आत्मनिर्भर छ, न त विश्वव्यापी महामारीको यो अवस्थामा त्यस्ता सामग्रीको सहज आयात र आपूर्ति सम्भव छ । ‘लक डाउन’ को स्वास्थ्यकर्मीले घर–घर पुगेर अनुगमन गर्ने सम्भावना पनि नेपालमा करिब–करिब छैन ।

 

भनेपछि ‘सामाजिक दुरी’ कायम गरी घरबाहिर ननिस्केर सक्रमण विस्तारको कडीलाई तोड्नु नै नेपालका लागि कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सफलता प्राप्त गर्ने सहज रणनीति हुन सक्छ । कोभिड–१९ विरुद्धको विश्वव्यापी प्रतिकार्यबाट हरेक नेपालीले सिक्न सक्ने सरल सूत्र यही नै हो– नागरिक अनुशासन ।

(अनलाइनखबरबाट)

२०७६ चैत ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्