Rara Pharmacy

देशभर 'लकडाउन' उल्लङ्घन गर्ने ६८ जना र १५७१ सवारी साधन प्रहरीको नियन्त्रणमा

सेरोफेरो
देशभर 'लकडाउन' उल्लङ्घन गर्ने ६८ जना र १५७१ सवारी साधन प्रहरीको नियन्त्रणमा

११ चैत । विश्‍वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

 

साथै नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका १ हजार ५ सय ७१ सवारी साधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

सम्झाई बुझाई गर्दा समेत अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुर २ जना र धनुषाबाट १ जना गरी ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

यस सम्बन्धमा प्रहरीले कोरोना संक्रमणको संभावित जोखिम बारे सम्झाई बुझाई गर्नुका साथै आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।

२०७६ चैत्र ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्