Rara Pharmacy

कोरोना महामारी र हामी

महामारीसंग जुध्नु आफैंमा कठीन काम हो । यस्तो अवस्थामा प्रत्यक्ष रुपमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायक सबै व्यक्तिको स्वास्थ्य सुरक्षा र मनोवल प्रधान विषय हो । लकडाउनको पालना गर्नु नागरिकको परम कर्तब्य हो । पारस्परिक भ्रम र डर पैदा गरेर कोही पनि बहादुर बन्दैन । आफू जोगिएर अरुलाई जोगाउनुनै राष्ट्रप्रतिको सम्मान हो । सही अर्थमा राष्ट्रियता प्रदर्शन गर्ने बेला पनि हो यो ।
सेरोफेरो
कोरोना महामारी र हामी

कोरोना भाइरस (कोभिड १९) को संक्रमणले विश्व आक्रान्त छ । हालको पुस्ताले भोगेको संभवत यो सबैभन्दा ठूलो विश्वव्यापी महामारी हो । सिंगो मानव सभ्यता अहिले कोरोना भाइरससंग जुधिरहेको छ भन्दा अत्युक्ति नहोला ।


कोरोना जनावर र मानिस दुबैमा संक्रमण हुने एक प्रकारको भाइरस हो । जसले मानिसको स्वासप्रश्वास प्रणालीमा समस्या निम्त्याउँछ । र, ज्यान समेत लिन्छ । सन् २०१९ को डिसेम्वरमा चीनको वुहानमा पहिलोपटक पहिचान गरिएको उक्त भाइरसबाट हुने रोगलाई कोभिड १९ नाम दिइएको छ ।

 

कोभिड १९ को मुख्य लक्षणहरु ज्वरो, थकान र सुख्खा खोकी हुन् । यसका अलावा कसैकसैलाई रुघा लाग्ने, सिंगान बग्ने, घाँटी दुख्ने वा पखाला लाग्ने पनि हुन सक्छ । कोरोना भाइरस एकजना संक्रमित व्यक्तिबाट अर्कोमा सजिलै सर्छ । संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा भाइरसहरु सतहमा आउँछन् । तिनैमध्ये सक्रिय भाइरस अर्को व्यक्तिमा सर्छ ।

 

विश्व स्वास्थ्य संगठनका अनुसार यसबाट बच्ने प्रमुख तीन उपाय छन् । पहिलो खोक्दा वा हाछ्यूँ गर्दा मुख छोप्ने । बाराम्बार साबुनपानीले हात धुने । र, सामाजिक दुरी कायम राख्ने ।

 

सामान्यतया कोरोनाको संक्रमण अवधि १४ दिनको हुन्छ । बैज्ञानिकका अनुसार तुलनात्मक रुपमा यो कमजोर भाइरस हो । कोरोना संक्रमित सबै व्यक्तिलाई जोखिम हुँदैन । यद्धपी संक्रमणको खतरा भने कायमै हुन्छ । धेरै (झण्डै ८० प्रतिशत) लाई सामान्य उपचारले निको हुन्छ । ६ मध्ये १ जनामा जटिलता देखिने अनुसन्धानले देखाएका छन् । उच्च रक्तचाप, मधुमेह, मुटुका बिरामी तथा अन्य दीर्घरोग लागेकाहरु कोभिड १९ को उच्च जोखिममा छन् ।

 

कोभिड १९ को संक्रमण हाल विश्वका विभिन्न देशमा फैलिएको छ । आजसम्म चार लाख ७१ हजार आठ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २१ हजार दुई सय ९७ जनाले ज्यान गुमाएका छन् । एक लाख १४ हजार सात सय तीन जना उपचारपछि घर फर्केका छन् । नेपालमा भर्खरै विदेशबाट आएका तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

 

कोरोना महामारी अब कुनै देशको मात्र समस्या रहेन । यो एक विश्वव्यापी समस्या हो । यसका लागि हामी सबैले मिलेर काम गर्नुको विकल्प छैन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोभिड(१९ सम्पूर्ण मानव जातिका लागि जोखिम भएको ले सबै मिलेर यसको सामना गर्नुपर्ने बताएका छन् ।

 

हामीले निर्माण गरेका अन्तर्राष्ट्रिय संरचनाहरु विश्वव्यापी समस्या समाधानमा कति कामयावी छन् र मानवताको रक्षाका लागि हामी कति प्रतिवद्ध छौं भन्ने प्रमाणित गर्ने समय पनि यही हो । यद्धपी सबै मुलुक आ–आफ्नो जिम्मेवारीबाट पन्छिन भने मिल्दैन ।

 

अनुसन्धानले इंगित गरेअनुसार बढीजसो विकासोन्मुख देशहरु यस्तो महामारीको चपेटामा पर्छन् । हुनपनि यस्ता मुलुकमा स्वास्थ्यसम्बन्धी संरचना र सेवा प्रवाह कमजोर हुन्छ । त्यहाँ महामारीसंग जुध्न न त पर्याप्त पूर्व तयारी गरिन्छ न त यसको रोकथाम गर्न सक्ने सामथ्र्य नै हुन्छ । अतः यसको क्षति अकल्पनीय हुन्छ ।

 

त्यसो त नेपालले कोरोना संक्रमणबाट जोगिन के गर्नुपर्ला ? यसमा दुई पक्ष महत्वपूर्ण छन् । पहिलो सरकारको सार्थक भूमिका । दोस्रो नागरिकको कर्तव्य । यस संकटको घडीमा सरकारले राजनीतिभन्दा माथि उठेर महत्वपूर्ण निर्णयहरु गर्नुपर्छ । जसले मुलुकको अर्थतन्त्र, सामाजिक संरचना र संस्कारमा दीर्घकालीन असर पुग्न सक्छ । जनस्वास्थ्य राजनीतिभन्दा बढी संवेदनशील भएकाले यसमा राजनीतिक दल, व्यापारी, नागरिक समाज सबैको एकीकृत प्रयास जरुरी छ ।

 

सरकार समाजभन्दा बाहिरको विषय पक्कै होइन । समाजलाई थप व्यवस्थित बनाउन सरकारको गठन गरिएको हुन्छ । समाजमा संकट आइलाग्दा त्यसको रोकथामका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ ।

 

अर्कोतर्फ, राजनीतिक प्रणालीमा नागरिक पनि सरकारकै अंग हुन् । सरकारलाई अलग संरचनाका रुपमा बुझ्ने र सहकार्यभन्दा बढी आलोचना र अविश्वासका लागि उर्जा खेर फाल्ने समय यो होइन । नागरिकहरुले यस संवेदनशील घडीमा सरकारका निर्णयलाई मान्नुपर्छ । मानवताप्रति सम्मान प्रकट गर्नुपर्छ ।

 

कोरोना भाइरस व्यक्तिबाट व्यक्तिमा सर्ने भएकाले सामाजिक दुरी कायम गर्न, घरबाट बाहिर ननिस्कन र भीडभाड नगर्न सरकारले सबैमा आव्हान गरेको छ । सबै अन्तर्राष्ट्रिय नाका, हवाई उडान र यातायात अबरुद्ध गरेको छ । अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । यसबाट हुन सक्ने सबै नोक्सानी व्यहोर्न सरकार तयार हुनुपर्छ । लकडाउनकै कारण जनता खान नपाएर मर्ने स्थिति कहिं कतै आउन दिनु हुँदैन । यसको तयारी सरकारको प्राथमिकतामा पर्नुपर्छ ।

 

सरकारले संभावित क्षतिबाट बच्न तथा प्रतिकार्यका लागि विभिन्न स्थानमा अस्थायी अस्पताल, आइसोलेशन वार्ड तथा निगरानी कक्षहरु निर्माण गरेको छ । तर विभिन्न स्थानमा अलपत्र परेका नेपालीहरुलाई सुरक्षित तवरले घर आउन सक्ने वातावरण निर्माण गर्नु पनि सरकारकै जिम्मेवारी हो ।

 

अन्त्यमा, महामारीसंग जुध्नु आफैंमा कठीन काम हो । यस्तो अवस्थामा प्रत्यक्ष रुपमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायक सबै व्यक्तिको स्वास्थ्य सुरक्षा र मनोवल प्रधान विषय हो । लकडाउनको पालना गर्नु नागरिकको परम कर्तब्य हो । पारस्परिक भ्रम र डर पैदा गरेर कोही पनि बहादुर बन्दैन । आफू जोगिएर अरुलाई जोगाउनुनै राष्ट्रप्रतिको सम्मान हो । सही अर्थमा राष्ट्रियता प्रदर्शन गर्ने बेला पनि हो यो ।

२०७६ चैत १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्