Birendranagar Municipality

उपल्लो थलो: नेपाली समाज चियाउने आँखीझ्याल

कमल लम्साल
उपल्लो थलो: नेपाली समाज चियाउने आँखीझ्याल

लेख्छु भनेर पढेकै थिइन । पढेपछि नलेखी बस्न मनै मानेन ।


‘कोरोनाबन्दी’का बेला ३० मार्चको बिहानै मोहन मैनाली दाईको फेसबुक स्टाटस आयो– ‘उपल्लो थलो पढ्न चाहनेले इमेलमा सम्पर्क राख्नु ।’ भाषा ठ्याक्कै नभएपनि आशय यही थियो । मोहन मैनाली मैले नपढीकनै चर्चित भएको नाम हो । उहाँलाई मैले अहिलेसम्म पढेकै थिइन । उहाँलाई पढेपछि सत्य लुकाउन लाज मान्नु पर्दैन । लेखनमा इमान्दारिता उहाँको पहिलो शर्त हो । अबभने उहाँलाई नपढी हुँदैन भन्नेमा म पनि उभिएको छु ।


हुनत मोहन दाईको सादगी देखेर म यसअघिनै प्रभावित थिएं । गएको फागुन १९ देखि २१ सम्म सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न कर्णाली उत्सवताका उहाँलाई भेटेको हुँ । त्यसअघि पनि आक्कल झुक्कल भेट त भएकै हो । तर राम्रो चिनजान हैन । राजा चिनाइ । यो कस्तो भने– ‘राजालाई मैले चिन्छु तर राजाले मलाई चिन्दैनन्’ भने जस्तो । टिभिमा, पत्रिकामा, कितावका खोलमा उहाँको नाम र फोटो आइरहन्थ्यो । तर त्यो दोहोरो हेराइ हैन । एकोहोरो । मैले मात्र देख्थें । अरुले पनि देख्थे । तर उहाँले देख्नुहुँदैनथ्यो । उहाँले देख्ने भनेको यस्तै प्रतिकृया मात्र हुन्थ्यो होला ।


कर्णाली उत्सवमा उहाँ पनि वक्ता हुनुहुन्थ्यो । ‘कर्णाली क्यानाम घुमेर हेर्दा’ भन्ने सत्रमा उपयुक्त हुन्छ भनेर सल्लाह भएपछि उहाँलाई निम्ता गरिएको थियो । अतिथि बोलाउने जिम्मा मेरै भागमा थियो । फोनमा पनि उहाँ मिठो र स्पष्ट सुनिनुभयो । किताबमा जस्तै ।


हामीले अतिथिहरुलाई नेपालगञ्ज हुँदै सुर्खेत ल्याउने व्यवस्था मिलाएका थियौं । यस्तै आशयको इमेलमा उहाँले ५० किलोमिटर भन्दा लामो यात्रा सडकबाट गर्न संभव नभएकोले आफू आउन नसक्ने रिप्लाइ लेख्नुभो । मैले तत्काल टिममा सल्लाह गरेर उहाँलाई सुर्खेत विमानस्थलमै अवतरण गराउने निर्णय गरें ।


कर्णाली घुमेरै उहाँले ‘मान्ठा डराएको जुग’ लेख्नुभएको थियो । ‘मान्ठ’ हुनुपर्नेमा मान्ठा लेख्नुको आफ्नै तर्क होला उहाँसंग । उत्सवमा एउटा सत्र ‘मुख्य मान्ठ : मूल कुडा’ राखिएको थियो । त्यतिबेलै मान्ठा कि मान्ठ भन्ने लामो छलफल भयो । तर मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले समय दिन नसकेपछि उक्त सत्रमा कुनै विमर्श भएन । त्यो बाहेक अरु १४ सत्रमा ४४ वक्ताले बोलेका थिए । देशका चर्चित पत्रकार/लेखक सञ्चालक थिए । सबैले कर्णालीका ‘कुडा’ गरेका थिए उत्सवमा । कर्णालीको समृद्धिका लागि त्यो एक अभूतपूर्व बौद्धिक मेला थियो । मैले मोहन दाईसंग त्यतिबेलै संगत गरें । बल्ल हाम्रो चिनजान भयो ।


चिनेको मान्छेले फेसबुकमा गरेको अफर मैले क्यास गरें । तीन सय रुपैयाँ जोगियो । लक डाउनका बेला ‘होम क्वारेन्टाइन’मा समयको सदुपयोग भयो । त्यो भन्दा बढी मैले आफ्नो रुचीको काम गर्न पाएं । घुम्न । कोठामै बसेर गोर्खाको उपल्लो भेग घुमें । त्यहाँको जनजीवन बुझें । त्यहाँका मान्छेसंग संगत गरें । पेमा ड्रुक्पाको कथामा घोत्लिएं । जीवन र जगत सम्झिएं । एक जीवन्त यात्रामा तिब्बतसम्म पुगें । सोचें, आफैं घुमेको भए पनि यति विधि कुरा कहाँ थाहा लाग्थ्यो होला?


केही समयअघि दोलखाको कालिञ्चोक घुमेर फर्कंदा जंगलमै रात परेपछि भेडी गोठालाकोमा बास माग्न पुगेको सम्झें । अँगेनोको वरिपरी सुत्दा पनि नतातेको रात सम्झें । र, सम्झें त्यहाँका मान्छेको कठीन कर्म र सरल सपना ।


मैले उपल्लो भेगको धेरै यात्रा गरेको छैन । दोलखा, मुस्ताङ, जुम्ला, कालीकोट र मुगु । बैतडी र बझाङ त पुगेर फर्केको मात्र हो । उपल्लो थलो पढ्दा लेखकले बटुलेका सूचना र सामग्री सम्झेर कावा खाएं । रिसर्च गर्नु त यस्तो पो । हिंड्न त हामीपनि हिंडेकै हुन्छौं तर यात्रालाई यसरी ताखुमा ऊन कातेजस्तो बनाउन सकिएन । खिरिलो ।


उपल्लो थलो पढ्दा अचम्म लागेको त के भने जसै लेखक उकालो लाग्छन् पाठक ओरालो । अर्थात् मास्तिर पनि सलल बग्ने कथा । बुढीगण्डकी उल्टो बगेजस्तो । किताब शुरु गर्दासमेत विषय नबुझेको मजस्तोलाई यात्राले यसरी डोर्‍यायो कि मेरा खुट्टा कतै गलेनन् । न त लेक नै लाग्यो । जति उकालो चढ्छु उति आनन्द आउने ।


उपल्लो थलो नेपाली समाज चियाउने आँखीझ्याल हो । नाम उपल्लो थलो भएपनि यसले तल्लो थलोको पानि राम्रै वर्णन गरेको छ । नेपालगञ्जदेखि कञ्चनपुर हुँदै मानसरोवरको यात्रा झनै गजब छ । नेपालीहरुको बानी, व्यहोरा, खानपान, जनजीवन र संस्कारलाई निकै सरस तरिकाले देखाइएको छ पुस्तकमा । यहाँको राजनीति, राजनीतिप्रति जनताको बुझाई, कर्मचारीतन्त्र र विभिन्न अप्ठ्यारालाई पनि सजिलै देखाइदिएका छन् लेखकले । लाग्यो, मुलुकले निर्माण गर्ने नीतिमा यी सबै कुरालाई कति असजिलो पारी लेखिएको हुन्छ ।


‘सत्य सरल हुन्छ’ भन्ने कतै सुनेको मात्र थिएं । उपल्लो थलोमा पढ्न पाएं । पुस्तकको बेजोड बल भनेकै सत्यता हो । लेखकले सत्यलाई सहजै उजागर गरेका छन् उपल्लो थलोमा । सबैको पोल सजिलै खोलिदिएका छन् ठाउँठाउँमा । शायद कर्तुत सहन सक्ने बानी छैन क्यारे लेखकको । गम खान्छु । तर, सत्यले शायद कसैलाई पिरेन । पिर्न पनि त भएन । बरु सुध्रिनलाई सुझाएको छ पुस्तकले ।


सुझाव दिने ‘हैसियत’ले होइन यद्धपी पुस्तक पढ्दा मनमा लागेका केही कुरा छन् । खण्ड ३ सम्म ‘बुढीगण्डकी’लाई तेहेर्‍याएर नराखेको भए पनि हुने । विषय सूचीमा पेज नम्वर नहुँदा गर्नुपर्ने किताब भित्रको यात्रा झण्झटिलो भयो । शुद्धाशुद्धी मैले हेर्ने विषय होइन तर पनि कतै कतै मिलेको छैन जस्तो लाग्यो । समर्पण गरिएको ‘ग्याल्जेन’ र उद्धारमा खटिएको ‘ग्याल्जन’ उही हो कि भिन्नै?


पुस्तक अद्योपान्त छिचोल्दा पनि केही जिज्ञासा मेटिएकै छैनन्– रासा कान्छाले रक्सी खाने पैसा पायो कि नाईं? लार्केबाट ग्याल्जेनको घोडा फर्क्यो कि नाईं? भैरव दाइ चामेबाट कता जानुभयो होला? आदि ।


हस्त गुरुङको भूमिकाले मन छोयो । उहाँले यसरी लेख्नुहोला भन्ने मलाई लागेकै थिएन । चिन्ने मौका मिल्यो । हुनत नारायण वाग्लेको पल्पसा क्याफे पढिसकेपछि उहाँसंगै सोधेको थिएं– ‘हजुरले यस्तो पनि लेख्नुहुन्छ दाइ?’ कान्तिपुर दैनिकमा इन्टर्न गर्दा हरेक दिन भेट हुने ‘नारन दाइ’ मलाई अर्कै लाग्नुहुन्थ्यो । फन्नी ।


अन्त्यमा, मोहन दाइ हजुर लार्के भञ्ज्याङमा नमरेकै राम्रो भो । किनभने हजुरको नियात्रा यति राम्रोसंग अरु कसैले पनि लेख्न सक्दैनथ्यो ।

२०७६ चैत २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्