Birendranagar Municipality

प्रेस सचेत र संयमित हुनु जरुरी छ

सेरोफेरो
प्रेस सचेत र संयमित हुनु जरुरी छ

हरेक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस आउँछ जान्छ । शायद शक्तिसंग जुध्ने भएकाले होला प्रेस जगत सधैं सत्ताको तारो बन्दै आएको छ । युनेस्कोको आह्वानमा सन् १९९३ देखि प्रेस स्वतन्त्रता तथा पत्रकारको सुरक्षाको वकालत गर्दै यो दिवस मनाउन थालिएको हो । यो वर्षको नारा 'भय र पक्षधरतामुक्त पत्रकारिता' तय गरिएको छ ।


कोरोना भाइरसको महामारीका कारण विश्वभर सार्वजनिक रुपमा औपचारिक कार्यक्रम नभएपनि प्रेस स्वतन्त्रताका विषयमा 'डिजिटल डिस्कसन' भने तय गरिएका छन् । यस अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले जारी गरेको शुभकामना सन्देशमा यस वर्ष प्रेस स्वतन्त्रतामाथि खतरा आउन सक्ने नीतिगत वातावरण बनेको उल्लेख छ ।

 

त्यसो त संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोनासंगै दुषित सूचना फैलाउने दोस्रो महामारीको वातावरण बनेको बताएका छन् । जसमा स्वास्थ्यसम्बन्धी हानिकारक सल्लाहदेखि जंगली षडयन्त्रसम्म पर्छन् । प्रेसले प्रमाणित, बैज्ञानिक र तथ्यमा आधारित समाचार र विष्लेषणको (एन्टिडोट) औषधी दिन्छ/दिनुपर्छ । हुनपनि आजको समयमा प्रेस नै सार्वजनिक ज्ञान निर्माण गर्ने बलियो हतियार हो । महामारीका बेला मौका छोप्नेहरु पनि हुन्छन् । प्रेस सचेत र संयमित हुनु जरुरी छ ।


कोरोनाको बढ्दो संक्रमण रोक्न नेपालमा पनि लकडाउन छ । यस्तो अवस्थामा जनतालाई घरभित्र थुनेर राजनीतिमा 'जे पायो त्यही' गर्ने सत्तारुढ दलको प्रवृत्ति कसैलाई चित्तबुझ्दो छैन । नेपाली समाजको विकासमा प्रेसको महत्वपूर्ण भूमिका रहेको छ । जनताद्वारा निर्मित नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । यद्धपी प्रेसमाथि संकुचन ल्याउने प्रयास बेलाबखत नहुने हैन ।


गल्ती नङ्ग्याएर समाजमा राम्रो गर्न दवाब सिर्जना गर्ने प्रेसको बल भनेकै सत्य हो । सत्य नै न्याय र शान्तिको आधार हो । राम्रो राष्ट्र/राज्य निर्माण नै सेरोफेरो अनलाइन अखबारको अभियान हो । सफलतापूवर्क तेस्राे वर्ष पूरा गरेकाे आजको दिनमा शुभेच्छुक सबैलाई शुभकामना ।

२०७७ बैशाख २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्