Tiwari Bhada Pasal

कहालि लाग्दा द्वन्द्वकालका यौनजन्य पीडा (घटना अध्ययन)

कहालि लाग्दा द्वन्द्वकालका यौनजन्य पीडा (घटना अध्ययन)

तस्विर : गुगल

२ असार, सुर्खेत । द्वन्द्वको समयमा द्वन्द्वरत पक्षबाट भएका यौनजन्य हिंसामा परेका महिलाहरुका पीडाको अनुमान गर्न नसकिने खालका छन् । द्वन्द्वको समयमा यौन जन्य हिंसामा परेका महिला अछाममा मात्रै ५० भन्दा बढी छन् भनिन्छ । तर यस सम्बन्धि सरकार तथा तत्कालिन विद्रोही नेकपा माओवादी (हाल सक्रिय विभिन्न माओवादी पार्टी) दुबैसंग वास्तविक तथ्याङ्क छैन ।


पीडितहरु आफै खुलेर समाजमा देखिन गाह्रो मानिरहेका छन् । उनीहरु सामाजिक र पारिवारिक रुपमा विस्थापित हुने डर र हिंसाको पीडाले पोलिरहेको बताउंछन् । खुलेर आएकाहरुले न्याय नपाइसकेपछि न्याय पाउने उत्साह मरेको थियो । पीडितहरु भन्छन्, ‘अब सत्य निरुपण तथा मेलमिलाप आयोगबाट न्यायको आशा गरेका छौं ।’

 

अछाम जिल्लाका यस्ता पीडितहरुसंगको कुराकानीको छोटो अंश यहां राखिएको छ । वास्तविक पीडितको गोप्यतासम्बन्धी अधिकारलाई सुरक्षित गरी द्वन्द्वकालको यौन हिंसा पीडितका समस्या प्रष्ट पार्ने कोसिस गरिएको छ ।

 

कसरी बिर्सनु हिरासतको यातना ?


म १७ वर्षको थिएँ। २०६९ असार ९ गते भुमिगत भएँ । मैले पार्टी भित्र सञ्चारको क्षेत्रमा काम गर्थेँ । २०६१ साउन १ गते टीकापुरमा पक्राउ परेँ । २ महिना हिरासतमा बसेँ।

 

मलाई करेन्ट लगाइयो । बेहोस जस्तै बनाइयो । ‘उद्घाटन हाकिमबाट हुन्छ । कति जनाले गर्ने हो, लाइन लाग् केटा हो’ भन्थे । मानसिक त्रास हुन्थ्यो । ‘यो त माओवादी रण्डी हो । कतिले गरे रु कसरी गरे रु कहाँवाट हाले ’ भन्थे । बेहोस भएपछि के के गरे मलाई थाहा छैन । धनगढी कारागार ४ महिना बसेँ। १७ वर्षमा बिहे भयो । त्यही वर्ष यातना भोग्नु पर्‍यो । यौन दुव्र्यबहार सहनु पर्‍यो ।

 

द्वन्द्वको समयमा यौन दुव्र्यवहार सहेका धेरै छन् । खासगरी जिल्लाको ६ नम्बर इलाकामा । सेना गाउँमा गएको समयमा सामान्यतया महिलाहरु भाग्थे । कोही समूहमा बस्थे । घरमा भएको समयमा, जंगलमा काम गर्न गएको समयमा र विद्यार्थीहरुलाई स्कूलमा जहाँ भेट्यो त्यहीँ हिंसा गर्थे । तीनजना एकै पटक सामूहिक बलात्कारमा परेका पनि हुन् । तीमध्ये एकजना शहीद भइन् । एकजनाको पाठेघरमा समस्या छ । उपचारको लागि अहिले भारतमा छन ।

 

घर परिवारकाले सानो मनमुटावमा पनि आर्मीले बलात्कार गरेको भन्छन् । समाजको पनि नकारात्मक धारणा छ । पूर्व राज्य मन्त्री भएका व्यक्तिहरुले पनि ‘पीडाहरु भन्नुहुन्न । बदनाम हुन्छ’ भन्नुभयो । बुझेकाले त्यसो भन्छन् भने अरुको के कुरा ? घर भन्दा बाहिर निस्कन मन लाग्दैन । राज्यले गर्नु दमन गरेपछि दबावमा माओवादी भएको हुँ।


९ महिनाको बच्चा पेटमै मर्‍यो


घरमै थिएँ । २०५८ फागुन ५ गते गाउँमा सेना आयो । डरले हँसिया समाएर बारीमा पसेँ। बारीमै गएर हँसिया खोसेर फाल्यो । लतारेर घरमा लग्यो । ढोका खोले । बाँच्न दिनु भनेर भाग्न खोज्दा आँखामा हान्यो । दाहिने आँखा फुट्यो ।

 

कुटपिट गर्‍यो । इज्जत लुट्यो । दिशा, पिसाब शरीरमै पर्‍यो । श्रीमान्लाई पनि थाहा छ । धेरै समय पीडा लुकाएर बसियो । अब डर छैन । नौ महिनाको बच्चा पेटमा थियो । बलात्कारले बच्चा पेटमै मर्‍यो । पेटभित्रै सुकेको थियो । सान्तडा गाविसको उपस्वास्थ्य चौकीमा गएर मरेको बच्चा निकालियो । आँखाबाट पानी बगिरहन्छ । शरीर सुनिन्छ । पेट दुख्छ ।

 

सेना पुलिस देखे बेहोश हुन्छु


माओवादीले जबर्जस्ति भूमिगत बनाएको थियो । अभियानको क्रममा ओली गाउँमा पुगिएको थियो । कमाण्डरहरु अगाडि थिए । ६० साल साउन २९ गते हो । सेनाले भेट्टायो । आठ आनीको तिलहरी र रिङ थियो । नाकमा सानो फुलि थियो । सेनाले सबै लगे । स्कूलको पछाडि लगेर कुटपिट गरे, (उनी रोइन्, काखको बच्चाले उनको आँखामा हेर्‍यो) कुट्दा म त बेहोश भएछु । शरीरका अंग अंगमा हाने, चलाए, के गरे....गरे ।


पछि आँखामा पट्टी बाँधेर दुबै हात बाँधेर मंलगसेन ल्यायो । लछार्दै ल्याउँदा शरीरमा लुगा नै थिएन । तीन जना थियौं । सोधपुछ गर्‍यो, कुटपिट पनि । एक महिनासम्म पनि राम्ररी होश आएन । ब्यारेक मुनिको जंगलमा फालेको थियो रे । त्यहाँबाट माओवादीले ल्याएर उपचार गरेछन् । कालागाउँको डाक्टरले चेक गरे । बलात्कार गरेको रहेछ भनेछन् । हिंड्न सक्ने भएपछि घरमा पुर्‍याइयो । जडिबुटीको औषधि गरेँ। अरु औषधि पनि मगाएर खाएँ । धेरै ठाउँमा फारम भरेँ । कतैबाट पनि केही पाइन । कसैले पनि दुःख बुझेनन् । मंगलसेन आउन पनि मन लाग्दैन । थाकिसकेँ। बदनाम मात्रै हुन्छ ।


कक्षा ६ मा पढ्थेँ । १३ बर्षकी थिएँ । माओवादीले आफूसंग जानुपर्छ भन्थे । धम्की दिन्थे । डरले भूमिगत भइयो । अहिले घरकाले पार्टी छ भन्छन् । पार्टीले वास्तै गर्दैन । शरीरभरि टाटा छन् । पार्टीका सबैजनालाई थाहा छ । बाँच्न भन्दा उतिबेला नै मरेको भए हुन्थ्यो जस्तो लाग्छ ।


स्वास्थ्यमा समस्या छ । डाक्टरले पाठेघरमा घाउ छ भनेको थियो । तल्लो पेट दुखिरहन्छ । टाउको दुख्ने, खान मन नलाग्ने हुन्छ । खेतीपातीको काम गर्न पनि सक्दिन । सेना पुलिस देखे बेहोस हुन्छु । दिमागले काम गर्दैन । धेरै मान्छे देख्दा रिङ्गटा लाग्छ ।


गाउँलेले माओवादी भएको बेला बलात्कार पनि गरेको हो रु भनि सोध्छन् । सामान्य कुटपीट मात्र भएको हो भन्छु । गाउँघरका मान्छेले खिसि गर्छन । हेलाँ गर्छन । ६० साल जेठमा माओवादीले ल्याए । २९ गते त्यस्तो घटनामा परियो । केटाहरुलाई पनि नाङ्गै बनाए, अंगभंग गरे । पार्टीका मान्छेले आजीवन उपचार गराउँछौं भन्थे । केही गरेनन् । अहिले पार्टीका नेताहरु नचिने झैँ गर्छन् ।


सामुहिक बलात्कार गरे


देवरलाई इण्डियाबाट आएको १४ दिन पछि सेनाले मारे । घाँस लिएर घर आउँदा बाटोमा मारेको हो । ५ बजे मारेको थाहा भयो । घटनास्थल पुग्दा ६ बजेको थियो । त्यहीं साढे सात भयो । एकान्तको घर । राति फर्कंदा एउटा हातमा टर्च, एउटा हातमा आँसि थियो । त्यही बेलामा इज्जत लुटे । 

 

शरीरमा कुनै कपडा थिएन रे १ कति जनाले जोरजुलुम गरे रु थाहा पनि भएन । पाँच वर्ष सम्म पेटको पानी फालियो । अहिले निन्द्रा लाग्दैन । सेतो पानी बगिरहन्छ । उपचारमा धेरै खर्च भयो । घरकाले बुझेका छन् । गार्‍हो काम लगाउँदैनन् । घरपरिवारले राम्रो गर्दा खुसी लाग्छ । घरमा राम्रो गर्दा गाउँलेले हेप्दा रहेनछन् ।

 

कमाण्डरले जे गरेपनि हुन्छ ?


६ कक्षा पढ्दा माओवादीले अनेरास्ववियु क्रान्तिकारीमा महत्वपुर्ण जिम्वेवारी दियो । मलाई थाहा थिएन । पछि सरकारी आर्मीले टार्गेट बनायो । एक दिन रातिको ८ बजे माओवादीले मलाई जर्बजस्ती घरबाट निकालेर लगे । तँलाई आर्मीले खोजिरहेको छ । बुवा आमालाई पनि मार्छन् भने । कुट्दै कुट्दै लगे । छोड्लान कि भनेर अनेक बहाना गरेँ तर छोडेनन् । छ महिना सम्म वितृष्णा जाग्यो । विकल्प रहित भएँ । र, माओवादी पार्टीमै बसेँ।


माओवादीमा सबै संगै सुत्थे । १४ जना पुरुष भएको ठाउँमा पनि एक जना महिला सुत्थे । माया लाग्यो मन पर्‍यो भन पार्टीमा प्रस्ताव राखिन्थ्यो । गोप्यमा कसैले बिहे गरेमा कारबाहीको भागिदार हुन्थ्यो । नीति गलत थिएन । तर व्यवहार सही थिएन । हैसियत मिल्नेहरु संगै सुत्थे । तल्ला कमिटीकालाई त्यहाँ जान दिँदैनथे । एक्लै भेट्दा पनि पनि नकारात्मक नजरले हेर्थे ।


भाटाकाटेको एकजना साउद थियो । पार्टीमा एकजना अंकल पर्ने हुनुहुन्थ्यो । म उहाँसंग सुत्छु भन्दा त्यो साउद नजिक सुत्थ्यो । सुतेको समयमा मलाई चलाउँथ्यो । उ कमाण्डर थियो । छातिमा हात लगाउँथ्यो । स्तन मुसाथ्र्यो । त्यस्तो गर्दा म असाध्यै डराउँथें । रातभरी निन्द्रा लाग्दैनथ्यो । तनाब हुन्थ्यो । पाँच महिना पछि त्यो साउदले एउटी केटीसंग बिहे गर्‍यो । त्यस केटीले पनि छोडेर गई ।


५८ सालमा भूमिगत भएँ । पछि समय वित्दै जाँदा उमेर बढ्यो । महिनाबारी भयो । अलि थाहा पाउने भएँ । पार्टीले उचित जिम्मेवारी पनि दियो । त्यसबेला पनि इण्डिया भाग्न खोजेँ। तर असफल भएँ । बयला गाविसको विक्रम विष्ट बालिका बलात्कारको अभियोगमा छ महिना पार्टीको श्रम कैदमा बस्यो । माओवादीले पनि पाए कसैलाई छोड्दैनथे । नीति यो छ भनेर कहिल्यै सम्झन्नथे । डर, त्रास र लोभ देखाएर यौनजन्य हिंसा गर्थे । कतिपयको कर्तुत सार्वजनिक भएपछि मन नभएर पनि बिहे गर्थे । रामारोशनको अमर शाहले कालिकोटको बम, अछामको विक र बोहोरा थरकी केटीलाई बलात्कार गर्‍यो । पार्टीले कारवाही पनि गर्‍यो ।


कमाण्डरले जे गरेपनि हुन्छ भन्ने मनोभावना हुन्थ्यो उनीहरुमा । यस्ता घटना धेरै छन् । तर बाहिर आउँदैन । पार्टीभित्रकै कतिपय महिलाले पनि गाउँका युवाहरुसंग शारीरिक सम्बन्ध राखेका थुप्रै घटनाहरु छन् । पूर्व सभासद् शरदसिंह भण्डारीले एउटा केटीसंग गलत सम्बन्ध राखेको भन्ने आरोपमा भण्डारीमाथि पार्टीले अनुसन्धान गर्‍यो । छ महिना निलम्बन गर्‍यो । पछि सफाई पाए । माओवादीले हिंसा गरेका घटनाहरु त्यति बाहिर आएको छैन । अहिले सबैको बिबाह भईसक्यो । श्रीमान्, बच्चा, परिवार, समाज सबैका अगाडि जोखिम मोलेर भन्न मात्र नसकेका हुन् । सयौँ कमाण्डरले आफ्नो मातहतका माहिलालाई जबर्जस्ती करणी गरेका छन् । कमाण्डरका विरुद्ध कोे बोल्ने रु चुपचाप सहनुपथ्र्यो । सह्यौँ। बस्यौँ।

प्रस्तोता : टीका विष्ट

 

२०७४ असार २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्