Hilsa Yatayat

बिरहका भाका गाउन केपी ओली !

बिरहका भाका गाउन केपी ओली !

सइन्द्र राई

इतिहासका कोही पनि महामानवहरू दोषमुक्त रहेनन् । भनिन्छ– कमजोरी सृष्टिको पर्याय नै हो । चन्द्रमामा पनि दाग हुन्छ, कहावतले त्यसै भन्छ । यसो भनेर कमजोरीको सामान्यीकरण गर्न खोजिरहेको छैन, त्यसतर्फको प्रोत्साहनलाई जोड दिइएको त पटक्कै होइन । रातले दिन खोजे झैं त्रुटीले सँधै सच्याइको मार्ग खुल्ला गर्नुपर्छ । सत्यको मानक समयले निर्धारण गर्छ, समयसँगै चल्न सक्नुपर्छ । कमजोरी आफैं सच्चिएर जान्छ ।

 

आजपर्यान्त यी बुझाइबाट म मुक्त छैन । किनभने, कुनै बेला यस्तो पनि थियो । एमाले नेता केपी शर्मा ओली भन्दा अरू नेता नै बढी मनपर्ने । ओलीसँगको आशा मरेकै त नभनौं, भरोसा कम थियो । भरोसाको मानक पनि मान्छे पिप्छे फरक हुँदो रहेछ । मैले ओलीको आलोचनामा थुप्रै अभिव्यक्ति दिएको छु, आलेखहरु तयार पारेको छु ।

 

तर, समायान्तरमा अरू नेता भन्दा बढी ओलीसँग भरोसा रहन पुग्यो । यसको कारण भने पछिल्लो राजनीतिक घटनाक्रमहरुमा उनले खेलेको भूमिका नै प्रमुख हो । यसबारे छुट्टै चर्चा गरौला । अहिले यति भनौं– मलाई समयले बदल्यो वा समयसँगै ओली बदलिए । ओलीले चालेका कदम, लिएका अडान र दिएका अभिव्यक्तिहरुबाट मुलुकले अग्रगामी यात्रा नै तय गरिरहेको मेरो बुझाइ छ । तर, फेरि भनौं– कमजोरी सत्य हो । ओलीसँग थुप्रै कमजोरी छन्, मसँग छन् । निःसन्देह अरुसँग पनि हुन्छन् ।

 

नेपाली राष्ट्रिय राजनीतिक आकाशमा ओलीका थुप्रै कमजोरी मडारिएका छन्, एउटा राजनेताका रुपमा । तर, मानवका दुर्वलता छोप्नेगरी सवलताका काया बढ्दै गएपछि उसको परिचय एउटै बाँकी रहने रहेछ । दुर्वलता आफैं ओझेलमा पर्दोरहेछ । ओलीको सन्दर्भमा पनि त्यही हुने देखिन्छ । किनभने, अब ओलीको कमजोरी होइन, नेपालको इतिहासले सवलताका गाथाहरू गाउँने/लेख्ने आधार तय भइसकेको छ । ओलीको यस्तो काया निर्माणमा भने उनी आफैंले केही र केही परिस्थितिले भूमिका खेलेको छ ।

 

झण्डै सय वर्ष (१९७७ को ‘मकैको खेती’ पर्वलाई नागरिक स्वतन्त्रताको आन्दोलन मान्ने हो भने) लामो नेपालको राजनीतिक आन्दोलनलाई संस्थागत गरेको संविधान जारी गर्दा ओलीले खेलेका भूमिका र लिएको अडान इतिहासले मेट्न सक्नेछैन । किनभने, यो संविधानमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशीजस्ता विषय प्रस्तावनामै लेखिएको छ भने थुप्रै धारा, उपधारा र ऐन तथा नियमावलीमा प्रस्ट रुपमा यसबारे व्याख्या गरिएको छ ।

 

संविधान गतिशील दस्तावेज भएपनि यी व्यवस्थाहरूको विकल्प खोज्न सायद मुलुकमा प्रलय नै आवश्यक होला । किनभने, नागरिक स्वतन्त्रता र लोक कल्याणकारी राजनीतिमा नेपालले अंगीकार गरेको भन्दा उच्चतम् र उन्नत व्यवस्था दुनियाँमा अर्को छैन । हुनत, यसका जननी ओली होइनन् भन्ने नेता र दलहरू पनि नभएको भने होइन ।

 

तर, जननी दावी गर्नेहरुलाई नै ओलीले जबर्जस्त तानिरहेको दृष्य विश्व राजनीतिकको मानचित्रमा कोरिन पुग्यो । विशेषगरी, दक्षिणी छिमेक भारतले संविधान रोक्न नसकेको आवेगमा पाँच महिना लामो नाकाबन्दी गरेपछि ।

 

व्यवस्था परिवर्तन गर्न भन्दै नेपालमा बेलाबखत देखिदै आएका आन्दोलनकारीलाई साथ दिने नाममा नेपालको सार्वभौमिकता र स्वतन्त्रमाथि कुनै पर्वाह नगरी सँधै नाङ्गो हस्तक्षेप गर्नु भारतको निरन्तरता बनेको थियो । त्यो निरन्तरता भंग गर्ने ओलीको हिम्मतले उनलाई चिरकालतक चिनाउनेमा दुइमत छैन ।

 

प्रगतशील संविधान, विधिको शासन, राजनीतिक स्थीरता र समृद्ध समाज निर्माणमा उनले लिएका अडान र दिएका थुप्रै अभिव्यक्ति केही वर्षयता नेपाली राजनीतिको इपीसेन्टरमा छ । पक्ष र विपक्षमा जनमत विभाजित छन्, पार्टीहरुजस्तै । समर्थनमा देवत्वकरण गर्नेदेखि विरोधमा अर्थहीन र तर्कहीन आरोप लगाउनेको कुनै कमी छैन ।

 

ओली डक्ट्रिन भनेरै विमर्स हुँदै अर्का शीर्षक हुन्– सपना । ओलीका विपक्षी खेमाका नेता, विश्लेषक, नागरिक अगुवा र पत्रकारहरू समेत देश निर्माणका योजनाबारे ओलीको प्रायः अभिव्यक्तिलाई ‘हावादारी सपना’ भन्छन् । समर्थकहरू चाँही त्यहीँ सपनाको डुंगामा सयर भइहाल्छन् । मलाई चुप बस्न नदिने विषय पनि यही हो– कस्तो सपना देखे भरिलो हुन्छ ? अनि कस्तो देखे हावादारी ?

 

मेरो बुझाइमा सपना त जीवनको आशा हो, प्राप्तिको उर्जा । एउटा लक्ष्य हो, सुन्दर आकांक्षा । हरेकसँग भविष्य हुन्छ र सपना भविष्यको कल्पना हो । विषेशगरी आउनेवाला पुस्ता वा समयका लागि वर्तमानले सपना जन्माउनुपर्छ, जन्माउँछ । सपनाबारे महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘उद्देश्य के लिनु उडि छुनु चन्द्र एक’ कविताबारे भनौं भने महेन्द्रीय चिन्तन् भनिएला । तर, यसो भन्न त सकिएला ।

 

तपाइँ आफ्नो दुधेनानी भविष्यमा बुद्धिमान, इमान्दार वा देशको महत्वपूर्ण भूमिकामा पुगेको सपना कहिल्यै देख्नुहुन्न ? हुन्छ भने त्यो भरिलो हो कि हावादारी हो ? जुन बच्चाले आफैंलाई चिन्दैन ।

 

विश्वको कुरा छोड्यौ । नेपालमै पनि मन्त्री÷प्रधानमन्त्री, मूख्य प्रशासक वा प्रहरी अधिकृत इत्यादी जे–जति देशले पाएका छन् । ती मध्ये सवका सबको पृष्ठभूमी त उक्त पदका लागि सपनायोग्य देखिदैनन् । अर्कातिर धेरै राम्रा परिवारका सन्ततीहरु पनि भूमिकाविहीन र गुमनाम छन् । अब भन्नोस्, सपनाको कुनै मानक हुन्छ ?

 

फेरि भनौं, सपनाले नै प्राप्तिका लागि उर्जा दिन्छ, मार्ग दर्शन गर्छ । एउटा कमजोर विद्यार्थीले राम्रो अकं ल्याएर उत्तीर्ण भएको सपना देख्छन् । किसानले राम्रो अन्नबाली फलेको र त्यसबाट थप आर्जन भएको सपना देखेरै झरी, हिलो र दुखकष्ट नभनी काम गर्छन् । राजनीति गर्नेले मन्त्री भएको, व्यापारीले नाफा कमाएको, खेलाडीले पदक जितेको, संगीतकारले उत्कृष्ठ सिर्जना गरेको सपना देखेरै मेहनत गर्छन् र सफलतातिर अघि बढ्छन् । यिनै इकाइहरुको समृष्टि नै त देश हो । अनि, सबैको सपना हुन्छ भने देशको सपना किन हुँदैन ? विरोधको भाषा बुझ्न सकिदैन ।

 

केपी ओलीले मात्रै होइन, बरु शीर्ष नेताहरु र अन्य प्रधानमन्त्रीहरुले समेत सुन्दर, समृद्ध र समतामुलकसमाज निर्माण भएको र हुने संभावनाको सपना बुन्नुपर्छ÷बाड्नुपर्छ । कस्तो समाज बनाउने भन्नेबारे प्रस्टसँग जनतालाई भन्नुपर्छ । देशको कार्यकारीले भनेका र बनाएको योजनामा जनता जुट्ने अवस्था सिर्जना गर्नुपर्छ ।

 

श हामीहरुकै जोडबल तथा योजनामा बन्ने हो । प्रधानमन्त्रीलाई देशको कार्यकारी अधिकार दिइएको छ भने बहुदलीय संसदीय अभ्यासका कारण शीर्ष नेताहरुसँग स्वीकार्यकर्ता छ । त्यसैले उनीहरू देश बनाउने प्रस्ट योजनासहित मञ्चमा आउनुपर्छ । तर, कुनै नेता विशेषको विरोधका लागि संविधानप्रतिको आस्था नै कमजोर बनाउने, सरकारी योजना तथा कार्यक्रमहरुप्रति नै अविश्वास जगाउने र एकले अर्काको योजना नै नस्वीकार्ने हो भने मुलुक कसरी अगाडि बढ्छ ?

 

भविष्यमा हामी केही गर्नै सक्दैनौं । अहिलेकै अवस्थामा मुलुक चीरकालसम्म रहन्छ । देश कहिल्यै बन्न सक्दैन भन्ने निष्कर्षमा पुगिसकेका हौ ? र, एक वर्षपछि कार्यान्वयन हुने कार्यक्रमलाई समेत हावादारी सपना बाँडियो भनिएको ? विकसित मुलुकहरुले सर्यौ वर्षसम्मको गुरु योजना बुनिरहेका बेला नेपालमा विजुली बलेको, बृद्धहरू खूशी भएको, रेल गुडेको, समतामुलक समाज निर्माण भएको, मध्यम आय भएको नागरिक बनेकोजस्तो केही वर्षभित्रै पूरा हुन सक्ने कार्यक्रमहरू अनुपयुक्त त पक्कै होइन होला ।

 

अन्त्यमा, कमजोरी केपी ओलीका छन् । मूख्य समस्या सम्झौताहीन स्वभाव बहुलतायुक्त समाजका लागि उपयुक्त होइन । जुन ओलीको विशेषता नै देखिन्छ । तर, एकातिरको कमजोरीविरुद्ध मुलुककै लागि दीर्घकालीन असर पु¥याउनेगरी को–कोहोलो गर्दै जनमत बनाउनतिर लाग्नु दुर्भाग्य मात्रै होइन, दुष्प्रयास समेत हो । जनता भविष्यमा सुखी र खूशी भएको सपना राष्ट्रप्रमुखले नै दिने हो । सपना पूरा हुने सुनिश्चितता र प्रतिवद्धताले नै जनतालाई आसा र उर्जा दिन्छ । देशका कार्यकारीले नै भविष्यहीन बिरहका भाका गाएर देश कसरी बन्छ ?

(नयाँपेज डट कमबाट)

२०७४ साउन ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्