Tiwari Bhada Pasal

८४ काटेका वकिल : छोरा रिटायर्ड आफू कार्यरत

८४ काटेका वकिल : छोरा रिटायर्ड आफू कार्यरत

काशीनाथ योगी 

अस्ति भर्खर ८४ पूजा गरें । पचासी बर्षमा छु अहिले । पढ्छु, लेख्छु । चस्मा लगाउन परेको छैन । वकिल हुँ । योगी नरहरीनाथ सम्बन्धी एउटा किताब लेखेको छु । न्यायका लागि लड्ने मान्छे हुँ । कुनै विषयमा जानेर कहिल्यै कसैलाई पनि अन्याय गरेको छैन ।


मेरो जन्म देलेखको साविक गमौडी गाविस वडा नम्बर ६ बेदोग्राममा पर्छ । हामी त्यहाँका आदिबासी हौं । श्रीस्थान, नाभिस्थानका पीर, महन्तका खलक हो हामी । ५ वर्ष सम्म हजुरबुवा–आमाको प्यारमा हुर्कें । १३ वर्षपछि ‘विफर’ उन्मूलनको काममा लागें । त्यस काममा तन्त्र मन्त्रको साथै आयुर्वेदिक औषधि गर्नु पर्थ्यो ।


२०२४ सालसम्म विफर उन्मूलन सम्बन्धी काम गरें । त्यतिबेला हामीलाई ‘भेदी’ भन्थे । तत्कालिन अवस्थामा यो रोग संक्रामक मानिन्थ्यो । यस सम्बन्धि काम गर्नको लागि लाइसेन्स दिइएको हुन्थ्यो । त्यतिबेला औलो पनि थियो । त्यसैले चैत देखि असार सम्म पहाडमा काम गर्ने, वर्षामा खेतीपाति लगाउने र अरु समयमा तराइमा काम गरिन्थ्यो । यो कामको शिलशिलामा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, अछाम लगायतका ठाउँमा गएर काम गरें । २४ सालदेखि विफर उन्मूलनको काम राज्यले सुरु गर्‍यो । २५ साल देखि नीजि रुपमा यो काम गर्न सरकारले रोक लगायो । पेशा छोडें ।

Kashinath 1

त्यसपछि दैलेखको माल अदालतमा सामान्य लेखापढी गरें । २५ साल पछि औलो उन्मूलन सुरु भयो । भूमिसुधार लाग्यो । २८ सालमा बर्दियाको नौलापुर गएर बसें । ३४ सालसम्म सामान्य कृषक बनें । ३३ सालमा वीरेनद्रनगर काठमाडौं जस्तो हुन्छ । राजाले हेरेका छन्, भन्ने हल्ला चल्यो । त्यसपछि बर्दिया बस्न मनै लागेन । ३४ सालको असारमा सुर्खेत आएँ । अहिले वीरेन्द्रनगरको ४ नम्बरमा बस्छु ।


सुर्खेत आउँदा ४४ वर्षको थिएँ । केही न केही काम त गर्नैपर्‍यो । लेखापढीको काम शुरु गरें । लेखापढीको लागि अभिकर्ता हुनुपथ्र्यो । ३६ सालमा मैले सर्वोच्च अदालतमा परीक्षा दिन गएं । मुद्दा जस्तो सुकै लेख्न पाइने तर अदालतमा बहस गर्नको लागि अभिवक्ता हुनुपथ्र्यो । अभिकर्ता भएको पाँच वर्ष पछि अभिवक्ताको जाँच दिन पाइन्थ्यो । नेपालगञ्ज गएर जाँच दिएं । पास भएपछि बहस गर्न पाउने भएं । जिल्ला र पुनरावेदन अदालतमा वकिलहरुको पेशागत संगठन बन्ने भयो । म जिल्ला बार एशोसिएसनको उपाध्यक्ष भएं । पूनरावेदनमा पनि म निर्विरोध उपाध्यक्ष भएं । अहिले उच्च अदालतको समितिमा पनि उपाध्यक्ष छु ।


हाम्रो पालामा दैलेखको सदरमुकाममा एउटा भाषा पाठशाला थियो । स्कूल पढ्न पाइएन । अभिकर्ताको लाइसेन्स लिंदा दिएको परीक्षा नै मेरो जीवनको पहिलो परीक्षा थियो । मालपोतमा काम गरेका मान्छेले श्रेस्ता जानेका हुन्थे । उनीहरुसंग भेटेर पढें । १३ वर्षको हुँदा हजुरबुवा र हजुरआमाले बिहे गरिदिनु भयो । श्रीमती ११ वर्षकी थिइन् ।


५ छोरा २ छोरी छन् । २२ वर्षको हुँदा एउटा छोरा जन्मेर बित्यो । २५ वर्षमा जेठो छोरा सूर्यनाथ जन्मियो । ऊ वरिष्ठ कृषि अधिकृत भयो । माइलो हरिहरनाथ माविको शिक्षक हो । जेठी छोरी पनि प्रावि तहको शिक्षक हो । तीनै जना रिटायर्ड भए । साईंलो राष्ट्र बैंकमा अधिकृत, काईंलो नारायणनाथ मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा उपप्राध्यापक छ । ऊ अधिवक्ता पनि भएकोले संगै ल फर्ममा काम गर्छौं । कान्छो बेलपत्रनाथ सुर्खेत क्याम्पस (शिक्षा) मा उपप्राध्यापक छ । कान्छी छोरीले अंग्रेजी र जनप्रशासनमा मास्टर गरेकी छ ।

 

अहिले सुगर भएको छ । डेढ वर्ष जस्तो भयो मासु खान छोडें । जिन्दगीमा खास दुःख पाएको छैन । भजन किर्तनमा रमाउँछु । महाभारत, रामायण पढ्न मन पर्छ । म अलि धार्मिक छु । सामाजिक क्रियाकलापमा सहभागी हुन्छु । घर परिवारबाट शान्ति छ । इतिहासको अध्ययन गर्न मन पर्छ । मेरो साहित्यमा रुची छ । कविता लेख्छु । बर्दिया बसेको भए म कवि हुन्थें होला ।


पहिले पहिले त वर्षमा कम्तीमा ३० वटा मुद्दामा बहस गर्थें । अहिले पार्टी नजिकका वकिलहरु हुन लागे । अनुभवी हुनुको नाताले कतिपय त तपाईंले नै हेरीदिनुपर्‍यो भन्छन् । न्यायको मोड पनि ठीक भयो, वकिलको बहस पनि ठीक भयो भने फैसला आफ्नो पक्षमा हुन्छ । काठमाडौं गएको मौकामा एक दिन न्यायाधीस कुलप्रसाद शर्मालाई भेट्न गएँ । उहाँ बहसमा हुनुहुँदो रहेछ । म फर्कन लागेको देखेर असिस्टेन्टलाई आफ्नो चेम्बरमा बोलाएर बस्न लगाउनु भन्नुभएछ । सुर्खेत आउने सबै न्यायाधीसहरुसंग राम्रो चिनजान छ । न्यायाधीस हरिबहादुर बस्नेत सर्वोच्चमा हुृनुहुन्थ्यो अहिले रिटायर्ड हुनुभयो । मेरो इमान्दारीतालाई उहाँले विश्वास गर्नुहुन्थ्यो । न्याय मर्न कहिल्यै दिनुभएन उहाँले ।


कहिले कसो आफूले मुद्दा हेरिरहेको पक्षको कमजोर प्रमाणका कारण अर्को पक्षले जित्छ भन्ने आशंंका लाग्छ । त्यस्तो अवस्थामा म मिलापत्र गर्न सुझाव दिन्छु । न्यायाधीस समक्ष पनि मिलापत्रको प्रस्ताव गरिन्छ । किनकि मिलापत्र गर्दा दुबैको हित हुन्छ । म मेलमिलापकर्ता पनि हुँ ।


गहिरो अध्ययन वा अनुभव बिना वकिलले राम्रो काम गर्न सक्तैन । सर्वप्रथम अन्यायमा परेर मुद्दा लेख्न आएको व्यक्तिको कुरा राम्रोसंग सुन्नु पर्छ । त्यसपछि प्रमाणको संकलन गर्नुपर्छ । प्रमाण नक्कली वा गैरकानूनी अथवा कमजोर छ भने सेवाग्राहीलाई स्पष्ट भनिदिनु पर्छ कि, यस्तो भयो भने मुद्दा हारिन्छ । हामीकहाँ नआउनुस, मेलमिलापमा जानुस् । पैसा खाने वकिलले यो कुरा भन्दैन । कानूनी व्यवसाय भनेको पैसा कमाउने मात्र होइन समाजलाई न्याय दिलाउने हो । कोही अति विपन्न व्यक्ति न्यायको लागि आयो भने निःशुल्क मुद्दा लेख्न र बहस गर्नुपर्छ । मैले त्यस्ता १५/२० वटा मुद्दा लेखेको छु । त्यस्ता मुद्दा निःशुल्क गरिदिएकोमा एउटा बहसको पाँच सय रुपैंया पाइन्छ ।

Kashinath 2न्याय नै धर्म हो । न्याय भयो भने देश बन्छ । पृथ्वीनारायण शाहको दिव्य उपदेश छ ‘न्याय बिग्रन दिनु हुँदैन । न्याय बिग्रीयो भने देश बिग्रन्छ ।’ नयाँ वकिलहरुलाई मेरो सुझाव छ यो पेशा भनेको पैसा कमाउने मात्र होइन ।


सामान्य भनाभन त भयो होला तर म अहिले सम्म कुनै ठूलो विवादमा मुछिएको छैन । काईंलो छोराले पनि मेरो बाटो पछ्यायो । उ संगै काम गर्न आएपछि मलाई धेरै सजिलो भएको छ । अंग्रेजी शब्दहरु आउँदा त्यसको उल्था तथा उच्चारण गर्दा, कम्प्युटर सम्बन्धी कामहरु गर्दा निकै सजिलो भएको छ । मेरो अनुभव उसलाई सिकाउँछु । नयाँ कानूनी प्रावधान उसले सिकाउँछ ।


कानूनी दलालहरु पनि छन् । अन्याय छ भने आफ्नै मान्छेलाई पनि परास्त गर्नु पर्छ । लोभ लालचमा न्यायलाई मर्न दिनुहुन्न । पाप र धर्म भन्ने कुरा न्यायमा छ । राम्रो न्याय दिन सक्यो भने पून्य हुन्छ । अन्याय गरे पाप हुन्छ । धेरै पूजापाठ वा दान दिएर पून्य हुने होइन । अन्यायलाई सहेर कहिल्यै पनि बस्नु हुँदैन । चारजना शहिदले न्यायको खातिर आफ्नो ज्यान दिए । फलस्वरुप प्रजातन्त्र आयो । गणतन्त्रको आधार न्याय हो । राज्य, समाज, पार्टी वा व्यक्तिले न्याय दिन सकेन भने मुलुकको कल्याण हुन सक्दैैन । न्यायलाई ठूलो धर्म सम्झेर अन्यायबाट सबैलाई जोगाउँ । न्याय भनेको मुद्दा, अड्डा अदालत मात्र होइन । न्याय साना साना कुरासंग जोडिएको हुन्छ । न्याय सम्मान, विश्वास, स्वीकार्यताजस्ता विषयसंग जोडिएको हुन्छ । न्याय सर्बोपरी हो ।


अहिलेको पुस्ता अल्छि हुँदै गएको छ । पहिले पढेर के हुन्छ र ? भन्थे । गाई भैंसी पाले घिउ बेच्न पाइन्छ भनेर गोठाला पठाउँथे । पढ्ने बेलामा पढ्नु पर्छ । अहिलेको पढाई प्राविधिक ज्ञान दिने छैन । काम गर्नको दुःखले राजनीतिमा लाग्ने चलन छ । राजनीतिमा लाग्ने पनि समय हुन्छ । बेला चिन्नुपर्छ ।

 

प्रस्तोता : टीका विष्ट 

२०७४ साउन १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्