Tiwari Bhada Pasal

पुरा भएन शहिदको सपना, किन बनेन शहिद स्मारक ?

पुरा भएन शहिदको सपना, किन बनेन शहिद स्मारक ?

सेरोफेरो
२५ साउन । छैंटौं प्रदेश स्थापनार्थ सहादत प्राप्त गरेका शहिदहरुको सपना पुरा नभएको आफन्तहरुले गुनासो गरेका छन् । याम वि.सी. स्मृति प्रतिष्ठान सुर्खेतले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उनीहरुले शहिदको सपना साकार पार्ने राजनीतिक दलकाे प्रतिवद्धता पुरा हुन नसकेकाे भन्दै दुःख व्यक्त गरे ।


कार्यक्रममा बोल्दै शहिद टिकाराम गौतमका छोरा अमृत गौतमले शहिदहरुको सपना पुरा गर्न स्थानीय जनप्रतिनिधिले समेत पहल गर्नुपर्छ भन्दै अरु प्रदेश भन्दा पिछडिएको यो प्रदेशमा विकासका राम्रा कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

 

यसैगरी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष पदम बहादुर शाहीले प्रदेश स्थापनाको लागि सहादत प्राप्त गरेका व्यक्तिहरुलाई शहिद घोषणा गर्न हिच्किचाएको र सुर्खेतका विभिन्न राजनितिक दलले समेत आन्दोलन तुहाउने प्रयास गरेकाे बताए । 'आम जनताको चाहनालाई पुरा गर्न हामी निरन्तर लाग्याैं र शहिद घोषणा गर्न बाध्य बनायाैं ।' उनले भने । सरकारले करिब १ वर्ष पछि २०७३ भदौ ३ गते मात्र उनीहरूलाइ शहिद घोषणा गरेको थियो ।


वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले तत्कालिन सरकारले संविधान निर्माणका क्रममा गरेको अन्यायको प्रतिफल स्वरुप यो क्षेत्रका जनता आन्दोलित भएको बताइन् । आन्दोलनकै क्रममा राज्यको चरम दमनबाट सहादत प्राप्त गरेका वीर शहिदको सपना पुरा गर्ने प्रतिबद्वता जनाउँदै उनले भनिन्- ‘शहिदको सम्झनामा वीरेन्द्रनगर नगरपालिकाले शहिदपार्क निर्माणका लागि दश लाख रुपैया छुट्टाएको छ ।’


याम विसी स्मृति प्रतिष्ठानका सचिव भगवती विसीले राजनीति दलहरुले शहिदहरुलाई नसम्झे पनि आफूहरुले स्मृति प्रतिष्ठान गठन गरि शहिदहरुलाई सम्झिएको बताइन । ‘प्रदेश प्राप्तिले मात्रै शहिदहरुको सपना साकार हुँदैन’, उनले भनिन्- ‘अन्य प्रदेशको तुलनामा यो प्रदेश समृद्ध बने मात्र शहिदहरुले देखेका सपनाहरु साकार हुन्छन् ।’


जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले सबै राजनीतिक दलहरु एकमत भएर अगाडि बढेमा शहिदहरुको सपना साकार हुने बताए ।


तेह्र दिनसम्म चलेको अखण्ड मध्यपश्चिमको आन्दोलनमा २०७२ सालमा एकै दिन तीन जना सुर्खेतीले सहादत प्राप्त गरे । प्रहरीले चलाएको गोली लागी टिकाराम गौतम र यामबहादुर विसीको घटनास्थलमै मृत्यु भएकाे थियो भने गोपालसिं रजवारको भागदौडको क्रममा मृत्यु भएकाे थियो । जुम्लाका हरिबहादुर कुँवरको पनि आन्दोलनकै क्रममा ज्यान गयो । मध्यपश्चिमका केही जिल्लालाई ७ नम्बर प्रदेशमा मिसाइएको विरोधमा आन्दोलन भएको थियो ।

२०७४ साउन २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्