Tiwari Bhada Pasal

सम्बन्धन जरुरी छ, छैन ? किन ?

सेरोफेरो
सम्बन्धन जरुरी छ, छैन ? किन ?

१२ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) को स्थापना मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ बमोजिम भएको हो । स्थापना भएको सात बर्षमा एमयुले विभिन्न शैक्षिक एवं प्रशासनिक गतिविधि सञ्चालन गरेको छ । विश्वविद्यालयमा मानविकी र सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षा, विज्ञान तथा प्रविधि र इन्जिनियरिङ संकाय अन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् भने कानुन र स्वास्थ्य विज्ञान संकाय सञ्चालनको तयारीमा छ ।

 

साविकको वीरेन्द्रनगर बहुमुखी क्याम्पसको भवनमा सञ्चालित विश्वविद्यालयले हाल विज्ञान तथा प्रविधि संकायको आफ्नै नवनिर्मित भवनमा कार्यक्रम सञ्चालन गरेको छ । यस्तै इन्जिनियरिङ संकाय अन्तर्गत केन्द्रीय क्याम्पस भवन वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० स्थित सानो सुर्खेतमा निर्माणाधीन छ । वीरेन्द्रनगरकै केन्द्रको रुपमा रहेको कुइनेपानीमा विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणको चरणमा छ ।


विश्वविद्यालयले विभिन्न सेमिनार, गोष्ठी र कार्यशालाको आयोजना, अतिथि कक्षाका साथै प्रतिष्पर्धी शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । सेमेष्टर प्रणाली लागु गरेको विश्वविद्यालयमा द्वन्द्व र शान्ति अध्ययन, अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति, सामाजिक कार्य, पत्रकारिता, हाइड्रो इन्जिनियरिङ, एमबिए, बिबिए जस्ता नयाँ विषयमा अध्ययन अध्यापन भइरहेको छ । यसबाट उत्पादित विद्यार्थीहरु हाल विभिन्न क्षेत्रमा स्व/रोजगार बनेका छन् ।


हालैमात्र एमयुले इन्जिनियरिङ र व्यवस्थापन संकाय अन्तर्गत विभिन्न शैक्षिक कार्यक्रमलाई प्रतिष्पर्धी र विश्व सुहाउँदो बनाउन सम्बन्धन प्रकृयामा जानुपर्ने निश्कर्षसहित सम्बन्धनको प्रकृया अघि बढाएको छ । यसै सम्बन्धनको विषयलाई लिएर विश्वविद्यालय भित्र र बाहिर विभिन्न स्वरहरु गुञ्जिएका छन् । यसै सम्बन्धमा मुखरित भएका विभिन्न स्वरलाई सेरोफेरो चौतारीमा पस्कने प्रयास गरिएको छ ।


सम्बन्धन अहिलेको आवश्यकता हैन
Anil Shahiअनिल बहादुर शाही

केन्द्रीय सदस्य, नेपाल विद्यार्थी संघ


हाम्रो आन्दोलन मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई सम्वृद्ध बनाउनलाई हो । सम्बन्धन दिनुहुँदैन भन्ने हाम्रो सोच होइन । सबै विश्वविद्यालयले सम्बन्धन दिन पाउने नियम हुन्छ । तर यहाँको केन्द्रीय क्याम्पस व्यवस्थित हुन सकेको छैन । अहिले सम्बन्धन दिन लागेका विषयहरु एमयुको केन्द्रीय क्याम्पसमा सञ्चालन हुन सकेका छैनन् । त्यति मात्रै होइन यहाँको केन्द्रीय क्याम्पसमा सञ्चालन भएका र सम्बन्धन दिन खोजिएका विषयहरुको पाठ्यक्रम समेत तयार भएको छैन । त्यसैले अहिले सम्बन्धन दिन आवश्यक छैन भन्ने हो ।


विश्वविद्यालयलाई एउटा सीमाभित्र मात्रै बनाउन खोजेको पनि होइन । तर अहिलेको सन्दर्भमा नीजि सम्बन्धन उपयुक्त छैन भन्ने मात्र हाम्रो माग हो । यो विषयमा विश्व विद्यालय अनुदान आयोगले पनि आफ्नो धारणा राखिसकेको छ । पटक पटक विश्वविद्यालयलाई सचेत पनि गराएको छ । यता हाम्रो आन्दोलन जारी छ । यत्रो आन्दोलनका बाबजुद किन सम्बन्धन दिन खोजिरहेको छ ? भन्ने कुरा शंकास्पद छ ।


यो क्षेत्रका जनताको लगानी र सहयोगबाट स्थापित एमयुलाई अझ व्यवस्थित बनाउँ । नयाँ विषयहरु सञ्चालन गरौं । केन्द्रीय क्याम्पसलाई नमूना बनाऔं । त्यसपछि यो क्षेत्रका विभिन्न क्याम्पसमा विभिन्न कार्यक्रम शुरु गरौं । काठमाडौंको क्याम्पसलाई सम्बन्धन दिन हतार नगरौं । यो कुरा सिनेटमा किन उठाइँदैन ? बरु पद छोड्ने तर सम्बन्धन कुनै पनि हालतमा दिने भन्ने पदाधिकारीहरुको निष्कर्ष छ । जसको आडमा आर्थिक चलखेल छ भन्ने लाग्छ । किन शान्तिपूर्ण रुपमा लगाइएको ताला विश्वविद्यालयले फोड्यो ?


जेठ १९ देखि आन्दोलन सुरु भएको हो । हिजोका दिनमा विभिन्न एजेण्डा थिए । आजको दिनमा सम्बन्धन प्रक्रियालाई स्थगित गर्ने एक मात्र एजेण्डा छ । यही विषयमा आन्दोलनको अगुवाइ गरेको आरोपमा मलाई विश्वविद्यालयबाट निष्काशन गरियो । अहिले पनि प्रशासनमा मेराे नाममा मुद्दा छ । विगत देखिको आन्दोलनको बेवास्ता किन भइरहेछ ? किन विद्यार्थी, प्राध्यापक, राजनीतिक पार्टी र पत्रकारलाई समेत फुटाउने काम गरिएको छ ? नियत प्रष्टै छ ।

 

त्यसैले तत्कालका लागि वार्ता र संवादको माध्यामबाट विद्यार्थीले उठाएका जायज मागहरु सम्बोधन गर्ने र नीजि सम्बन्धनलाई स्थगित गरी विश्वविद्यालयको केन्द्रीय क्याम्पसलाई व्यवस्थित गराउने निर्णय गरियो भने त्यसको स्वागत हुन्छ ।


पदाधिकारी कुनै छलफल गर्न चाहन्नन्

Dhupendra Shahiधुपेन्द्र शाही
संयोजक, अनेरास्ववियु, जिल्ला समिति सुर्खेत 


एमयुले काठमाडौंका केही नीजि क्याम्पसलाई जुन सम्बन्धन दिने प्रक्रिया अगाडि बढाएको छ त्यसको विरोधमा अहिले संयुक्त विद्यार्थी आन्दोलनमा छ । सम्बन्धन दिनु अघि आफ्नो केन्द्रीय क्याम्पस शैक्षिक, प्रशासनिक र भौतिक हिसाबले सम्पन्न हुनुपर्छ । अहिले पनि सबै विषयको पाठ्यक्रम छैन । प्राध्यापकहरु स्थायी गरिएको छैन ।


यो त पाँच बर्षीय बच्चाको बिहे गर्न लागेजस्तो भयो । यहाँका जनताको लामो र अथक प्रयासले एमयुको स्थापना भएको हो । स्वभाविक हिसाबले सबैभन्दा पहिला यो क्षेत्रका क्याम्पसलाई आङ्गिक बनाइनुपर्छ । मध्यपश्चिम क्षेत्रका १० वटा क्याम्पसलाई आङ्गिक बनाउने सम्बन्धमा सरकारले निर्णय गरेको छ । त्यसलाई कार्यान्वयन गरेर मात्र बाहिर सम्बन्धन दिनुपर्छ ।


यो सबै अस्तव्यस्ततामा आन्दोलनको बावजुद पनि सम्बन्धन दिने एकोहोरो प्रयास छ यसमा आर्थिक चलखेल छ भन्ने मलाई लाग्छ । यदि सम्बन्धन दिने नै हो भने यहाँका बिद्यार्थी, प्राध्यापक, राजनीतिक दल, स्थानीयवासी, नागरिक समाज लगायत अन्य सरोकारवालाहरुसंग बृहत छलफल गरिनुपर्छ । पदाधिकारीहरुले विश्वविद्यालय स्थापनामा योगदान गरेका सबैलाई सम्बन्धन दिनुको औचित्य बताएर सहमति निर्माण गरेमा आन्दोलन फिर्ता लिएर त्यसमा सहयोग गर्छौं । तर उहाँहरु यो कुनै छलफल गर्न चाहनुहुन्न ।


अनेरास्ववियु शिक्षामा भइरहेको नीजिकरणको बिरोधी हो । एमयुले शुरुमा आङ्गिक क्याम्पस बनाओस । त्यसपछि आवश्कताका आधारमा सम्बन्धन दिनु पर्ने भयो भने प्रक्रिया सुरु गर्ने हो । आफ्नो नियत अनुकुल नीति निर्माण तथा निर्णय गरेर नियम संगत काम गरिरहेका छौं भन्नु उचित होइन । विश्वविद्यालयले सबैको अपनत्व लिन सक्नुपर्छ ।


राम्रो हुँदाहुँदै पनि सान्दर्भिक छैन

Rajendra Budhaराजेन्द्र बुढा
बिद्यार्थी नेता, अनेरास्ववियु (क्रान्तिकारी)


एमयुले दिन लागेको सम्बन्धन खारेजको लागि हामी आन्दोलित छौं । सम्बन्धन धेरै सकारात्मक कुरा हो । तर सबै कुराको समय र प्रक्रिया हुन्छ । मध्यपश्चिम क्षेत्रका जनतालाई शिक्षामा पहुँच बढाउन र निम्न आय भएका व्यक्तिका छोराछोरीले उच्च तथा गुणस्तरीय शिक्षा हासिल गर्न पाउन् भनेर यो विश्वविद्यालय स्थापना गरिएको हो ।


अहिले पाँचवटा क्याम्पसहरु छन् । जसमा करिब तीन हजार बिद्यार्थीहरु अध्ययनरत छन् । कुनैपनि क्याम्पसको धरातल बलियो छैन । यस्तो अवस्थामा सम्बन्धन दिनु भनेको आत्मघाती कदम हो । १२ वटा क्याम्पसलाई आङ्गिक बनाउने कुरा छ त्यसलाई अगाडि बढाउनु पर्छ । यहाँका बिद्यार्थी स्नातक पछि स्नातकोत्तर पढ्न काठमाडौं जानु पर्छ । यस्तो अवस्थामा सम्बन्धन दिनु राम्रो हुँदाहुँदै पनि सान्दर्भिक छैन ।


जिम्मेवार क्षेत्रमा रहेका प्राज्ञिक व्यक्तिहरुले सबै सरोकारवालाहरुको राय, सल्लाह र सुझाव लिएर अगाडि बढ्नुपर्ने हो । पदाधिकारीको एकलौटी ढिपीले ‘दालमे कुछ काला हे’ भनेजस्तो लाग्छ । हामी हिजोदेखि नै शान्तिपूर्ण आन्दोलन गर्दै आएका छौं । आन्दोलनको रुप हिंसात्मक र विध्वंसात्मक बनाउने मनस्थितिमा हामी छैनौं । विश्वविद्यालयका पदाधिकारीको बुद्धि फिरोस् ।


अरु विश्वविद्यालयका कार्यक्रम यहाँपनि छन्

Jhakka Shahiझक्कबहादुर शाही
अध्यक्ष, स्वतन्त्र विद्यार्थी युनियन, मपवि, केन्द्रीय क्याम्पस, सुर्खेत


सम्बन्धन एउटा पक्षवाट हेर्दा आवश्यक छ । अर्को पक्षवाट हेर्दा अलि हतार भयो कि भन्ने लाग्छ । हुनत विश्वविद्यालयका कार्यक्रमहरु विस्तार गर्न जरुरी देखिन्छ । यसको लागि जनशक्तिको व्यवस्थापन र अन्य व्यवस्थापकीय पक्ष महत्वपूर्ण छ ।


हामी सम्बन्धन दिनु हुँदैन भन्दैनौं । सुर्खेतमा पनि त्रिभुवन विश्वविद्यालयका कार्यक्रम सञ्चालनमा छन् । पूर्वाञ्चल, पोखरा र कृषि तथा वन विश्वविद्यालयका कार्यक्रम आउँदैछन् । कार्यक्रमहरु विस्तार गर्दा विश्वविद्यालयलाई नाफा हुन आवश्यक छ । हामी विश्वविद्यालयको फाइदा र प्रगतिको पक्षमा छौं । बाहिर सम्बन्धन दिंदा यस क्षेत्रलाई अन्याय गरेको भनी बुझ्न हुँदैन । यस क्षेत्रको हितका लागि पनि शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ । सम्वन्धन दिने विषयमा हाम्रो विरोध छैन ।

 

सम्बन्धनले नाम र दाम दुबै दिन्छ

Prachanda Pokhrelप्रचण्ड पोखरेल
अध्यक्ष, प्राध्यापक मञ्च नेपाल, मपवि समिति


यो विषयमा हाम्रो संगठनको प्रष्ट धारणा छ । विश्वविद्यालयले ऐन र नियमको परिधीमा रही काम कारबाही गर्न पाउँछ । बहुमुखी क्याम्पसमा सिमित विश्वविद्यालयलाई हामीले विभिन्न कार्यक्रमको माध्यामवाट व्यापक बनाउन जरुरी छ ।


सम्बन्धन दिएर मात्र भन्दा पनि यसको कसरी व्यवस्थापन गर्ने भन्नेमा ध्यान दिनुपर्छ । ऐन नियममा यति बर्ष नपुगी सम्बन्धन नदिनु भन्ने प्रावधान छैन । त्यसैले ढिलो चाँडोको बहस नै व्यर्थ हो । विवादमा अल्झनु भनेको संस्थाको प्रगतिमा बाधक बन्नु हो । विश्वविद्यालयले पनि आफ्ना योजना तथा कार्यक्रम पारदर्शी रुपमा र सवैले बुझ्ने भाषामा जनसमक्ष राख्नुपर्छ ।

 

नेपालका अन्य विश्वविद्यालय र केही विदेशी विश्वविद्यालयका कार्यक्रम पनि काठमाडौं केन्द्रीत भएको पाइन्छ । एमयुले पनि बजार पाइने स्थानमा आफ्ना कार्यक्रमहरु सञ्चालन गर्नु राम्रो कुरा हो । यसले विश्वविद्यालयलाई नाम र दाम दुबै दिन्छ । सम्बन्धन दिन लागेकै कुरामा विश्वविद्यालयको बदनाम गर्न खोज्नु हुँदैन । सबै सरोकारवालाहरुलाई राम्रोसंग बुझाएर सम्बन्धन दिन आवश्यक छ ।

 

हिंड्न नजान्दै दौड्न खोजेजस्तो भो

Tika Pokhrelटीकाप्रसाद पोखरेल
कार्यवाहक अध्यक्ष, नेपाल प्राध्यापक समाज, मपवि समिति


विश्वविद्यालय ऐन नियमअनुसार सम्बन्धन दिनु विश्वविद्यालयको समग्र विकास, विस्तार र उचाइका लागि आवश्यक कुरा हो । प्रारम्भमा निर्धारित आँगिक क्याम्पसलाई पूर्णतः नसमेटी पूर्वाधार व्यवस्थापन विना थालिएको कदम आधारभूत रुपमा फलदायी हुन नसक्ने हो कि ? कतै हिंड्न नजानेरै दगुर्न खोजेजस्तो होला कि भन्ने चिन्ता छ ।


विवादको विषय बनाउन आवश्यक छैन

Rajesh Joshiराजेश जोशी गौतम
अध्यक्ष, नेपाल लोकतान्त्रिक प्राध्यापक संगठन, मपवि समिति


विश्वविद्यालयले आफ्ना कार्यक्रम संचालन गर्न पाउनु पर्छ । यसलाइ विवादको विषय बनाउन आवश्यक छैन । सम्बन्धन दिनु यो संस्थाको लागि राम्रो कुरो हो । तर यसको लागि विश्वविद्यालयले जनशक्ति व्यवस्थापन गर्न आवश्यक छ । प्राध्यापकहरु वृत्ति व्यवस्थापनको पर्खाइमा छन् । यसमा पनि ध्यान दिन आवश्यक छ ।


गुणस्तर शैक्षिक कृयाकलापबाट बढ्ने हो, आन्दोलनबाट हैन

Tej Bikram Basnetतेजविक्रम बस्नेत
अध्यक्ष, नेपाल प्रगतिशील प्राध्यापक संगठन, मपवि सुर्खेत


मध्यपश्चिमाञ्चल विश्वविद्यालयको शैक्षिक कार्यक्रम विस्तारका लागि आँगिक र सम्बन्धन दिने कुरा निर्विबाद छ । मपवि ऐनमै आधार क्याम्पसका रुपमा उल्लेख भएको सुर्खेत क्याम्पस (शिक्षा)लाई यथाशिघ्र विश्वविद्यालयमा समायोजन गर्नुपर्छ । सुर्खेत क्याम्पस शिक्षामा नै केन्द्रीय क्याम्पस सञ्चालन गरी त्यहाँको जनशक्ति तथा सम्पत्ति एमयुले प्रयोग गर्नुपर्छ ।


सम्बन्धन र आँगिकका सम्बन्धमा विश्वविद्यालय ऐन नियम अनुरुप अघि बढ्ने कुरा स्वाभाविक छ । सम्बन्धन दिंदा विश्वविद्यालयलाई आर्थिक र जनशक्तिका दृष्टिले पनि फाइदा पुग्ने देखिन्छ । यस क्षेत्र लगायत देशैभरी प्रतिष्पर्धात्मक क्षमता वृद्धि हुनजान्छ । फलतः शैक्षिक गुणस्तर बृद्धि हुन्छ । गुणस्तर शैक्षिक कृयाकलापबाट बढ्ने हो आन्दोलनबाट हैन ।


उच्च शिक्षाका नाममा नेपालबाट बर्षेनी अर्बौं रुपैया विदेश गएको छ । यसलाई कम गर्न सम्बन्धनले केही हदसम्म सम्बोधन गर्ने देखिन्छ । आँगिक वा सम्बन्धन दिंदा प्राविधिक विषयलाई जोड दिनुपर्छ । विश्वविद्यालय पूर्ण, स्वायत्त र उत्कृष्ट प्राज्ञिक केन्द्र हो । भूमण्डलीकरणको युगमा विश्वव्यापी बजारमा आवश्यक प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य लिनु समयको माग हो । मुलुकको तीनखम्बे अर्थनीति अनुरुप शिक्षा क्षेत्रको विकास हुनु स्वाभाविक हो ।


विश्वविद्यालय आफ्नै गतिमा छ । कसैलाई चाहिंदा हिंड्ने नत्र रोकिने होइन । आगामी २० बर्षभित्र कहाँ पुग्ने ? त्यसका लागि कसरी अघि बढ्ने ? भनेर उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाको नेतृत्वमा २० रणनीतिक योजना निर्माण भएको छ । जसमा राजनीतिक दल लगायत सबै सरोकारवालाहरुको विचार छ । उहाँहरुकै सहमतिमा सम्बन्धनको कुरा गरिएको हो । यो हठात् आकास्मिक नभएर प्रकृयागत हिसाबले नै अघि बढाइएको विषय हो ।


एमयुको नाम यस क्षेत्रसंग भावनात्मक रुपमा जोडिए तापनि यो राज्यको लगानीमा बनेको स्वायत्त केन्द्रीय विश्वविद्यालय हो । विश्वविद्यालयलाई यस क्षेत्रमा मात्र सिमित गरेर राख्छु भन्नु छोरी बुहारीलाई घरबाट बाहिर नजाउ भनेजस्तै हो ।


बाहिर सम्बन्धन दिएका कार्यक्रममा यस क्षेत्रका निश्चित प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनुपर्छ । हामीले सकारात्मक सौदावाजी गर्न सक्नुपर्छ । मुलुकका विभिन्न विकसित क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा समेत यस क्षेत्रको हितलाई सर्बोपरी मानी काम गर्न सकिन्छ । यस क्षेत्रको व्यक्ति भोली ज्ञान र सीपले भरिपूर्ण भएपछि यही क्षेत्रमा आएर काम गर्न सक्छ । विश्वविद्यालय वा ज्ञानको दायरा सिमित बनाउने कुरा आजको युगमा संभव छैन ।


काम गर्न खोज्दा समय भएको छैन भन्ने, कामै नगरी बस्ने हो भने नालायक भन्ने हाम्रो प्रवृत्तिनै हो । सधैं शिशु विश्वविद्यालय भनेर बसिरहने ? कि विश्वविद्यालयलाई विश्वमञ्चमा प्रतिष्पर्धी बनाउन कम्मर कस्ने ? यस कुरा यस क्षेत्रका जनताले बुझ्नु जरुरी छ । विश्वविद्यालयको विकासको लागि जनसमर्थन जरुरी छ ।


सम्बन्धन भन्नासाथै आर्थिक चलखेल हुन्छ भनेर बुझ्नु हुँदैन । पैसा त विश्वविद्यालयलाई निश्चय नै आउँछ । तर त्यसबाट प्राप्त रकम विश्वविद्यालय र बिद्यार्थीको विकासमा खर्चिनुपर्छ ।


सबैको सहमतिमा पछि दिउँला

Chitra Khatriचित्रबहादुर खत्री
अध्यक्ष, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, मपवि समिति


सम्बन्धनको विषयमा विश्वविद्यालयमा क्रियाशील विभिन्न बिद्यार्थी संगठनले आन्दोलन गरिरहेका छन् । त्यसमा राष्ट्रिय प्राध्यापक संगठनले पनि समर्थन गरेको छ । काठमाडौंका चलिरहेका क्याम्पसलाई सम्बन्धन दिने सूचना आएपनि हामीले पहिले विश्वविद्यालयलाई व्यवस्थित गरौं । आफू आफ्नो खुट्टामा उभिएपछि मात्र सम्बन्धन दिनुपर्छ भन्ने हाम्रो विचार हो । विश्वविद्यालयलाई एउटा घेरामा राख्ने हाम्रो मनसाय होइन । हामीले पाठ्यक्रम तयार गर्न सकेका छैनौं । कक्षा कोठाको व्यवस्थापन गर्न सकेका छैनौं । पुस्तकालय व्यवस्थित गर्न सकेका छैनौं । यहाँका शिक्षक कर्मचारीलाई स्थायी गर्न सकेका छैनौं ।


यस्तो अवस्थामा हामी जस्तो भर्खर स्थापना भएको विश्वविद्यालयले स्थापित कलेजहरुलाई सम्बन्धन दियौं भने यहाँका कार्यक्रमहरु प्रभावित हुन सक्छ । उनीहरुबाट नियन्त्रित हुन सक्ने सम्भावना हुन्छ । सम्बन्धन दिएका क्याम्पसलाई अनुगमनको संयन्त्र हामीसंग छैन । यस्तो अवस्थामा सम्बन्धन दिनुले विश्वविद्यालयको ब्राण्डीङ होइन साख घट्छ । दिर्घकालीन रुपमा असर पुर्‍याउँछ । त्यसैले सम्बन्धन अहिलेको आवश्यकता होइन बरु १८ वटा क्याम्पसलाई आङ्गिक बनाउने कुरालाई अगाडी बढाउँ भन्ने हाम्रो भनाई हो ।


विश्वविद्यालयले विधि विधान अन्तर्गत सम्बन्धन दिन लागेको पदाधिकारीहरु भन्नुहुन्छ । तर यसले यहाँ अध्ययनरत बिद्यार्थीलाई के असर पर्छ ? अन्य कार्यक्रमलाई के असर पर्छ भन्ने सोच्नु पर्दैन ? यसर्थ आर्थिक चलखेल छैन भन्न सकिन्न । अहिले सम्म एमयुका पदाधिकारीको शैली केही राम्रो गर्नु पर्छ भन्ने छ । पहिले भन्दा धेरै कामहरु भएका छन् । त्यसमा हाम्रो समर्थन छ । चौतर्फी बिरोध भइरहेको सन्दर्भमा सम्बन्धनको प्रक्रिया रोक्नुपर्छ । अहिले जग बलियो बनाउँ । सबैको सहमतिमा पछि सम्बन्धन दिउँला ।


विश्वविद्यालयभित्र विभिन्न विचारहरु आउनु स्वाभाविक हो

Rupesh Khatriरुपेश खत्री
अध्यक्ष, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, मपवि समिति


विश्वविद्यालय स्थापना भएको सात वर्ष पुरा भइसक्यो । अझैपनि जस्ताको तस्तै बस्नु भनेको बच्चाको शारीरिक विकास नहुनु जस्तै हो । ऐन नियम बमोजिम प्रकृया पुरा गरेर सम्बन्धन दिंदा हाम्रो संगठनलाई कुनै आपत्ति छैन ।


यति ठूलो विश्वविद्यालयभित्र विभिन्न विचारहरु आउनु स्वाभाविक हो । विश्वविद्यालयले प्राध्यापकहरुको व्यवस्थापन समयमै गर्न आवश्यक छ । विश्वविद्यालयका शैक्षिक कार्यक्रम एउटा क्षेत्रमा मात्र सिमित गर्न खोज्नु हुँदैन ।

 

संस्थालाइ विवादमा तान्न हुँदैन

Sitaram Karkiसिताराम कार्की
अध्यक्ष, मौदगल्य सेवा समाज, सुर्खेत


यो विश्वविद्यालय सुर्खेती जनताको ठूलो त्याग बाट प्राप्त भएको हो । विश्वविद्यालय स्थापनार्थ मौदगल्य सेवा समाजले महायज्ञ सञ्चालन गरी ठूलो आर्थिक स्रोत जुटाएको थियो । जसका कारण सुर्खेतमै विश्वविद्यालय स्थापना गर्न नागरिकस्तरबाट दबाव सृजना भएको हो ।


यसमा सम्पूर्ण सुर्खेती जनताको मिहनेतको कमाइ लगानी भएको छ । दाताहरुलाइ कबोल गरे बमोजिम अर्धकदको शालिक निर्माण र शिलालेखमा नाम लेख्ने कार्य भइरहेको हामीले जानकारी प्राप्त गरेका छौं । आशा छ यसमा सबै पदाधिकारीहरु गम्भीर भएर लाग्नु हुनेछ । हामीले यो विश्वविद्यालय विवादरहित संचालनमा आएको देख्ने रहर छ ।


सम्बन्धनको सम्बन्धमा हाम्रो कुनै पनि टिप्पणी छैन । हामीले विश्वविद्यालयका पदाधिकारीहरुलाई भेटेरै यो संस्थालाइ विवादमा तान्न नहुनेमा सचेत गराएका छौं । विश्वविद्यालयले नीति नियमभित्र रही आफ्ना कार्यक्रमहरु सञ्चालन गर्ने अधिकार छ ।

 

हामी विश्वविद्यालय बनाउने पक्षमा छौं

Mahendra Mallaडा. महेन्द्र कुमार मल्ल
रजिष्ट्रार, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत


विश्वविद्यालयमा सम्बन्धनको असन्तुष्टिलाई लिएर भएको आन्दोलन सहमतिमा टुङ्गिएको हो । अहिले पनि केही विरोधका स्वरहरु सुनिएका छन् । व्यक्तिगत स्वार्थ र स्पष्ट बुझाई नभएका करण त्यसो भएको हो ।


सम्बन्धन दिने निर्णय हामीले उपयुक्त समयमा गरेका छौं । विश्वविद्यालय स्थापना भएको सात वर्ष पुरा भयो । विश्वविद्यालयका कार्यक्रमहरु अब पनि फैलन नदिने हो भने निकै ढिला हुन्छ । पछि त्यसको घाटा व्यहोर्न पनि हामी तयार हुनुपर्छ ।


विश्वविद्यालयको भदौ १ गते बसेको कार्यकारी परिषदको बैठकको निर्णय अनुसार सम्बन्धन प्रकृयालाई अगाडि बढाउने र आगामी मंसिर सम्म ३० वटा क्याम्पसलाई सम्वन्धन दिने तयारी भैरहेको छ । यी सबै काम ऐन नियमको परिधीभित्र बसेर गरिएको छ । नेपाल सरकारले विश्वविद्यालय चलाउनु भनेर उपकुलपति र मेरो नियुक्ति गरेको हो । हामी विश्वविद्यालय विगार्ने पक्षमा कहिल्यै छैनौं ।


विश्वविद्यालयलाई आर्थिक रुपमा समेत सबल बनाउन आवश्यक छ । सरकारले सिमित श्रोत मात्र प्रदान गरेको अवस्थामा हामी यसको थप विकासको लागि समयमै सोच्न जरुरी छ । यसको लागि सार्वजनिक नीजि साझेदारी (थ्री–पि) मोडेल बाट अगाडि बढ्न लागिएको हो । यो अहिलेको आवश्यकता पनि हो ।


यस क्षेत्रका १० वटा सामुदायिक क्याम्पसलाई आँगिक बनाउने प्रकृया तिब्र गतिमा अघि बढको छ । आवश्यक अध्ययन पश्चात् क्याम्पसहरुसंग प्रस्तावना मागिनेछ । यसको लागि आवश्यक बजेट विनियोजन गरिएको छ । विश्वविद्यालय अनुदान आयोगसंग समन्वय गरी अघि बढिनेछ ।


यो विश्वविद्यालय आशलाग्दो गतिमा अगाडि बढिरहेको छ । साविकको वीरेन्द्रनगर बहुमुखी क्याम्पसमै विश्वविद्यालयलाइ समिति गर्ने जुन सोच छ त्यो नै यसको बाधक हो । यो कदापी राम्रो कुरा होइन । हामी यस क्षेत्रका राजनीतिक दल, बृद्धिजिवी, बिद्यार्थी तथा पत्रकारहरुसंग समन्वय गरिरहेका छौं । विश्वविद्यालयको विकासको लागि नियम र कानुनको परीधिभित्र रही पदाधिकारीले कुनै कसर बाँकी राख्नुहुन्न भन्ने हाम्रो सोच हो ।

 

प्रस्तुति : टिका विष्ट/गणेश वली

२०७४ भदौ १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्