Birendranagar Municipality

कर्णाली प्रदेश र शहिदको सपना

सम्पादकीय
कर्णाली प्रदेश र शहिदको सपना

देशका निम्ति ज्यान दिने शहिद हुन् । प्रदेशका निम्ति ज्यान दिने शहिद हुन् । हुनत मुलुकमा हुने सबै आन्दोलनमा सहभागी सबै मान्छे मर्दैनन् । शहिद त्यो भीडको संवाहक हो । परिवर्तन चाहनेहरुको प्रतिनिधि हो । क्रान्तिको झिल्को हो ।


परिवर्तनपछि शासन सत्तामा पुग्नेहरुले यो झिल्को निभ्न दिनु हुँदैन । शहिदका तस्विर भित्तामा टाँगेर वा तिनका शालिकमा माला झुण्ड्याएर मात्रै शहिदको सपना पूरा हुँदैन । न त शहिदका नाममा गरिने राजनीतिनै त्यसको अभीष्ट हो ।


शहिदप्रतिको उच्च सम्मान भनेकै जिउँदा जाग्दाको भलाई हो । नागरिकका अधिकारहरुको रक्षा हो । 'शहिदले देख्ने होइन क्यारे' भनेर ‘जे पायो त्यही’ गर्नु शहिदको अपमान हो । तिनका सपनाको कुठाराघात हो ।


प्रदेश प्राप्तिका लागि गरिएका आन्दोलन संघीय नेपालको पछिल्लो नागरिक/राजनीतिक आन्दोलन हो । संविधान निर्माणताका गरिएको प्रदेश विभाजनको प्रारम्भिक खाका मान्दैनौं भनेर कर्णालीवासीले गरेको आन्दोलन नै कर्णाली प्रदेश प्राप्तिको साधन र साध्य दुबै हो ।


अखण्ड मध्यपश्चिमका नाममा सुर्खेतमा भएको आन्दोलन र त्यसकै समर्थनमा अन्य जिल्लामा भएका आन्दोलनमा ४ जनाले ज्यान गुमाए । ‘हामी डोटी जाँदैनौं’ भन्ने नारा लगाइएको उक्त आन्दोलनले वैज्ञानिक सीमाङ्कन र कर्णालीको समृद्धिलाई केन्द्रमा राखेका थिए । संघर्ष समितिका संयोजक तेजविक्रम बस्नेतले २०७२ साउन २४ गते आव्हान गरेको आन्दोलन १३ दिनपछि अलग्गै प्रदेश प्राप्तिसंगै आजकै दिन (भदौ ४) अन्त्य भयो ।


आन्दोलनमा सबै क्षेत्र र पक्षको साथ रह्यो । कर्णालीको उपेक्षा महंगो पर्ने तत्कालीन नेतृत्वलाई लाग्यो होला शायद । कर्णालीसहित ७ प्रदेशको नयाँ नक्शामा सहमति भयो । २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो ।


हाल संघीय नेपालमा कर्णाली प्रदेश छ । यहाँ छुट्टै सरकार समेत छ । प्रदेश प्राप्तिको गौरवस्वरुप सरकारले आजको दिन कर्णालीभर सार्वजनिक विदा दिएको छ । यद्धपी प्रदेश सरकार गठन भएको तीन वर्ष पुगिसक्दा पनि अभाव मात्र देखाएर प्रदेशको विकास छल्दै आएको जनगुनासो छ । भौगोलिक हिसाबले सबैभन्दा ठूलो र जनसंख्याका हिसाबले सबैभन्दा सानो कर्णाली प्रदेशमा समृद्धिको संभावना प्रशस्तै छन् ।


सबैभन्दा पहिला नामाँकन गरेर उच्च राजनीतिक संस्कार प्रस्तुत गरेको प्रदेशमा नेतृत्व गर्नेले ‘माल पाएर चाल नपाएजस्तो’ गर्ने, विभिन्न बाहनावाजी गरेर अलमल गर्ने तथा राजनीतिक दाउपेचको दाईंमात्रै हालेर शहिदको सम्मान हुँदैन । शहिदको सपना नै कर्णालीको समृद्धि हो । जब गन्तव्य प्रष्ट छ भने यात्रामा अलमल गर्नुको अर्थ के ?

२०७७ भदौ ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्