Birendranagar Municipality

सगरमाथाको उचाइ अब ८८४८.८६ मिटर

सेरोफेरो
सगरमाथाको उचाइ अब ८८४८.८६ मिटर

२३ मंसिर । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन्।

 

यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो। अहिले ८ हजार ८ सय ४८ दशमलव ८६ पुगेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो ।

 

टोलीले ग्लोवल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो। यो प्रविधि सबैभन्दा अत्याधुनिक प्रविधि मानिन्छ। नेपालले पहिलो पटक आफ्नै स्रोत, साधन र प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको नापी विभागले जनाएको छ।

 

यस्तै नेपालले सगरमाथाको मापनको काम अन्तिम चरणमा पुर्‍याएको बेला चीनले पनि उत्तरी मोहडाबाट सगरमाथाको मापन शुरु गरेको थियो।

 

गत मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेको थियो।

२०७७ मंसिर २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्