Tiwari Bhada Pasal

दुई दलीय राजनीतिक यात्रा

सम्पादकीय

uml-congress-flag_1

दुई दलीय राजनीतिक प्रणाली भन्नाले कुनै पनि मुलुकको राजनीतिमा दुई प्रमुख दल हावी हुनु भन्ने बुझिन्छ । सामान्यतया यस्तो अभ्यास धेरैजसो विकसित मुलुकमा देखिन्छ । अमेरिका, बेलायत, क्यानडा लगाएतका देशमा यस्तो राजनीतिक प्रणाली कायम छ । दुई दलीय प्रणालीमा केही साना दल पनि हुन्छन् । तर ती दलहरुको उपस्थिति न त संसदमा हुन्छ न त सरकारमा नै । दुई प्रमुख दल मध्ये कुनै एकले संसदमा बहुमत प्राप्त गरी सरकार निर्माण गर्छ । भने, अर्कोले प्रमुख प्रतिपक्षी दलको भूमिका खेल्छ । यस्तो अवस्थामा विकासका काम प्रशस्त हुन पाउँछ । सरकारको काम चित्त नबुझे आगामी निर्वाचनको प्रतिक्षामा बस्छन् जनता । अर्कोपटक अर्को दलले जीत हात पार्छ र सरकार संचालन गर्छ । तर, यसको पूर्वशर्त हो आवधिक निर्वाचनको संवैधानिक सुनिश्चितता र व्यवहारिक प्रतिवद्धता ।


नेपालमा हालै मात्र (२०७४ असोज १७ गते मंगलबार) सम्भव भएको ठूला वाम दल नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति बीचको चुनावी तालमेल र पार्टी एकीकरणको प्रयासले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । तीन दलीय एकीकरणको प्रयास सुरु भइसकेको छ । सहमति अनुसार आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने र चुनाव लगत्तै पार्टी एकीकरणका लागि आठ सदस्यीय समिति समेत गठन गरिएको छ । नेपाली राजनीतिमा उक्त घटनाले विशेष महत्व राख्छ ।


खासगरी राजनीतिक दलहरु फुट्नु र जुट्नुलाई सामान्य रुपमा लिन सकिन्छ । अमेरिकी राजनीतिमा पनि उन्नाइसौं शताब्दीको पूर्वाद्र्धमा दलीय विभाजन भएको थियो । विचार, सोच र कार्यशैलीमा हुने भिन्नताका कारण दलहरुको विभाजन हुन्छ । तर, यसरी विभाजित दललाई राजनीतिक प्रणालीले संरक्षण गर्छ वा गर्दैन त्यो महत्वपूर्ण कुरा हो ।


मुलुकको विकासका नाममा ‘दलका दोकान’ खोलेर राजनीति गर्नु अत्यन्त घातक कुरा हो । कुनै पनि राजनीतिक सिद्धान्त, वाद वा विचारधारा भन्दा पनि व्यक्तिगत लाभ प्रयोजनका लागि दल खोल्ने स्वतन्त्रता हुनु राजनीतिक स्वतन्त्रताको दुरुपयोग हो । राजनीतिक दल खोलेर गलत कुराको ढाकछोप गर्ने तथा राजनीतिक अपराधीकरण वा अपराधको राजनीतिकरण दलीय इतिहासका गलत नजीर हुन् । दलको नाममा अक्षम्य अपराधलाई पनि माफी दिनु तथा ‘कानूनी राज’को उल्लंघन गर्नु वा मुलुकलाई पार्टीकरण गर्नु सबै राष्ट्रिय हित विपरित हुन् ।


नवीन वाम गठबन्धन र एकताले मुख्यतया दुईवटा सन्देश दिएको छ । पहिलो, बहुमत सहितको स्थायी सरकार निर्माण र दोस्रो, मुलुकको समृृद्धि । नेपाली राजनीतिलाई औसतमा हेर्ने हो भने सरकारको आयु एक वर्षभन्दा बढी छैन । र, संविधानको आयु दश वर्ष । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भैसक्दा दलहरुले राजनीतिक क्रान्ति समाप्त भएको र अबको बाटो आर्थिक क्रान्ति हो भनेका छन्, तर बहुदलको नाममा सयौं दल खोल्ने र जनतालाई विभाजित गर्ने परम्परा कदापी राम्रो होइन । जसले न त जनताको कदर हुन्छ न त मुलुकको हित । यो वाम एकताले अब देशैभरी छरिएर रहेका वाम विचारधारा बोक्ने जनतामा आशाको प्रवाह गरेको छ । ७० प्रतिशत बढि वामपन्थी मत रहेता पनि संसद र सरकारमा यसको निर्णायक भूमिका देखिन सकेको छैन ।


एमाले र माओवादी केन्द्र संगै नयाँ शक्तिको एकता तथा वैचारिक छलफल र बहसद्वारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्ने कुराले कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिक बाटोमा हिंडाउन सक्ने निश्चित छ । यसका साथै लोकतान्त्रिक र प्रगतिशील शक्तिलाई सहकार्यका लागि आव्हान गर्नुले वृहत् वाम एकताको सम्भावना देखिन्छ । एकताको उचित व्यवस्थापन गर्न सके मुलुकमा स्थायी सरकार निर्माण हुनुका साथै समृद्धिको ढोका खोल्ने निश्चित छ ।


वाम एकताको प्रयाससंगै नेपाली काँग्रेसले वृहत लोकतान्त्रिक एकता गर्न सक्ने सम्भावना देखिन्छ । छरिएर रहेका लोकतान्त्रिक विचारधारा बोक्ने दलहरुलाई एकठ्ठा गर्न सक्छ । नाम जेसुकै भएता पनि वृहत वाम मोर्चा र वृहत लोकतान्त्रिक मोर्चा दुई प्रमुख दलको भूमिकामा रहने आँकलन गर्न सकिन्छ ।


२००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी हाल विभिन्न मोर्चामा विभाजित छन् । ती मध्ये दुई विशाल पार्टीको एकताले अन्य साना दललाई पनि एकीकृत हुन प्रेरणा मिल्नेछ । हुनत वाम एकताको कुरा बेला बेलामा नउठेको होइन । तर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले यसका लागि मार्गप्रशस्त गरेको छ । राजनीतिक दल सम्बन्धी कानूनमा थ्रेसहोल्डको व्यवस्था हुनुले पनि अब हामी राजनीतिक स्थिरता तर्फ जाँदै छौं भन्न सकिन्छ । अब दलीय दोकान बन्द हुने निश्चित छ । चोइटिएर जाने वा दल विभाजन हुने परम्पराको पनि अन्त्य हुने छ । किनभने यसरी दलको राजनीतिक भविष्य सुनिश्चित हुन सक्दैन । अतः दलीय एकता समयको माग भएकाले मुलुकमा दुई दलीय राजनीतिक व्यवस्था कायम हुन सकेमा मात्र स्थिर सरकार गठन भई ‘समृद्धि तर्फको यात्रामा लाग्यौं’ भन्न सकिन्छ । वैचारिक राजनीतिको युगमा विभाजित मानसिकता भन्दा एकताको सन्देशले जनतामा उर्जा थप्नेछ ।

२०७४ असोज १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्