Hilsa Yatayat

मैले पार्टीलाई जीवन दिएँ, पार्टीले मसँग 'सर्टिफिकेट' माग्यो

विद्या भण्डारी अहिले राष्ट्रपति हुनुहुन्छ । खुशीको कुरा हो । तर, माया ज्ञवालीलाई पार्टीले के अवसर दियो ? आखिर दुबैजनाले एउटै घटनामा ज्यान गुमाएका हुन् । मदन भण्डारीको भिजन थियो । जीवराज आश्रीत कुशल संगठक थिए । मायाको पनि चाहना थियो होला । म कसैको पक्षमा छैन । दुवै शहिद परिवार हो । तर, अहिले को कहाँ छ सबैलाई थाहा छ । पार्टीले सबैलाई न्याय र आवश्यकताको दृष्टिले हेरोस् भन्ने हो ।
मैले पार्टीलाई जीवन दिएँ, पार्टीले मसँग 'सर्टिफिकेट' माग्यो

अनिता कोइराला । ५२ वर्ष । वीरेन्द्रनगर ४ सुर्खेत । बुवा घनश्याम कोइराला । शिक्षक हो । शिक्षक संगठनको उपाध्यक्ष हुनुहुन्थ्यो । आमा किसान हो । म सुर्खेतमै जन्में । प्राथमिक शिक्षा डाँडा स्कूल । माध्यामिक शिक्षा भैरवस्थान ।


एसएलसी ४३ सालमा दिएँ । पछि घटनाक्रमले पढ्न मिलेन र पढिएन । ३७ सालमा भैरव माविमा अनेरास्ववियु (पाँचौं) प्रारम्भिक कमिटीको कोषाध्यक्ष थिएँ । ४१ सालमा जिल्ला कमिटी सदस्य भएँ । बुवाका साथीहरु आउनुहुन्थ्यो । घरमा राजनीतिक वातावरण थियो । काकाहरु पनि शिक्षक संगठनमा हुनुहुन्थ्यो । शिक्षक संगठन, किसान आन्दोलन र विद्यार्थी आन्दोलन सबैतिर जोडिएको कारण राजनीतिमा आउने वातावरण बन्यो ।

 

४१ सालमै अनेमसंघ सुर्खेतको तदर्थ समितिको सचिव भएं । संगठन निर्माण, प्रचार प्रसार तथा प्रशिक्षणका कार्यक्रममा अनेरास्ववियु र अनेमसंघ दुवै संगठनबाट जिम्मेवारी लिएर जान्थें । ४५ साल भदौ २ गते भैरवस्थान स्थित मेरो घरमा अनेरास्ववियु जिल्ला कमिटीको बैठक बसिरहेको थियो । प्रहरीले छापा मार्‍यो र गिरफ्तार गर्‍यो । गिरफ्तार हुनेमा खगेन्द्र थापा, झकबहादुर जिसी, नवराज कंडेल र म गरी चार जना थियौं । कमिटीकै साथीले सुराकी गरेछन् ।

anita1शान्ति सुरक्षा ऐन अन्तर्गत राजबन्दीको आरोपमा ९ महिना जेल बसें । पहिले सबै सुर्खेत जिल्ला कारागारमा थियौं । पछि मलाई मात्रै नेपालगञ्ज सरुवा गर्‍यो । सुर्खेतको पहिलो राजबन्दी महिला हुँ । जेलभित्र निकै गाह्रो थियो । कसैलाई भेट्न नपाइने । हेप्ने । मानसिक यातना दिने । अश्लिल शब्दहरु बोल्ने । राती पिसाब फेर्न जान सारै अप्ठेरो । महिला म एक्लै थिएं । प्रहरीलाई भन्न पनि सक्दिनथें । को कस्तो छ के थाहा हुन्थ्यो र ? न प्रहरी महिला थिए । खाना ल्याइदिने भाँडोमा पिसाब फेर्थें । कोठा नजिकै पानी जम्ने ठाउँमा फाल्थें । तनावपूर्ण दिन थिए ।


२४ सालको जन्म हो । करिब २१ वर्षको थिएँ । मैले केही गर्न पर्छ भन्ने लाग्थ्यो । जेल जीवनलाई मैले चुनौतिको रुपमा लिन्थें । म जेलमा हुँदा आमा गम्भिर बिरामी हुनुहुन्थ्यो । पहिले पनि अलि अलि बिरामी हुनुहुन्थ्यो । पछि मुटुको समस्या देखियो । डाक्टरले ६ महिना भन्दा उता बाँच्नुहुन्न भनेपछि झन् तनाव भयो । ९ महिना जेल बसेपछि रिहा भएं । लगत्तै आमाको उपचारमा लागें । त्यसपछिका दिन अनेमसंघमा सक्रिय भएँ ।

 

४६ पछि पार्टी संगठन निर्माणमा लागियो । बालाराम शर्मा, देवेन्द्र विसी र डीलाराम गीरीसंगै जिल्ला व्यापी रुपमा डुलियो । कम्युनिष्ट पार्टी, एमाले, महिला हिंसा, अधिकार, बहुविवाह लगाएतका कुराहरुमा छलफल गरिन्थ्यो । पार्टी विभाजन भयो । मेरो गाउँ नै मालेमय भयो । म एमालेतिर गएँ । अनेमसंघको अध्यक्ष भएर काम गरें । काम गर्दै जाँदा पाँचौं अधिवेशनबाट अनेमसंघको केन्द्रीय सदस्य पनि भएँ । त्यसपछि पार्टी जिल्ला कमिटीको सदस्य भएँ । पछि जिल्ला विकास समिति सदस्यमा मनोनित भएँ ।

anita2प्रत्यक्ष निर्वाचनको अनुभव थिएन । ६४ सालको निर्वाचनमा सभासद् उठ्ने ठुलो इच्छा थियो । ऋषिप्रसाद शर्मा, नवराज रावत र यामलाल कंडेल यी तीनवटा नेता समक्ष महिलालाई पनि अवसर चाहियो, हामी गर्न सक्छौं भन्यौं । मैले क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनको लागि फोटो खिचेर तयार पारें । जिद्दी गरेको भए परिस्थिती अर्कै हुन्थ्यो होला । तर मैले संयमता अपनाएँ । फेरी पनि अवसर आउलान् भन्ने सोचें । यामलाल कमरेडले नागरिकता माग्नु भयो । मैले छैन भनें । उहाँले त्यसो नभन्नु भन्नु भो । हामीले कमिटी भित्रको अनुशासन र मर्यादाको शिक्षा लिएका थियौं । मैले नागरिकता दिएँ र उहाँको प्रस्तावक पनि बसें । सबै लागेर उहाँलाई जितायौं ।

 

मलाई पार्टीको काम गर्न उति जाँगर लागेन । तत्कालिन पार्टी अध्यक्ष ऋषिप्रसाद शर्मालाई म काम गर्दिन भनें । ५१ र ५६ सालमा उहाँले हार्नु भएको थियो । तर उहाँले मलाई सहयोग गर्नुहोस् भन्नु भयो । क्षेत्र नम्बर १ मा निर्वाचन प्रचार प्रसारका निम्ति पठाइयो । २६ गते ऋषी शर्माको प्रचार गरेर म सदरमुकाम फर्किएँ । त्यसै दिन उहाँको हत्या भयो ।


पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा खुलाबाट उम्मेदवारी दिएं । खासै प्रचार गरेको पनि होइन १ सय ३५ भोट पाएं । उचित जिम्मेवारी नभएपछि यत्रो समय काम गर्दा पार्टीले मूल्याङ्कन गरेजस्तो लागेन । मलाई सक्रिय भएर काम गर्ने मन मरिसकेको थियो । त्यसपछि जिल्ला अधिवेशन भयो । मेरो कुनै पदमा निर्वाचन लड्ने सोच थिएन् । तपाईं जस्तो मान्छे नउठेर हुन्छ ? जसरी पनि उठ्नुस भनेर कर गरे । उठें तर हराए ।


जतिबेला म सक्रिय राजनीतिमा थिएँ त्यतिबेला बहुबिवाह, महिला हिंसा, मानव बेचविखन, सामाजिक सुरक्षा, महिलालाई सम्पत्तिको अधिकार जस्ता बिषयमा आवाज उठाउँथ्यौं । म अनेमसंघको अध्यक्ष भएको २० वर्ष हुनलाग्यो । समस्या अहिले पनि तिनै छन् । तुलनात्मक रुपमा संख्यात्मक रुपमा महिलामाथि हुने दमन कम भएका छन् तर शोषणका रुपहरु बदलिएका छन् । त्यतिखेर हिडडुल गर्न, खुलेर समाजिक क्षेत्रमा काम गर्न निकै गार्‍हो थियो । सबै छोरीहरुले पढ्न पाउँदैनथे । यसमा अहिले धेरै परिवर्तन भएको छ ।


अबको महिला आन्दोलन अधिकार संगै दायित्वबोध गराउने खालको हुनुपर्छ । हिंसा सहेर बस्नुपर्छ भन्ने होइन तर अधिकारका नाममा सम्बन्ध विच्छेद गर्ने कुराले महिला फेरी सामाजिक समस्यामा परेका छन् । केहीलाई सम्बन्ध बिच्छेदले न्याय पनि दिलाएको हुन सक्छ । महिलाले स्वतन्त्रताको नाममा छाडापन अंगाल्नु पनि भएन । कानूनको अर्थपुर्ण कार्यान्वयन हुनपर्छ । कतिपय महिलाहरु अधिकारको नाममा पुरुषलाई दमन गर्ने सोचका छन् । हामीले चाहेको स्वतन्त्रता त बराबर हो नि ।

anita3कतिपयलाई अधिकार नै चाहिंदैन । उनीहरुलाई यस्तो वातावरण हुन्छ कि विभेद भन्ने अनुभूति नै गर्न पाउँदैनन् । कतिलाई भने परिस्थितिले अवसरहरु दिलाउँदै जान्छ । विद्या भण्डारी अहिले राष्ट्रपति हुनुहुन्छ । खुशीको कुरा हो । तर, माया ज्ञवालीलाई पार्टीले के अवसर दियो ? आखिर दुबैजनाले एउटै घटनामा ज्यान गुमाएका हुन् । मदन भण्डारीको भिजन थियो । जीवराज आश्रीत कुशल संगठक थिए । मायाको पनि चाहना थियो होला । म कसैको पक्षमा छैन । दुवै शहिद परिवार हो । तर, अहिले को कहाँ छ सबैलाई थाहा छ । पार्टीले सबैलाई न्याय र आवश्यकताको दृष्टिले हेरोस् भन्ने हो ।


पार्टीका निम्ति ज्यान दिनु भन्दा ठूलो योगदान के हो ? एउटै मान्छेले पटक पटक अवसर पाउनु पर्छ भन्ने मेरो आशय होइन । मान्छेलाई स्थापित हुनेगरी अगाडि बढाउनुपर्छ । संविधान सभाको दोस्रो निर्वाचनमा कमला शर्मा उम्मेदवार बन्नु र कांग्रेसका नेता पूर्णबहादुर खड्कासंग थोरै मत अन्तरले हार्नु भनेको उहाँले थप राजनीतिक उचाई प्राप्त गर्नु हो ।


मुख्य कुरा त पितृसत्तात्मक सोच र व्यवहारका कारण महिलालाई अगाडि जान समस्या छ । अर्को कुरा, हीनताबोधले पनि हामीलाई पछि पारेको हो । मसंग पनि केही हीनताबोध होला । हामी आँट गर्न वा जोखिम मोल्न पनि सक्तैनौं कहिले काहीं । पालो आउला नि भन्छौं । पार्टीलाई क्षति हुन्छ कि भन्ठान्छौं । मेरा कारण कसैलाई कहिल्यै कुनै पनि खालको दुःख भएको छैन ।


राजनीतिमा आउन चाहने महिलाले जनताको काम गर्ने, विकासको पहरेदारी गर्ने सोच राख्नु पर्‍यो । तिकडमले मात्र केही हुन्न । कुनै समयमा कसैको प्यारो भएर केही हुँदैन । गर्ने आफूले हो । पढाई र अनुभव दुबै चाहिन्छ । सर्टिफिकेटले पनि मलाई पछाडि पारेको हो । एक जना नेता, जो अहिले केन्द्रीय पदाधिकारी हुनुहुन्छ, ले एकदिन सोध्नुभयो– ‘तपाईंको सर्टिफिकेट कतिको छ ?’ राजनीतिमा आएदेखि मलाई दुःख लागेको क्षण त्यही हो । हिजो ‘बुर्जवा शिक्षा बहिष्कार गरौं’ भन्ने नेताले अहिले सर्टिफिकेट माग्दा चित्त दुख्छ कि दुख्दैन ?

anita4हिजो पढ्दा पढ्दै, शिक्षकको स्थाई जागीर छोडेर नेता, कार्यकर्ताहरु भूमिगत हुनुपर्‍यो । अनि फेरी सर्टिफिकेट पनि चाहिने ? यस्तो विरोधाभास किन ? मान्छेका आफ्नै किसिमका योग्यता, क्षमताहरु हुन्छन् । महिलाहरुसंग कुरा गर्दा, महिलाका तमाम विषयमा छलफल गर्दा त हामी नै सक्छौं होला नि त ? संविधानसभाको निर्वाचनमा उम्मेदवार छनौट गर्दा पनि पढाइको योग्यताको कुरा उठ्यो । अनुभव भएका र उच्च शिक्षा हासिल गरेका महिला त पाउन पनि त मुस्किल थियो नि ।


परिस्थिति अनुसार पार्टीले आवश्यकताका आधारमा पनि निर्णय गर्छ । पार्टीको बारेमा थाहै नपाएकालाई पनि अवसर दिन्छ । शान्ता चौधरी पार्टीको आवश्यकता थियो । थारु समूदायको त्यो पनि कम्लरीलाई एमालेले अवसर दियो भन्ने सन्देश दिनका लागि ल्याएको हो । उहाँले आफूलाई विकास गर्नु भयो । अब्बल हुनुभयो । त्यो राम्रो कुरा हो । तर पार्टीमै दुःख गरेका दाङमा पनि थुपै्र थिए होलान नि ? त्यो पिडा त्यहाँकै महिलालाई होला ।


मैले बिहे गर्ने सोच नै बनाइन । पहिला पहिला घरबाट पनि दबाब आउँथ्यो । पछि सबैले बुझे । सक्रिय राजनीतिमा नहुँदा मोनोटोमस हुन्छ । मलाई जिम्मेवारी दिइएको छैन । तै पनि जिल्ला पार्टी नेतृत्वलाई मेरो केही गुनासो छैन । बाँचुञ्जेल पार्टीकै लागि काम गर्छु । आफ्नो कुरा सजिलै अरुलाई भन्न सक्ने, तर्क गर्न सक्ने र स्वाभिमान भएर बाँच्ने वातावरण मलाई राजनीतिले दिएको हो । यसमा मलाई गर्व छ ।


प्रस्तोता : टीका विष्ट

२०७४ असोज १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्