Hilsa Yatayat

जेल जीवन बिताउनेमा अधिकाँश युवा

सेरोफेरो

जेलमा कैदी जीवन बिताउनेमा धेरैजसो युवा रहेको पाइएको छ । मुलुकभरका ७४ जेलमा रहेका करीब १९ हजार कैदीमध्ये १६ देखि ४० बर्षको उमेर समूहका झण्डै ४० प्रतिशत रहेका छन् ।


कारागार व्यवस्थापन विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेका अनुसार युवा अवस्था चञ्चले र जोशयुक्त भएकाले पनि धेरैजसो घटना युवावस्थामा हुने गरेको पाइन्छ । 'रिस, आवेग वा जोशका कारण युवाहरु खतरा मोल्न तयार हुन्छन् । तर उनीहरुलाई कानुनी घेराबारे जानकारी हुँदैन', घिमिरेले भने ।


सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कारागार प्रमुखहरुको तीन दिने क्षेत्रीय गोष्ठीको समापनमा घिमिरेले उक्त कुरा बताएका हुन् । बुधबार शुरु भएको गोष्ठीमा मध्य र सुदुर पश्चिमका २५ कारागार प्रमुखहरुको सहभागिता रहेको थियो ।


कारागारमा रहेका दक्ष जनशक्तिलाई उचित श्रमकार्यमा लगाउनुपर्ने धारणा घिमिरेले उक्त कार्यक्रममा व्यक्त गरे । 'कारागार आफैमा एउटा समाज भएकोले पनि त्यहाँ बस्ने नागरिकहरुलाई मानवोचित व्यवहार गर्नुपर्छ', उनले भने- 'कारागारभित्र हालसम्म धेरैको ध्यान पुग्न सकेको छैन ।' उनले कारागारलाई अब सुधारगृहमा रुपान्तरण गरिनुपर्नेमा समेत जोड दिए ।

 

हाल कारागारभित्र धेरैनै समस्या रहेका छन् तर तिनीहरुको समाधान खोज्दै जानुपर्ने घिमिरेको तर्क छ । कैदमुक्त भएपछि समाजमा सभ्य नागरिक भएर बाँच्न सक्ने वातावरणको सिर्जना राज्यले गर्नुपर्ने समेत घिमिरेले बताएका छन् ।

 

कारागार व्यवस्थापन विभागको आयोजना तथा सिभिक्ट नेपाल, हेन्डिक्याप इन्टरनेशनल र युरोपियन युनियनको साझेदारीमा आयोजित उक्त गोष्ठीले आफूहरु निकै लाभान्वित भएको सहभागीहरुले बताए । अबका दिनमा आइपर्ने समस्यालाई पारस्परिक सल्लाहका आधारमा हल गर्ने जिल्ला कारागार कार्यालय बाजुराका प्रमुख जनक रावलले बताए ।

२०७४ असोज २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्