Rara Pharmacy

निर्वाचन सफल बनाउन रुकुमेली दल प्रतिवद्ध

निर्वाचन सफल बनाउन रुकुमेली दल प्रतिवद्ध

मनिषा केसी—रुकुम
८ कार्तिक । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा आचारसंहिताको पूर्ण पालना गर्न रुकुम (पश्चिम) का राजनीतिक दलहरुले प्रतिवद्धता जनाएका छन् ।

 

सदरमुकाम मुसिकोट स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकमा उपस्थित  राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरुले निर्वाचनमा अस्वस्थ प्रतिस्पर्धा नगर्ने तथा शान्तिपूर्ण र मर्यादित रुपमा प्रचार प्रसार कार्यलाई अगाडि बढाउने बताएका हुन् ।

यसैगरी शान्ति सुरक्षालाई ध्यान दिई कुनै पनि राजनीतिक दलले कार्यक्रम गर्नुभन्दा अगाडि नै सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पूर्व जानकारी गराउने र निर्वाचनलाइ असर पर्ने गतिविधी नगर्ने सहमती भएको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए ।

 

मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईको संयोजकत्वमा बसेको उक्त बैठकमा दलका प्रतिनिधिहरुका साथै प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्य, जिल्ला निर्वाचन अधिकारी कमलमणि देवकोटा, निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक थम्मनबहादुर रजाली लगायतको उपस्थिति रहेको थियो ।

२०७४ कार्तिक ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्