Tiwari Bhada Pasal

बामको चुनौती काम

सम्पादकीय
बामको चुनौती काम

'जनता कसैका होइनन्, जनता सबैका हुन्' भन्ने भनाई हरेक निर्वाचनमा चरितार्थ भएकै हो, यसपटक पनि भयो । त्यसैले 'जनता जनार्दन' भनिएको होला । हुनपनि लोकतन्त्र भनेको जनताले चाहेको प्रतिनिधि आफै छान्ने अवसर प्राप्त हुने राजनीतिक प्रणाली हो ।


विगतका केही दशक नेपाली राजनीतिमा सकसपूर्ण समय रह्यो । यद्धपी राजनीतिक आन्दोलन र त्यसको प्राप्ति पनि कम लोभलाग्दो छैन । जनताले चाहे बमोजिम शासन सञ्चालन हुने पद्धति स्थापित भएको छ । राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।

 

मुलुकको पुनर्संरचना गरिएको छ । अधिकार जनताको घरदैलोमा पुर्‍याउन संघीय संरचनाको संबैधानिक व्यवस्था गरिएको छ । जनाधिकारको रक्षाका लागि नागरिकको मौलिक हकहरु स्थापित भएका छन् । नेपाल राज्यको मुल कानुन संविधानसभामार्फत् नेपाली जनताले नै निर्माण गरेका छन् । जसबाट राजनीतिक क्रान्ति पुरा भएको आभास मिल्छ नै ।

 

संघीय नेपालको पहिलो प्रतिनिधि सभा र प्रदेश सभामा सचेत नेपाली नागरिकले बडो सुझबुझपूर्ण तरीकाले आफ्ना प्रतिनिधि छानेका छन् । राजनीतिक रुपमा जागरुक नेपाली जनता अब 'गणेशमानका भेडा' रहेनन् । उस्ताउस्तै प्रतिस्पर्धी आमने सामने हुँदा समेत उपर्युक्त उमेदवारलाई जनताले विजयी बनाएका छन् ।

जनताले कुनै लहडका भरमा नेतालाई निर्वाचित गराएका होइनन् । यसको पुष्टि विगतका चुनावले पनि गरेका छन् । यसपटक जनताले बाम गठबन्धन रोजे । यस अघि नेपाली काँग्रेसलाई पहिलो दल बनाए तर बहुमत दिएनन् । किनभने त्यसबेला सबै दल मिलेर संविधान निर्माण गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी थियो । जनताले त्यही ठाने र गरे पनि त्यही ।

 

संविधानसभाको पहिलो निर्वाचन २०६४ मा भर्खरै द्वन्द्व छोडेर शान्तिपूर्ण राजनीतिमा आएको माओवादीलाई जनताले धेरै मत दिए । त्यसबेला माओवादीको 'आश र त्रास' दुबैको कारण धेरैले भोट दिएका थिए । त्रास 'कतै माओवादी पुनः द्वन्द्वमा फर्कने त होइन' भन्ने थियो । जनताले सोचेजस्तो नभएपछि दोस्रो निर्वाचन २०७० मा तीनै ठूला दल काँग्रेस, एमाले र माओवादीलाई हाराहारीको बनाईदिए । जसको स्पष्ट सन्देश थियो मिलेर संविधान निर्माण गर्नु ।

२०७२ मा गएको भुकम्प नेपाली राजनीतिमा 'ह्याप्पी एक्सिडेन्ट' थियो । भुकम्पले धेरै जनधनको क्षति भयो तर राजनीतिक रुपमा नेपालले सही दिशा समात्यो । जनसंविधान जारी भयो ।

 

दलहरुसंग जनताको अपेक्षा बढ्दै गयो । तर जनाकाँक्षा अधुरै रहे । सत्ता सञ्चालन गर्ने दलले जनचाहना बमोजिम काम गर्न सकेनन् । सरकार सञ्चालनमा पनि आन्तरिक र बाह्य ब्यबधान आइरहे । सत्ताको अंकगणितमा 'दलबदल सरकार' बने भत्किए ।

 

राजनीतिक क्रान्ति सम्पन्न भएकाले अबको आवश्यकता आर्थिक क्रान्ति हो भन्ने जनताले अहिले बुझे । तबमात्र 'स्थिर सरकार र समृद्धि'को नारा दिएको बाम गठबन्धनलाई स्पष्ट बहुमत दिए ।

 

यसपटकको जनताको भोट न माओवादीलाई थियो न त एमालेलाई त्यो बाम गठबन्धनको पक्षमा थियो । एकताको पक्षमा थियो । र, मुलुकको उन्नतिको पक्षमा थियो । दलहरु मिलेर देश विकास गरेको हेर्न चाहन्छन् जनता । जनताप्रति राज्यको जिम्मेवारी बहन गर्ने सरकार खोजेका छन् उनीहरु । ठोकेरै भन्ने हो भने सरकार निर्माणमा मात्र समय खेर नफाल, अब त प्रगति गर, विकास गर भन्ने सन्देश हो यस पटकको निर्वाचन परिणाम ।

 

जहाँसम्म बाम गठबन्धनको कुरा छ त्यो एक संयोग हो । नेपाली काँग्रेसको सत्ता सञ्चालन बाट रुष्ट नेपाली जनतामा गठबन्धनले परिवर्तनको सञ्चार गरेकै हो । 'अब चाहिं पक्कै केही हुन्छ' भन्नेमा उनीहरु ढुक्क भएकै हुन् । जसमा थप बल दिएको हो केपी ओली नेतृत्वको ९ महिने सरकारले । जसले राष्ट्रियता र स्वाभिमानको विषयलाई टड्कारो बनाइदियो । देश विकासको सपना देखायो ।

 

बाम गठबन्धनले पाएको जनादेश हो ‘काम’ । अब नेपाली जनताको जनजीविकासंग बाम सरकार जोडिन सकेन भने र सत्ता सञ्चालनको खेलमा खटपटमात्र गरिरह्यो भने जनताले पाँच बर्षसम्म एउटा विशाल बोरा बुन्नेछन् र आगामि निर्वाचनमा त्यसमै सबैलाई बन्द गरिदिनेछन् । बामसंगको जनअपेक्षा हो काम । र, यही नै बाम सरकारको चुनौति पनि हो ।

२०७४ मंसिर २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्