Rara Pharmacy

तर.. जीवन सकिने रैनछ !

गिरीराज नेपाली
मेरो सम्पत्ति भन्नु नै यही एउटा ठेलागाडा हो । म बिगत १४ बर्षदेखी यही ठाउँमा चाट बनाउदै आईरहेकी छु । श्रीमान हुँदा वरपर, आफन्त र गाउँलेले सहयोग गर्थे तर हिजोआज कसैले गर्दैनन् । परिवार पाल्ने सहारा नै यही ठेलागाडा हो । जाडो, गर्मी, सन्चो–बिसन्चो केही भन्न पार्इंदैन । पसल चल्यो भने घरमा चुलो बल्छ नत्र बल्दैन ।
मेरो घर तुलसीपुर उप–महानगरपालिका १८ बेलझुण्डी हो । म दैनिक बेलझुण्डीबाट दुधरास आएर चाट बनाउँछु । शुरुमा कसैले पत्याएनन् । महिलाले पनि कसरी चाट बनाउन सक्छन् ? भनेर कुरा पनि काटे । म एकल महिला त्यसमाथि दलित मैले बनाएको चाट खान कोही आउँदैन थिए । बिस्तारै ब्यपार हुन थाल्यो । अहिले मुस्किलले घर खर्च चलेको छ । कोही–कोही नाम पनि सोध्छन् । गोमती नेपाली भन्दा झस्कनेहरु पनि आउँछन् तर हाल यस्तो समस्या देखिएको छैन । मलाई पनि अप्ठेरो लाग्दैन ।
२०६१ साल पुस ९ गते श्रीमानको मृत्यु भयोे जब श्रीमानको मृत्यु भयो त्यतिबेला लागेको थियो जीवन सकियो । तर, जीवन सकिने रैनछ । अगाडी बढाउनै पर्ने रैछ । आफ्नो लागि नभए पनि बच्चाबच्चीहरुका लागि अगाडी बढ्नुको बिकल्प थिएन ।
भर्खर उज्यालो छाउदै थियो । श्रीमानसँगै उज्यालो गयो जस्तो लागेको थियो । म केही गर्न सक्छु जस्तो पनि लागेको थिएन । तर बच्चाहरुको अनुहारले मलाई अलिकति हिम्मत दियो । परिवार पाल्ने अरु कुनै उपाय थिएन । के गरौं ? कसो गरौं ? भन्ने पिरले सताईरहन्थ्यो । सहयोगका लागि आफ्न्तलाई गुहारे पनि कसैले साथ दिएनन् ।
मैले सुनेकी थिएं जसको कोही हुँदैन उसको भगवान हुन्छ । तर भगवान पनि जोसँग सबथोक छ उसैको रैछ । गरिबको यहाँ कोही हुँदैन । जे गर्नुपर्छ आफैले गर्नुपर्छ । त्यसैले त मैले आफैले नयाँ शुरुवात गर्ने प्रयास गरे ।
जीवन जसरी तसरी त चलिरहेको थियो । मलाई बिरामीले च्याप्यो । मृगौलामा पत्थरी परेको रहेछ । आखिर बाँच्नु त छ नै । गाउँले र आफन्तको सहयोग लिएर उपचार गरें । तर अझै सन्चो भएको छैन । औषधी खाईरहेकी छु । पोषिलो खानेकुरा नहुँदा कमजोरी पनि उस्तै छ ।
म कमजोर भएकी छु । सबै काम आफै गर्न सक्दिन । छोरीलाई पनि काममा लगाएकी छु । छोरीले सहयोग गर्छे । ठुली छोरीको बिवाह भैसक्यो । अब कान्छीको पनि बिबाह गर्ने बेला भै सक्यो । कति दिन यसले सहयोग गर्ली र ?

२०७४ बैशाख २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्